आन्तरिक विवादले बजेट अलपत्र

आन्तरिक विवादले बजेट अलपत्र

जनकपुरधाम : चालु आर्थिक वर्षको साढे ५ महिना वितिसक्यो। तर, धनुषाको धनौजी गाउँपालिकाले अझै बजेट ल्याउन सकेका छैन। 

आर्थिक अनियमितता र लेनदेनको विवाद बजेट ल्याउन नसक्नुको मुख्य कारण हो। जनप्रतिनिधबीच कुरा नमिल्दा बजेट कहिल्यै ल्याउने विषय निश्चित छैन।

बुधबार बजेट ल्याउने विषयका लागि नै गाउँपालिकाको कार्यालयमा बैठक बस्यो। तर, पहिले सहमती नगरी बैठक राखेपछि जनप्रतिनिधी नै बैठकमा भाँडभैला मच्चाए। 

यतिसम्म की कार्यापालिका सदस्यले नै कुर्सी भाँचे। त्यसपछि विवादले उग्ररुप लिएपछि बैठक स्थगित गरियो।

गाउँपालिकाकी उपप्रमुख रामवती मण्डलले प्रमुख बद्रिनारायण सिंहले गत आर्थिक वर्षमा भएको आयव्यय सार्वजनिक नगरी बजेट ल्याउन छलफल गर्न खोज्दा विवाद भएको बताइन्।

उनले भनिन्,‘बैठकमा चर्काचर्की भएपछि कार्यपालिका सदस्य सुरेश पण्डितले कुर्सी नै भाँचे। त्यसपछि विवाद बढेपछि बैठक स्थगित गरियो।’ अब पुनः कहिले बैठक बस्ने कुराको टुङ्गो छैन’उनले थपिन्।

हुन त कुर्सी भाँचेका कार्यपालिका सदस्य, उपप्रमुख मण्डल र प्रमुख सिंह नेपाली काँग्रेसबाटै निर्वाचित भएका हुन्। यद्दपी उनीहरुबीच भागबण्डा नमिल्दा पटकपटक विवाद हुँदै आएको हो। 

गाउँपालिकाबाट सञ्चालित योजनामा कमिसनको चलखेल हुने गरेको र त्यसमा बार्गेनिङ नमिल्दा विवाद भइरहेको स्थानीय बताउँछन्।

‘गत वर्षको हर हिसाव पारदर्सी भएको छैन्। विकासको कामदेखि कोरोना महामारी शीर्षकमा भएको सबै काममा अनियमितता देखिएको छ,’उनले भनिन्,‘हर हिसाव पारदर्सी  नभएसम्म गाउँसभा हुदैन।’

यता, गाउँपालिका प्रमुख सिंहले कर्मचारी सरुवाका कारण बजेट ल्याउन नसकेको प्रतिक्रिया दिएर पञ्छिए। 

गाउँपालिकामा कुनै विवाद नरहेको भन्दै कोरोना महामारी र पटक–पटक हुने गरेको कर्मचारी सरुवाका कारण बजेट ल्याउन ढिलो भएको उनको तर्क छ। 

धनुषाको गणेशमान चारनाथ नगरपालिका प्रमुख र उप प्रमुखबीचको टकरावले दुई महिना पहिले नीति तथा कार्यक्रम ल्याएपनि बजेट अन्योलमा परेको छ। 

कार्यापालिका सदस्यको अनुपस्थिति देखाएर नीति तथा कार्यक्रम बहुमतले नै पारित भयो। तर, असन्तुष्ट सदस्यबीच नीति तथा कार्यक्रम ल्याएपनि बजेट अझै ल्याउन सकेन। 

गाउँपालिका प्रमुख रामबाबु यादव तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित हुन् भने उपप्रमुख मिना कुमारी मण्डल नेपाल कम्युनिष्ट पाटी नेकपाबाट निर्वाचित छिन्। 

पार्टी फरक फरक भएका कारण पनि योजना बाँडफाडमा विवाद देखिएको कर्मचारीहरुको आँकल्न छ। मेयर राम उदगारले महत्वका योजना आफ्नो कार्यकर्ता र आफ्न्तलाई दिँदा पनि कति पटक कार्यपालिका बैठकमा भनाभन भएको कार्यपालिका सदस्यहरु बताउँछन्। 

पूर्वीधनुषाको कमला नगरपालिकाले पनि जनप्रतिनिधिकै विवादका कारण अझै बजेट ल्याउन सकेको छैन्। रकम र योजना बाँडफाँडमा मतभेद हुँदा नीति तथा कार्यक्रम र बजेट आउन नसकेको नगरप्रमुख रामउदगार यादवले बताए। 

योजना बाँडफाँडमा नगरप्रमुखले एकलौटी गर्न खोज्दा बिबाद चुलिएको उपप्रमुख शिलादेवी मण्डलले बताइन्।

बजेट ल्याउन नसकेको गणेशमाण चारनाथ, कमला र धनौजी प्रतिनिधिमुलक उदाहरणका स्थानीय तह हुन्। बजेटमा योजना बाँडफाँड, गत आर्थिक वर्षको योजनामा कमिशन लेनदेन र व्यक्तिगत स्वार्थ पूरा नहुदा स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष विभाजित हुँदा बजेट अन्योलमा परेको छ।

जनप्रतिनिधिको बिबाादका कारण विकास निर्माणको काम ठप्प छ। स्थानीय जनता मारमा परेका छन्।

गाउँमै सिंहदरबारको परिकल्पनासाथ गठित स्थानीय तहमा बेथिति बढ्दो छ। कतै विकास निर्माणका काम ठप्प छन् त कतै योजना सम्पन्न भए पनि भुक्तानी रोकिएको छ। 

अधिकांश तहमा मेयर र उपमेयरबीच विवाद उत्कर्षमा छ । आन्तरिक विवादका कारण अधिकांश स्थानीय तहमा विनियोजित विकास रकम खर्च हुन सकेको छैन। 

१९ मंसिर, २०७७, १८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।