सरकार, बिकाउ मण्डलको आँसु लाग्ला है !

सरकार, बिकाउ मण्डलको आँसु लाग्ला है !
सबै तस्बिर : कृष्पा श्रेष्ठ

धर्मशाला ठुलै थियो। कतातिर बस्छन् थाहा थिएन। विहान साढे पाँच वजे सोध्नु पनि कसलाई।

आन्दोलनकाक्रममा माइतिघर मण्डलामा भेटिएका उखु किसान रबिन्द्र यादबको नम्बर थियो। यी युवा थिए, विहानै भए पनि पक्कै फोन उठाउँलान भनेर नम्बर डायल गरे। दोस्रो रिगंमै उठ्यो।

‘हामी त आइपुग्यौँ। तपाईं उठ्नु भयो ?’

‘अँ म उठिसेकेँ म लिन तल आउँछु’ उनले फोन काटे।
०००

धर्मशालाको पहिलो तला। ब्लक ‘सि’। कोठा नम्बर १ सय ३४।

रवीन्द्रले सरासर ढोका नजिक लगे। ढोका ढप्काएको मात्रै रहेछ। रबिन्द्रले ढोका धकेले। 

कोठामा भित्तातिर देखिए ६२ वर्षका बिकाउ मण्डल। मण्डल सरकारको सूचीमा कोरोना संक्रमण हुनसक्ने उच्च जोखिम उमेर समूहमा थिए। मास्क राम्रोसँग मिलाएँ र ढोकाबाट चियाएँ।
सानो कोठाको भिक्तामा दुई खाट जोडेर एकै बनाइएको थियो। दुई वटा सिरकमा मण्डलसहित चार जना गुटमुटिएर काठमाडौंको चिसो छल्ने प्रयास गरिरहेका थिए।
ढोका खुलेको आवाजले मण्डल उठे।

‘हजुर नमस्कार’ 
चारै जनाको एकै स्वर सुनियो‘नमस्कार।’

निन्द्राले मण्डलको आँखा कचमचिएको थियो। उनी खाटबाट उठेर मुख धुन बाहिर निस्किए। कोठामा भएको खाट आन्दोलनका लागि आएका किसानले भरिएको थियो। बस्न यताउता हेर्दा ज्यान अडाउने साधन देखिएन।
अन्कनाउँदै एक किसानले खुट्टा सार्दै केही भाग खालीगरिदिए। त्यही ज्यान अडाएर मण्डललाई पर्खिए।
०००

मण्डल कोठामा फर्किएर सिरानीमुनीबाट कागजपत्र देखाउन थाले। सबैभन्दा पहिला उनले देखाए नेपालको नागरिकता‘ जनकपुर अञ्चल, सर्लाही जिल्ला, सिसौटिया गाउँ।’
मधेसी समूदायकाको राष्ट्रियतामाथि शंका गरिहाल्ने राष्ट्रवाद उनको मनमा कस्तो गढेको रैछ। मन खिन्न भयो।

राज्य प्रशासनको कमजोरीमा खेल्दै उखु किसानको पसिनाको मुल्य वर्षौ अल्झाएका उद्योगीसँग पैसा उठाइदिन शासकलाई गुहार्न काठमाडौं आएका उनको दुखको पोको फुकाउने उद्देश्य थियो मेरो। तर, उनले अनजानमै अन्ध राष्ट्रवादको पोको फुकाइदिए।

उखु बेचेबापत अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रालीबाट लिन बाँकी  रकमको प्रमाण बीलहरु झिके। सबै बीलहरु हेरे। दुई लाख रहेछ यी बृद्धले लिनुपर्ने।

उनी अझै पोकोबाट अझ कागजपत्र निकाल्दै थिए। ‘ सरकार किसानको बैंक खाता नभएर पैसा दिन नसकेको भन्छ’ उनले चेकबुक अगाडि सार्दै भने,‘ल हेर्नुस् यही हो मेरो बैंक खाता। तर पैसा छैन।’

रित्तो खाताको चेक बुक बोकेर उनी काठमाडौं आउन गाउँको महाजनसँग सय कडा ३६ का दरले सात हजार ऋण काढेर काठमाडौं आएका रहेछन्। 

गौशाला धर्मशालामा बस्दा एउटा कोठाको ३ सय ८० पर्छ। एउटा कोठामा ४ जना सुत्दा एउटाको भागमा ८४ रुपैँया ५० पैसा पर्ने रहेछ। १४ दिन भयो उनी धर्मशालामा बसेको। भाडामात्रै १२ सय खर्च जति भइसक्यो। मनकारीले खाना त खुवाएका छन्। आन्दोलनमा आउँजाउँ गर्दाको खर्च अलग्गै। ब्याजमा बोकेको पैसा सकिन लागिसक्यो तर २ लाख उठ्ने कहिले पत्तो छैन। 
०००

मण्डलको उमेर सम्झनसक्ने भएदेखि उनको उखुसँग नाता जोडिएको छ। उखु किसानी उनको पुस्तौनी पेशा हो। उनको हजुरबाले पनि उखु रोप्थे। बाले पनि उखु नै रोपेर उनलाई हुर्काए।

उनका बाजे र बाले कोलमा उखु पेलेर सखर बनाउँथे। सक्खर बजारमा पु¥याउन सके लगत्तै पैसा आउथ्यो। जसले घरखर्च धान्थ्यो। २०४० साल पछि जिल्लामा सुगर मिल खुल्न थाले। मिलका साहुहरु किसानको घर–घर पुगेर उखु माग्न थाले।

कोलमा पेलेर सक्खर बनाउनुभन्दा उँखु हुर्कायो वेच्यो। सुखका दिन आयो भन्दै मण्डल खुसी भए। २०७० सम्म ठिकठाक थियो उनको आर्थिक अवस्था।

त्यसपछि उनीहरुले उखु बेच्न थाले। आफ्नो मात्र खेतमा उखु लगाउने उनले अर्काको खेत भाडामा लिएर उखु खेती शुरु गरे। आम्दानी राम्रै थियो। घर खर्चका लागि कुनै चिन्ता भएन उनलाई।
२०७० पछि एकाएक मिल साहुको मन फेरियो। उखु लिने पैसा नदिने समस्या बढ्दै गयो। घर खर्च धान्न गरेको किसानीले अहिले मण्डलझै उखु किसानलाई ऋणको भार बोकाएको छ।
दिक्क मान्दै उनले भने,‘ नेताहरु आफैं मारामार गरेर बसेका छन्। हाम्रो माग कसले पुरा गरिदेला।’

उनीसँगै बसेका अर्का उखु किसान राम बिश्वास मण्डल झनक्क रिसाए।

‘विचौलियाको कुरा सुनेर सरकारी मान्छेहरुले किसानलाई दुख दिइरहेका छन्। किसानको कुरा नसुन्ने, दुख मात्र दिने बाहेक सरकारले केही गरेन।’
जग्गा बबैंकमा ऋण ६ लाख ।

बिकाउको आफ्नो जग्गा ३० कठ्ठा थियो। अहिले १५कठ्ठा मात्र बाँकी छ। पञ्चायतकालमा राजनीति गर्दा, तीन छोरीको विवाह गर्दा र एसएलसीसम्म पढाउँदा उनको जग्गा घट्दै गयो। उनको १० कठ्ठा त छोरीहरुको विवाहमै सकिएछ।

‘छोरीको विवाह गर्न गाह्रै छ है ? बिकाउ नबोल्दै रामविश्वास मण्डलले भने, ‘छोरा भए अंश पाउँछ छोरी भए पैसा पाउँछ। आखिर कुरो त उही हो नी हजुर ?’ 
रामविश्वासको कुरा सुनेर मण्डलल मुसुमुसु हाँसे।

उनको नाममा १५ कठ्ठा जग्गा छ। तर लालपूर्जा बैंकमा। त्यही जग्गा पनि ६ लाख ऋणको लागि कृषी बिकास बैंकमा राखेका रहेछन्। ऋण थपिनुको कारण उखु किसानै थियो। उखु रोप्न लिएको ऋण वापत महिनाको ३३ हजार ब्याज बुझाउने गरेको उनले बताए।

‘उखु खेती गर्दा प्रत्येक सिजनमा ४० हजार भन्दा बढि खर्च हुन्छ,’ मण्डलले भने  ‘त्यसैको लागि ऋण झिके। अहिले वर्षको ३३ हजार त ब्याज बुझाउनु पर्छ। यता २ लाख रुपैँया नपाएको ४ वर्ष भइसक्यो। कहिले ऋण तिरेर सक्नु ?’
००००

कुरा गर्दागर्दै ७ बज्यो। झ्यालको मैलो पर्दाको प्वालबाट घामको किरणले चियायो। मण्डल केही खुसी देखिए र उठेर पर्दा सारे। बाहिर घामका किरण फैलदै रहेछ।
‘तराईमा त घामै लाग्दैन, ठण्डीमा पनि काठमाडौँमा भने बिहानै लाग्छ,’ मण्डलले  भने‘ सरकार बस्ने ठाउँलाई घामले पनि हेर्ने रहेछ।’
०००

मंसिरको अन्तिमतिर काठमाडौं आएका थिए मण्डलले। यो उनको तेस्रो काठमाडौं यात्रा रहेछ। तीनै पटक उनी आन्दोलनकै लागि आएका रहेछन्। पहिलो पटक गत वर्ष आएका थिए उनी पैसा उठाउन। सरकारले कहिले उद्योगि पक्राउ गर्छु भन्यो, कहिले आफैं दिन्छु समेत भन्यो। तर न उद्योगी पक्राउ परे न सरकारले पैसा नै दियो। 

सरकारले भाका सारेर हैरान बनाएपछि यही कात्तिकमा उनी काठमाडौं आएका थिए। केही दिन बसेर गाउँ फर्किए। केही साथीहरु काठमाडौंमै थिए। गाउँमा मन अडिएन। उनी महाजनसँग ऋण काढेर मंसिर अन्तिमतिर काठमाडौं आइपुगे।

‘सुरुमा काठमाडौँ आउँदा कस्तो लागेको थियो ?

‘पहिला भन्दा अहिले धेरै फरक भएछ काठमाडौँ। ४० साल तिर आउँदा त वाग्मती सफा थियो,’ प्रश्न बिकाउ मण्डललाई सोधेको उत्तरु महेन्द्र बैठाले दिए‘एयरपोर्ट तिर खेत बढि थियो । अहिले त घरै घर भएछ ।’
बैठा बोलिसकेपछि मण्डलले पालो पाए ‘पोहोर पहिलो चोटी आएको हो। धेरै घुमेको छैन। पशुपतिसम्म गएको छु। राम्रै लाग्या छ।’
०००

बिहानको ९ बज्यो। खाना खाने समय भएछ। उखु किसान संघर्ष समितिका अध्यक्ष राम स्वार्थ राय आए‘ ल खाना खान जाउँ।’

कोठामा रहेका सबै जर्याक्जुरुक उठे। सेतो धोती, निलो र कालो रंगको ज्याकेट लगाएका उनलृ काँधमा गम्सा भिरे। 

जाडोबाट खुट्टा जोगाउन खैरो मोजा लगाएका थिए उनले। त्यही मोजा बाहिरबाट पुरानो एक थान चप्पल लगाएर खुट्टा खोच्याउँदै भुईंतलामा झरे।

उनको देब्रे घुँडा दुख्न थालेको तीन वर्ष भएछ । अहिलेसम्म जचाउँन अस्पताल जान पाएका रहेनछन्। 

‘३ साल भयो यो घुँडा दुखेको,’रेलिङमा समात्दै तल झरेका मण्डलले भने ‘आर्थिक अभावले अस्पतालमा जान पाएको छैन। चिसो भएपछि धेरै दुख्छ।’

०००
भुईंतलाको प्यासेजमा पहेँलो रंगको बोरा ओछ्याइएको थियो। लहरै ५०÷६० जना बसेका थिए बोरामा। छेउतिरको खाली ठाउँमा टुसुक्क बसे मण्डल।

उनको अघि प्लाष्टीकको प्लेट आयो। भातको साथ आलु र मस्यौराको झोल आयो।  एक गिलास पानी राखिदिए सहयोगीले।

हिजो बेलुकी सात बजे खाना खाएका रहेछन् उनले। त्यसपछि चियासम्म उनको पेटमा परेको रहेनछ। उनले खाना थपिरहेका थिए। उनको पेट अघायो। तर, अनुहार हेर्दा मन भरिएको देखिएन। तै पनि उनी उठे। प्लास्टिकको प्लेट भाडोमा राखेर उनी कोठातिर उक्लिए घुँडातिर समाउँदै।

कोठामा पुगेर उनी ओछ्यानमा ढल्किए। सिरानी ताने र अडेस लगाए। 

‘अब त खर्च पनि सकिन लाग्यो हाम्रो पैसा अझै उठ्ला जस्तो छैन’ उनले भने।
०००

किसान संघर्ष समितिका अध्यक्ष राम स्वार्थ राय कोठामा आएर आन्दोलनका लागि माइतीघर मण्डलामा जानुपर्ने जनाउँ दिए। उनले सबैलाई भेला पारेर बाहिर गर्मी भएको जानकारी दिए। मण्डलले ज्याकेट खोलेर ज्वारीकोट लगाए र ढोकामा चावी लगाए। 

आन्दोलनस्थलमा जान गाडिको व्यवस्था अर्कैले गर्ने रहेछ। तर आज गाडि आएन। अर्का उखु किसान नगेन्द्र साहले सार्वजनिक बसमा जानुपर्ने बताए। 
दुखेको खुट्टा खोच्याउँदै उनी धर्मशालाको गेटबाट निस्किए र गौशाला चोक पुग्न उकालोतिर हान्निए। 

उनको खुट्टा अति नै दुखेछ क्यारे। फुटपाथको पछाडिपट्टीको रेलिङमा हातले समाएर देब्रे खुट्टा पर्खालमा टेको लगाए। घाँटी तन्काएर पशुपतिनाथ तिर हेरेँ। 

बस आयो। २४ जना रहेछन् किसान। उनीहरु लाइन लागेर उक्लिन थाले। ठेलमठेल बसमा मण्डल पनि दुखेको खुट्टा खोच्याउँदै उक्लिए। अन्तिम तिरको दायाँ पट्टिको सिट खाली रहेछ। उनी त्यतै लागे। 
‘माइतिघर’। बसको सहचालकको आवाज सुनेर उनी चनाखो भए। चिसो सडकमा बसेर हक खोजिरहेका उनी माइतीघर शब्दसँग परिचित भइसकेछन्। उसैगरी लाइन लागेर सबै किसान झरे।
सडकमा रातो र कालो धर्का भएको कम्बल ओछ्याए र बसे। 

नाराबाजी शुरु भयो :

‘उखु किसान एक हौँ’‘किसानको श्रम रोक्न पाइदैन’ 
‘किसानमारा सरकार मुर्दाबाद’
००० 
२ बज्यो।     

भुईं सडकमै आन्दोलन गरिरहेका किसानहरुलाई भेटन् सर्लाही प्रदेश सांसद अशोक कुमार यादब आइपुगे। उनले किसानहरुको साथमा रहेको र माग पूरा गर्न लागिपरेको बताए। 
किसानको मुहारको भावले पत्याएनन् उनको कुरा।

उनी गएपछि मण्डलले भने‘धेरै नेताहरु आउँछन्। यस्तै भन्छन्। तर महाजनले पैसा दिएको हैन।’
०००

तीन वजे आन्दोलन सकिने समय रहेछ। सडकमा ओछ्याएको कपडा उठाएर धर्मशाला फर्कने तयारी गरे। खै के भयो कुन्नि उनीहरु बस नचढ्ने भए। हिडेरै गौशाला जाने रे।
खै कसरी हिडेर जालान् र मण्डल। उनी खुट्टा खोच्याएका खोच्याएै थिए। हिड्दा उनी ठाउँठाउँमा अडिन्थे। घुँडा छाम्थे। 

हिडिरहेका बिकाउले भने ‘पहिले–पहिले खेतमाजाँदा हामी २ घण्टा हिडेरै पुग्थ्यौँ । बेलुकी फर्किदा पनि उस्तै,’ उनले भने‘ अहिले त बुढेसकाल पनि लागेछ क्यारे  त्यसमा यस्तो सम्म परेको पिचमा हिड्ने बानी छैन।’
तीन वजे माइतीघरबाट हिडेको टोली साढे चार बजे धर्मशाला पुग्यो। कोठाको चावी खोले। ओछ्यानमा पल्टीए । थकाइले चुर भएका बिकाउले घुँडा दुखेर हैरान भएछन्। ओढ्ने ओढे।

‘१३ दिन देखि हाम्रो दैनिकी यस्तै भएको छ। बिहान उठ्ने, साथीभाइसँग दुखको कुरा गर्ने, खाना खाने आन्दोलनमा जाने,’ उनले भने‘फेरी बेलुकी आउने, खाना खाने सुत्ने। तर खै हाम्रो कुरा सरकारले सुन्ला जस्तो छैन। कि सुन्छ बहिनी ?’

उनको फोनको घन्टी बज्यो। उनले उठाए। कुरा सक्काए।

हामीतिर हेर्दै भने, ‘मेरो दोस्त पैसा नदिएपनि ठण्डीमा नबस भन्दै छ। मैले त यसपाली पैसा नलिइ आउँदिन भन्दिएँ।’

अर्का उखु किसान महेन्द्र बैठा पनि त्यही कोठामा आइपुगे। उनले हामीलाई हेर्दै भने, ‘हेर्नुस् उखु बेचेरै छोरीलाई पढाएको छु। छोरालाई पनि पढाएँ। बिबाह गरेपछि हामीलाई हेरेन। छोरीलाई सरकारी जागिर खान फारम भर्न पनि पैसा भएन के मैले छोरी पढाएर गल्ती गरे त हजुर ?’

हामीले उनलाई हेरिरहेपछि फेरि सोधे, ‘गल्ती गरे त ?’
‘हैन, राम्रो गर्नु भएको हो।’

उनीहरुको चासो थियो यसरी विहानदेखी बेलुकासम्म सँगै हिडेका फुच्चिहरुले कता लेख्छन् ?
उकेराडटकम खोलेर उखु किसानबारे लेखेको समाचारहरु देखाए।

मण्डल नजिक आएर भने, ‘ समाचार पढेर सुनाउनु त।’
समाचारसुनाएपछि उनले भने, ‘ किसानको अनलाइन रहेछ। समाचार छापिएपछि पढेर सुनाउनु ल।’


 

१३ पुस, २०७७, २३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।