प्रतिनिधि सभा विघटनको असर : धरापमा प्रदेश १ सरकार 

प्रतिनिधि सभा विघटनको असर : धरापमा प्रदेश १ सरकार 

विराटनगर : प्रतिनिधि सभा विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको किचलोले दुईतिहाई बहुमतको प्रदेश १ को सरकार धरापमा परेको छ। 
 

ओली पक्षीय मुख्यमन्त्री शेरधन राईको सरकार पार्टीभित्र अल्पमतमा पर्ने देखिएपछि सरकार धरापमा परेको हो। प्रचण्ड र माधव नेपालको पक्षमा बहुमत प्रदेश सभा सदस्यहरू देखिएका छन्। हालकै समीकरणको अवस्था कायम रहे प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईको पक्षमा बहुमत पुग्ने देखिँदैन।

प्रदेश १ को प्रदेश सभामा ९३ जना सांसद छन्, जसमा नेकपाका मात्रै ६७ जना सांसद छन्। तीमध्ये पूर्वएमालेबाट ५१ र पूर्व माओवादी केन्द्रबाट १६ जना छन्। सरकारलाई बहुमत पुर्याउन ४७ सांसद् आवश्यक पर्छ। तर, मुख्यमन्त्री शेरधन राईको पक्षमा १९ जना मात्रै सांसद् देखिएका छन्।

मुख्यमन्त्रीको पक्षमा बहुमत पुग्ने सम्भावना नदेखिएपछि पार्टी फुटे मुख्यमन्त्री स्वतः अल्पमतमा पर्छन्। पार्टी नफुटी विवाद कायम रहे पनि बहुमतको खेल सुरू हुने हुँदा मुख्यमन्त्री अल्पमतमै पर्ने देखिन्छ। 

बहुमतका आधारमा सरकार गठन हुने व्यवस्था भएकाले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको सरकार बन्ने सम्भावना बलियो छ। तर, पार्टी विभाजन भएर सांसदहरूको स्पष्ट खेमा नछुट्टिएसम्म यसै अनुमान गर्न सकिने स्थिति छैन।

विगतको एमालेको संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री शेरधन राई अल्पमतमै थिए। तर, केही सांसद्हरूले अन्तिम समय खेमा परिवर्तन गर्दा माधव नेपाल पक्षधर नेता भीम आचार्य पराजित भए।

प्रतिनिधि सभा विघटनको असर प्रदेश सभामा स्वतः पर्ने नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए। उनका अनुसार प्रदेशमा पनि गणितीय खेल सुरु हुने सम्भावना प्रबल छ। उनले भने, ‘पार्टी फुट्ने निश्चित भइसकेका कारण प्रदेश सभा सदस्यहरू विभाजित हुने हुँदा प्रदेशमा पनि गणितीय खेल सुरु हुनेछ।’ 

गणितीय खेल सुरू हुने भए पनि प्रदेश सभामा पूर्वएमालेको बहुमत रहेकाले तत्कालै सरकार परिवर्तन हुने सम्भावना भने नभएको राजभण्डारी बताउँछन्। तर, पूर्वएमालेबाट नेपाल पक्षका सांसदहरू पनि छुट्टिएको अवस्थामा भने कति सांसद् कतापट्टि हुन्छन् भन्न नसकिने उनको भनाइ छ। उनले भने, ‘पार्टी फुटेर नेपाल खेमासमेत छुट्टिएको अवस्थामा उताका यता र यताका उता हुने स्थिति रहेकाले अहिले नै यस्तै हुन्छ भन्न सकिँदैन।’ 

यता पूर्वमाओवादीका प्रदेश सभा सदस्यहरू भने शेरधन राई नेतृत्वको सरकारको दिनगन्ती सुरू भइसकेको बताउँछन्। ‘मुख्यमन्त्री अल्पमतमा परिसकेका कारण प्रदेश सरकारको दिनगन्ती सुरू भइसकेको छ,’ पूर्वमाओवादी केन्द्रतर्फका प्रदेशसभा सदस्य कुशल लिम्बुले भने, ‘चाडै शेरधन नेतृत्वको प्रदेश १ को सरकार ढल्छ र नयाँ सरकार गठन हुन्छ।’  

नेकपा फुटेर कसैको पनि बहुमत पुग्ने अवस्था नभए अन्य पार्टीसँग मिलेर पनि सरकार टिकाइराख्ने रणनीति ओली पक्षका नेताहरूको  छ। झिनो मतले सरकार अल्पमतमा परे साना दललाई मिलाएर सरकार टिकाउन सक्ने अवस्था देखिए पनि धेरै मत आवश्यक परेको अवस्थामा भने प्रतिपक्ष दलले यही सरकारलाई समर्थन गर्ने स्थिति छैन।

प्रदेश १ को प्रदेश सभामा नेपाली कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सांसद् छन्।  

६ पुस, २०७७, १८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।