कोमल वलीले रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराइन

कोमल वलीले रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराइन

काठमाडौं : राष्ट्रिय सभा सदस्य कोमल वलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेकी छन्। मङ्गलवार बबरमहल स्थित जिल्ला अदालत काठमाडौँमा पुगेर उनले पन्त विरुद्ध मुद्दा दर्ता  गरेकी हुन। 

वलीले मुलुकी अपराध संहिताको दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दर्ता गरेको उल्लेख गरेकी छन्। 

पन्तले वलीलाई सार्वजनिक कार्यक्रममा पिँडुला देखाएर पदमा पुग्न सफल भएको अभिव्यक्ति दिएका थिए। पन्तको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल र अधिकारकर्मीहरूले चर्को आलोचना गर्दै आएका थिए। 

पन्तले १५ फागुनमा राजधानीमा आयोजित पूर्व एमालेको भेलामा ‘हाम्रो पार्टीमा २० औँ वर्षदेखि विवाह नै नगरी महिला लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन्। कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिँडौला देखाएर पोइल जान पाम भनेपछि सांसद पनि हुन पाइन, केन्द्रीय सदस्य पनि हुन पाइन।’ भन्ने अभिव्यक्ति दिएका थिए।

पन्तले अभिव्यक्तिका क्रममा क्षम्य हुने शब्द प्रयोग नगरेको भन्दै आत्मसम्मानमा चोट पुगेकोले गाली बेइज्जतीको मुद्दा दायर गरेको वलीको प्रतिक्रिया छ। उनले पन्तको अभिव्यक्तिबाट जघन्य महिला हिंसा भएको र कानुनी उपचारको बाटो नखोजे यस्ता क्रियाकलापले थप प्रश्रय पाउने देखेर आफूले मुद्दा दर्ता गर्नुपरेको बताइन। 

२५ फागुन, २०७७, १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।