प्रदेश १ मा छैन ल्याण्डफिल साइड

प्रदेश १ मा छैन ल्याण्डफिल साइड
फिनल्याण्ड सरकारको सहयोगमा विराटनगर महानगरपालिकाले केही वर्षअघि निर्माण गर्ने योजना बनाएको अत्याधुनिक ल्याण्डफिल साइडको स्केच।

विराटनगर : व्यवस्थित ल्याण्डफिल साइड नहुँदा प्रदेश १ का ठूला सहरको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

प्रदेश १ को राजधानी विराटनगर, सुनसरीको इटहरी, धरान, झापाको बिर्तामोड, दमक लगायत सहरको फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइडको व्यवस्था गरिएको छैन। 

प्रदेश १ का तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा सहरीकरण तीव्ररूपमा बढिरहेको छ। तर, फोहोर व्यवस्थापनलाई तीनै तहका सरकारले प्राथमिकता दिएको पाइँदैन। सहरको फोहोर व्यवस्थापन जटिल समस्याका रूपमा देखिइसक्दा पनि सरकारका योजनाहरूमा फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छैन। तीनै तहका सरकारले विकास निर्माणका ठूला योजनामा लगानी साझेदारीसमेत गर्ने परम्पराको सुरुवात गरिसके पनि फोहोर व्यवस्थापनका लागि भने कुनै ठोस योजना अघि सारेका छैनन्।    

केही वर्षपहिले विराटनगर महानगरपालिकाले  नगरको फोहोर व्यवस्थानका लागि योजना अघि सारेको थियो। विराटनगर लगायत सुनसरी र मोरङका अधिकांश स्थानीय तहको फोहोर व्यवस्थानका लागि मोरङको डंग्राहामा ल्याण्डफिल साइड निर्माण गर्ने योजना स्थानीयको विरोधका कारण फिर्ता गएको थियो।

फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा अत्याधुनिक ल्याण्डफिल साइड निर्माणका लागि परियोजनाले विराटनगरमा कार्यालय स्थापना गरी काम अघि बढाएको थियो। तर, स्थानीयको विरोधका कारण परियोजना फिर्ता गयो। त्यसयता प्रदेश १ मा फोहोर व्यवस्थापनका लागि कुनै पनि ठूलो योजना सञ्चालनमा आउन सकेको छैन।

डंग्राहाको ल्याण्डफिल साइडमा मोरङको विराटनगर, सुनसरीको इनरुवा, इटहरी धरान लगायत विराटनगर आसपासका सबै स्थानीय तहहरूको फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको थियो। तर, काम सुरु नगर्दै ल्याण्डफिल साइड परियोजना फिर्ता गएपछि व्यवस्थितरूपमा फोहोर व्यवस्थापन गर्ने काम ओझेलमा पर्दै आएको छ। 

फोहोर जंगल र खोलामा 

प्रदेश १ को राजधानी विराटनगरको फोहोर स्थानीय केशलिया खोलाको किनारमा व्यवस्थापन गरिँदै आएको छ। केशलिया खोलाको किनारमा खुलारूपमा फोहोर व्यवस्थापन गरिँदा धेरै खालका स्वास्थ्य समस्या उत्पन्न हुने गरेको छ। सहरबाट उठाइएको फोहोर खुलारूपमा खोलाको किनारमा फाल्दा, काग, स्याल, कुकुर लगायतका जन्तुहरूले वरपरका गाउँसम्म पुर्याउने गरेका छन्। 
यति मात्रै हैन, बेला–बेलामा झिंगाले गाउँमै बस्न नसक्ने अवस्थासमेत निम्त्याउने गरेको छ।

झिँगाले गाउँमा बस्ने अवस्था नभएपछि स्थानीयले फोहोर अन्यत्र लैजान माग गर्दै आन्दोलनसमेत गर्दै आएका छन्। तर, फोहोर व्यवस्थापनका लागि अन्य कुनै विकल्प नभएकाले विराटनगर महानगरपालिकाले केशलिया खोलाकै डिललाई डम्पिङ साइडका रूपमा प्रयोग गर्दै आएको छ।

विराटनगर महानगरपालिकाले खोलाको किनारलाई डम्पिङ साइड बनाएजस्तै प्रदेश १ को अर्को ठूलो सहर इटहरीले भने जंगललाई फोहोर फाल्ने डम्पिङ साइडका रूपमा प्रयोग गर्दै आएको छ। 

इटहरीको बजार क्षेत्रबाट दिनहुँ संकलन हुने फोहोर चारकोसे झाडीमा फाल्ने गरिएको छ। धरानले पनि फोहोर फाल्ने डम्पिङ साइडका रूपमा चारकोसे झाडीलाई नै प्रयोग गर्दै आएको छ। उता झापाको दमक र बिर्तामोडले पनि चुरे क्षेत्रका जंगल र नदी किनारलाई नै डम्पिङ साइडका रूपमा प्रयोग गर्दै आएका छन्। 

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले दमकले वडा नम्बर २ स्थित जंगल क्षेत्रमा फोहोरको व्यवस्थापन गरिरहेको जानकारी दिए। 

आ–आफ्नै योजना 

फोहोर व्यवस्थापनका लागि ठूलो परियोजना सञ्चालनमा ल्याउने योजना नभए पनि साना योजनाहरू भने स्थानीय तहहरूले अगाडि बनाउने तयारी गरिरहेका छन्। 

विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइड नै निर्माण गर्ने तयारी गरिरहेको छ। विगतमा जस्तो क्षेत्रीय स्तरको नभए पनि विराटनगर महानगरपालिकाको मात्रै फोहोर व्यवस्थापन गर्ने गरी ल्याण्डफिल साइड निर्माण गर्ने महानगरपालिकाको योजना छ। 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि नयाँ योजना अघि बढाइसकेको बताए। कोरिया सरकारको सहयोगमा ल्याण्डफिल साइड निर्माणका लागि गुरुयोजना अन्तिम चरणमा पुगेको पराजुलीले जानकारी दिए। उनले भने, ‘महानगरको फोहोर व्यवस्थापनका लागि नयाँ योजना अघि बढिसकेकाले चाँडै भौतिक निर्माण सुरु हुनेछ।’

ल्याण्डफिल साइड निर्माणका लागि विराटनगर महानगरपालिकाले जग्गा खोजी गरिरहेको पराजुलीले बताए। उता दमक नगरपालिकाले पनि कुहिने फोहोरबाट कम्पोस्ट मल र बायो ग्याँस निर्माणका लागि योजना अघि बढाइसकेको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बताए। उनका अनुसार बायो ग्याँसको ट्यांकी निर्माण सुरू भइसकेको छ।

१२ मंसिर, २०७७, ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।