सरकार ढुक्क भए हुन्छ, अब नारायण उखुको पैसा माग्न माइतीघरमा आउने छैनन्

सरकार ढुक्क भए हुन्छ, अब नारायण उखुको पैसा माग्न माइतीघरमा आउने छैनन्
अस्पताल परिसरमा शोकाकुल सोनुदेबिलाई सम्हाल्दै सियाराम यादव तस्बिर : कृष्पा श्रेष्ठ

उखुको पैसा नलिई घर आउँदिन भनेर १५ दिन अघि काठमाडौँ हिँडेका थिए नारायण। कुनै रोग थिएन । आमा सहित काठमाडौँ आउनु भनेपछि मनमा चिसो पस्यो । यताबाट फोन गर्नेले भनिरहेका थिए‘जसरी पनि आजै अहिल्यै काठमाडौँ आउनु।’

तारनतार बोलाएपछि उनले गाडी  रिजर्भ गरे र भान्जा रमेश राय यादव, भतिज र आमा गरी ४ जना सँगै काठमाडौँतिर हान्निए।

एक रफ्तारमा हुइँकिएको गाडी हेटौँडा आइपुग्यो । हेटौँडा आइपुगेपछि  सियारामको मोबाइलमा फेरी घण्टी बज्यो।

सरकार, बिकाउ मण्डलको आँसु लाग्ला है !

‘तपाईँको बुबा रहनु भएन’ उनका परेला भिजेँ।  आमा तिर हेर्न सकेनन् । आडैमा बसेका भान्जा रमेशले मामाको कुरा सुने। उनले लामो समय बुबा बितेको कुरा लुकाउन सकेनन्। सोनुदेबि डाको हालेर रुन थालिन् गाडीभित्रै। आमालाई सम्हाल्दै बाबुको शव भएको सहीद गङ्गालाल ह्दयरोग केन्द्र बाँसबारी आइपुग्न कम्ती साहस भएन उनलाई।

गङ्गालालमा आन्दोलनका लागि आएका किसानहरू जम्मा भइसकेका थिए। भिड भएतिर आमालाई लैजाने हिम्मत आएन उनको। छोरालाई आमाको जिम्मा लगाएर उनी शव भएतिर लागे।

काठमाडौँ आउनु अघि उनले ‘पोहोर पनि पछि पैसा दिने भन्यो सरकारले तर दिएन। यसपालि त पैसा नलिई म घर आउँदिन’ भनेका थिए। तर मिहेनतको पैसा हातमा पर्नु अगाडि नै उनको इहलीला नै सकियो। उखु झैँ मुढो बन्यो उनको ज्यान। बाबुको त्यही ज्यान टुलुटुलु हेरिरहेका थिए सियाराम।

०००

सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ७ नारायण राय यादव उखु बेचेको करिब २४ लाख उठाउन काठमाडौँ आएका थिए अन्य साथीहरूसँगै। उखु किसानी उनको पुस्तैनी पेसा। आफ्नै ४० बिघा जग्गामा उनी उखु खेती गर्दै आएका थिए।

४ वर्ष देखि उखु किसानलाई सुगर मिलले पैसा नदिएपछि यादवको ऋण बढ्न थाल्यो। आफन्तका अनुसार उनको बैङ्क र गाउँमा गरेर २१ लख ऋण छ । अन्नपूर्ण सुगर मिलसँग २४ लाख बाँकी थियो उनको । त्यही पाउने आसमा यो चिसोमा जोखिमै मोलेर काठमाडौँ आएका थिए। तर उधारो आश्वास मात्र पाए। पैसा पाएनन्।

नौ करोडको हिसाब राखेका किसानलाई कनौडियाको धम्की– चार करोड नतिरे अदालत जान्छु

 

सरकारले सोमबार पैसा उठाइदिने वाचा गर्यो। तर उनीसहितका किसानलाई पत्यार लागेको थिएन। नेकपाको किचलोले राष्ट्रिय राजनीतिको माहौलै अन्त मोडियो। उनीहरूको आन्दोलन छायामा पर्यो। उनीहरू उधारै आश्वासनमा चित्त बुझाउन बाध्य भए दोस्रो पटक पनि। उनीसँगै बस्दै आएका किसानका अनुसार उनी सम्झौतासँग सन्तुष्ट थिएनन्। पहिला पनि झुक्काएको र यो पाली पनि पैसा नपाउने भइयो भनेर चिन्तित थिए उनी।

०००

जोरपाटीको कृष्ण प्रणामी मन्दी रमा बस्दै आएका थिए उनी । बिहान उनले साथीहरूलाई छाती धेरै दुखेको बताएका थिए । छातीको दुखाई नघटेपछि साथीहरूले उनलाई चाबहिलमा रहेको हेल्पीङ ह्याण्ड्स सामुदायिक अस्पताल ल्याए। चेक जाँचपछि चिकित्सकले बाँसबारीमा रहेको गङ्गालाल लैजान भने। बिहान ११ बजे उनी गङ्गालाल त पुगे तर ज्यान जोगिएन। चिकित्सकले मृत घोषणा गरे। मृत्युको कारण देखियो ह्दयघात।

कांग्रेस नेताको दोहोरो चरित्र: आन्दोलनमा समर्थन, किसानमारा नेतालाई संरक्षण

‘हजुरबुबालाई ऋण तिर्न नपाउँदा धेरै तनाव भएको थियो। ब्याज पनि तिर्न सक्नु भएको थिएन,’ उनका नाति रमेश राय यादवले उकेरासँग भने‘ हाम्रो परिवार पनि ठुलो छ। खर्च पनि ठुलो छ। सबै हजुरबुबाले धान्नु भएको थियो । अब उहाँ नै रहनु भएन।’

०००

अस्पतालबाट शव निकालियो । सोन राय ‘मेरो राजालाई एक फेर हेर्न देऊँ’ भन्दै रोइरहेकी थिइन्। धान्नै नसकेपछि नातिले लिएर गए हजुरबाको शव छेउ। सेतो कपडाले बेरिएका नारायणलाई अगांलो मारेको मार्यौ गरिन् उनले। रोइरहिन। वरिपरि उभिएका उखु किसान मलिन अनुहारले कारुणिक दृश्य टुलुटुलु हेरिरहेका थिए। सँगै आन्दोलनमा आएका नारायण मुढा हुँदा उनीहरूले गर्न सक्ने केही थिएन।

२५ हजार उठाउन ७६ वर्षीय अहिरको सडक संघर्ष

त्यती नै बेला उद्योग वाणिज्य मन्त्रालयको सरकारी टोली भिडसाथ आइपुग्यो अस्पतालमा।

मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मीले फुल चढाएर श्रद्धाञ्जली दिए। किरिया खर्च भनेर परिवारको हातमा २५ हजार राखिदिए। उनले नेता शैलीमा भाषण गरे‘ सरकार कृषकको साथमा छ।’

‘बरु मर्छाैं, उखुको पैसा नलिएर जान्नौं’

गङ्गालाल परिसर एक माटो प्रेमी किसानको शोकले भरिएको थियो। त्यही बेला यता भृकुटीमण्डपमा नेताहरू देश बनाउने भाषण गरिरहेका थिए।

तर नेताहरूको फोस्रा आश्वासन सुन्न नारायण ज्युँदो थिएनन्। सुनेकै भए पनि उनले के पत्याउँथे होला र ।

१४ पुस, २०७७, २१:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।