विराटनगर विमानस्थल विस्तारको तयारी, के होला चक्रपथ ?

विराटनगर विमानस्थल विस्तारको तयारी, के होला चक्रपथ ?

विराटनगर : विराटनगर विमानस्थल विस्तारको तयारी भइरहँदा विराटनगरको चक्रपथ निर्माणबारे स्थानीयलाई चिन्ता हुन थालेको छ।

दुई दशकदेखि अलपत्र परेको चक्रपथमा विमानस्थलको रन वे बन्ने भएपछि चक्रपथ निर्माण नहुने हो कि भन्ने स्थानीयमा चिन्ता देखिएको हो। 

विराटनगरमा आयोजना हुने हरेकजसो कार्यक्रममा निजी क्षेत्रले दुई वटा मागलाई सधैं उठाउँदै आएको छ। विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र चक्रपथ चाँडो निर्माण सम्पन्न गर्न निजी क्षेत्रले सरकारका उच्च अधिकारीहरूसँग हरेक भेटमा माग राख्दै आएका छन्। विराटनगरको मुहार फेर्ने योजनाका रूपमा हेरिएको दुवै योजना विराटनगरका लागि उत्तिकै महत्त्वपूर्ण पनि छन्।

विराटनगर सहर व्यवस्थित पार्न र विस्तार गर्न चक्रपथको निर्माण जरुरी छ भने विराटनगरलगायत प्रदेश १ कै आर्थिक उन्नतिका लागि विराटनगर विमानस्थल विस्तार जरुरी छ। तर, विराटनगर विमानस्थल विस्तार गरेर तीन हजार मिटरको रन वे बनाउँदा विराटनगर रिङरोडको ट्रयाक नै मासिने स्थिति देखिएको छ।

विमानस्थल विस्तारका लागि सरकारले १३६ बिघा जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरिसकेको छ। जग्गा अधिग्रहणको स्वीकृति प्रदान गरेसँगै अधिग्रहण प्रक्रिया अघि बढ्ने भएको छ।

जग्गा अधिग्रहण क्षेत्रमै चक्रपथ पनि पर्ने भएकाले विमानस्थल विस्तार गर्दा रिङरोड मासिने स्थिति रहेको स्थानीय राकेश चौधरी बताउँछन्। वर्षौंदेखि चक्रपथ बन्ने आशामा रहे पनि विमानस्थलको विस्तारसँगै चक्रपथ बन्ने आशा हराउन थालेको उनले बताए। उनले भने, ‘चक्रपथको ट्रयाक मासेर  विमानस्थल बनाउने भएपछि चक्रपथ बन्ने स्थिति देखिँदैन।’ 

अण्डरग्राउण्ड चक्रपथको विकल्प 

विमानस्थल विस्तार गर्ने र चक्रपथ पनि बनाउन पहल गर्ने स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। सो क्षेत्रका सांसद तथा नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले विमानस्थल विस्तार गर्दा चक्रपथ मास्न नहुने बताए। ‘विमानस्थल विस्तार र चक्रपथ निर्माण दुवै विराटनगरवासीका लागि महत्त्वपूर्ण भएकाले विमानस्थल विस्तार गर्दा चक्रपथ मासिनु हुँदैन,’ सांसद कार्कीले भने। 

उनले विश्वका धेरै देशमा अण्डरग्राउण्ड सडकको अभ्यास भइसकेका कारण विमानस्थल भएको स्थानमा अण्डरग्राउण्ड रिङरोड बनाउनु पर्ने धारणा राखेका छन्।  उनले विमानस्थल विस्तार गर्दा चक्रपथ नमासिने गरी चक्रपथलाई अण्डरग्राउड गर्न आफ्नो तर्फबाट पहल गर्ने बताएका छन्।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली पनि विमानस्थल विस्तार गर्दा चक्रपथ मासिन नहुने बताउँछन्। उनले चक्रपथलाई विमानस्थल मुनिबाट लैजाने गरी काम अघि बढाइने बताए। पराजुलीले भने, ‘विमानस्थल विस्तार गरे पनि चक्रपथ मासिन नदिन अण्डरग्राउण्ड चक्रपथ निर्माण गरिने छ।’ 

विमानस्थल विस्तारको डिपिआरमै चक्रपथलाई अण्डरग्राउण्ड बनाउने गरी पहल गरिने पराजुलीले जानकारी दिए। उनले भने, ‘नेपालकै नमुना योजना पनि हुने भएकाले विमानस्थल मुनि विराटनगर चक्रपथ निर्माण हुन्छ।’  

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको विषयमा जिल्ला प्रशासन कार्यालयमा आधिकारिक पत्र आइनसकेको बताए। उनले पत्र आएपछि अधिग्रहण अघि बढाइने जानकारी दिए।

विमानस्थल निर्माण गर्दा चक्रपथ के हुने भन्नेबारे अहिलै यसै भन्न नसकिने भए पनि प्रविधिको प्रयोग गरी अण्डरग्राउण्ड चक्रपथ निर्माण गर्ने विकल्प रहेको बताए। उनले चक्रपथ नमासिने गरी विमानस्थल विस्तार गर्नु उपयुक्त हुने भएको जिल्ला प्रशासनका तर्फबाट पनि यस विषयमा पहल गरिने बताए।

विराटनगर विमानस्थल विस्तारका लागि प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र नगारिक उड्ययन प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। त्रिपक्षीय साझेदारीमा निर्माण हुने विमानस्थलका लागि नागरिक उड्ययन प्राधिकरणले कुल लागतको ५० प्रतिशत, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत खर्च बेहोर्ने छन्। 

हाल विराटनगर विमानस्थलमा १ हजार ५०० मिटरको रन वे छ। विस्तार गरेपछि ३ हजार मिटरको रन वे बन्ने छ।   
 

१९ मंसिर, २०७७, ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।