पप म्युजिक भिडियोमा जमेका सुरजको पुनरागमन

पप म्युजिक भिडियोमा जमेका सुरजको पुनरागमन

काठमाडौँ : सुरज शाहले दुई दशकअघि धेरै पप गीतहरूको म्युजिक भिडियो निर्देशकको रूपमा काम गरे।

सन् २००१ म दिव्य दृष्टि टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका शाहले टेलिभिजन कार्यक्रम निर्माता र म्युजिक भिडियो निर्देशकका रूपमा काम गरे। म्युजिक भिडियो बनाउने लहर नै चलेको थियो त्यति बेला।

करिअरको सुरुवातबाटै भुषण दाहालसँग काम गरेका सुरजले दाहालको असिस्टेन्टका रूपमा काम गरेका थिए।

एभिन्युज टेलिभिजनमा काम गर्दा उनले जापान र कोरियामा भएको  फिफा वल्र्डकपको नेपालको स्टुडियो प्रोडक्सनको जिम्मा लिएका थिए। सो वर्ल्ड कप एभिन्युज टिभीमार्फत नेपाल टिभीमा लाइभ आउँथ्यो।

टेलिभिजन प्रोडक्सन र म्युजिक भिडियोमा जम्दै गरेका शाहले सन् २००३ मा डिजिटल ड्रिम्स नामक कम्पनी खोलेर म्युजिक भिडियोहरू बनाउन थाले। उनको कम्पनीबाट बनेको पहिलो म्युजिक भिडियो सुगम पोखरेलको ‘भनेकै हुँ मैले’ हो। त्यही गीतको भिडियो बनाएपछि सुरज र सुगमको जोडी जमेको हो।

त्यसपछि उनले सुगमका धेरै गीतको भिडियो बनाए।सुगमका मायाको बाटो, सयौँ जन्म, एकान्तमा जस्ता चर्चित गीतहरू सुरजकै निर्देशनमा बनेका हुन्। उदेश श्रेष्ठको किन मायामा, रीजा उप्रेतीको अँगालोमा बाँध न, सिजन्स ब्यान्डको सुनेको कुराउनका चलेका म्युजिक भिडियो हुन्। 

टेलिभिजनमा उनको दक्षता देखेर नेपाल वान टेलिभिजनमा डेपुटी ब्युरो चिफको रूपमा प्रोग्राम हेड बनाएर लगियो। त्यहाँ उनले नेपाल वानबाट प्रसारण हुने सबै कार्यक्रम हेर्नुपर्थ्यो। 

टेलिभिजनमा काम गर्दागर्दै उनी आफ्नै कम्पनीको काम पनि गर्दै थिए। कम्पनीबाट वृत्त चित्रहरू बनाउँथे। त्यही क्रममा २००९ मा कान्तिपुर टेलिभिजनबाट खोज युवा नेतृत्वको कार्यक्रम बनाउन थाले । तर पछि सो बन्द भयो।

जे काम पनि मनै ले गर्नुपर्छ भन्ने सोचका सुरजले बनाएका वृत्तचित्र धेरै रुचाइए।शान्ति प्रक्रियाको लागि नेपाल पिस ट्रस्टको लागि पनि उनले वृत्तचित्र निर्माण गरे। सोही कामबाट प्रभावित भएर अमेरिकन एम्बेसीबाट आपत्कालीन व्यवस्थापन सम्बन्धी भिडियो बनाउने अवसर पाएर उनी डकुमेन्ट्री बनाउन अमेरिका पुगे । जुन वृत्तचित्र पछि नेपाल आएर इमेज च्यानलमार्फत प्रसारण गरियो।

अमेरिकामा काम गरेर नेपाल आएपछि सुरजलाई पुनः अमेरिकाले तान्यो । शान्ति प्रक्रियामा काम गरिरहेका सुरज अब केही हुने वाला छैन भन्ने निराशा बोकेर छोरी जन्मेकै वर्ष अमेरिका पुगे।अमेरिकामा उनी अहिले युआई डिजाइनरको रूपमा विभिन्न एप्सहरुको डिजाइन गरिरहेका छन्। तर आफूले गर्ने म्युजिक भिडियो निर्माणप्रतिको लगावलाई पूर्णविराम भने लगाएका छैनन्।

उनले अमेरिकामै रहेका नेपाली गायक–गायिकाहरूको म्युजिक भिडियोहरू बनाइरहेका छन्। त्यही क्रममा उनले सुगम पोखरेलसँग लामो समयपछि सहकार्य गर्न पाएका छन्। यसअघि सुरजले निर्देशन गरेका सुगमका सबैजसो गीत चर्चित छन्।

कसरी भनूँ तिमीलाई बोलको यो गीत रिकेश गुरुङको शब्द–सङ्गीतमा तयार भएको हो। अनुराज र सदीक्षाले अभिनय गरेको  भिडिओको सम्पादन पनि सुरजले नै गरेका हुन्। उनले यसपछि अमेरिकामा रहेका गायक दीपेश किशोर भट्टराईको गीतको भिडिओमा काम गर्ने तयारी भइरहेको बताए।

आफूसँग भएको भिडियो कन्सेप्टलाई फेरि बिस्तारै लैजाने सोचमा रहेका सुरज नेपाली गीत–सङ्गीतको लागि जसरी भए पनि समय मिलाउने प्लानमा छन्।

१६ जेठ, २०७८, ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।