‘बरु मर्छाैं, उखुको पैसा नलिएर जान्नौं’

‘बरु मर्छाैं, उखुको पैसा नलिएर जान्नौं’

काठमाडौं : सर्लाहीको रामनगर गाउँपालिका–१ का ५५ वर्षीय रामेश्वरप्रसाद यादव उखुको पैसा नपाएपछि यो वर्ष पनि काठमाडौं आएका छन्।

अन्नपुर्ण चिनी मिलले उखुबाफत तिर्नु पर्ने पैसा चार वर्षसम्म पनि नतिरेपछि सरकारलाई गुहार्न उनी दोस्रो पटक काठमाडौं आएका हुन्। 
गत वर्ष काठमाडौं आएर आन्दोलन गर्दा मिल मालिकले सरकारसँग किसानको पैसा तिर्ने सहमति गरे पनि कार्यान्वयन भएन। 

उक्त सहमति कार्यान्वयन नभएपछि रामेश्वरजस्ता किसान यो वर्ष पुनः काठमाडौं आएका छन्। उनीहरू आफूले पाउनु् पर्ने उखुको रकमका लागि माइतीघरको सडकमा सुतेर आन्दोलन गरिरहेका छन्।

‘यो वर्ष त बरु मर्न तयार छौं। तर, पैसा नलिएर जान्नौं,’ रामेश्वरप्रसादले भने, ‘यो वर्ष सम्झौतामा जादैनौं। हामीलाई सरकारमाथि पनि विश्वास छैन।

उखु खेतीका लागि मलंगुवा कृषि बैंकबाट लिएको ६ लाख रूपैयाँ ऋणको ब्याज बढेर ९ लाख पुग्न लागिसक्यो। ऋण तिर्न नसकेर बढेको बढेइ छ। तर उखुको पैसा हात लागेको छैन।’ 

उनले अन्नपुर्ण चिनी मिलबाट करिव दुई लाख रूपैयाँ नपाएको तीन वर्ष १० महिना १४ दिन भइसकेको बताए। 

सर्लाही, रामनगर गाउँपालिका–२ का ५२ वर्षीय चन्द्रेश्वर राय यादवको समस्या झन् जटिल छ। हर्नियाबाट पीडित यादव पैसाको अभावमा अप्रेसन गर्न नसकेर रोग पालेर बसेका छन्। माइतीघरको आन्दोलनमा सहभागी यादव दुखाई सहन नसकेर बेलाबेलामा ढल्छन् पनि।

‘त्रिवि शिक्षण अस्पतालमा डाक्टरले भोलि अप्रेसन गर्ने भनेको छ। तर, पैसा नभर भर्ना हुन सकेको छैन,’ चन्द्रेश्वरले दुखेसो पोखे। 

पैसाका लागि तीन दिनदेखि मिल मालिक राकेश अग्रवालको घरमा धाउँदा पनि पैसा पाएको छैन। उखुको पैसा आएपछि अप्रेसन गरौला भनेर आफू बसेको उनले सुनाए।

आफूहरूले पैसा नपाए थप आन्दोलन चर्काउने उनीहरूको चेतावनी छ।

२९ मंसिर, २०७७, १४:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।