बोराभित्र भेटियो बालिकाको शव 

बोराभित्र भेटियो बालिकाको शव 
बालिकाका हत्यारा पत्ता लगाई कारबाही हुनुपर्ने माग गर्दै अवरुद्ध गरिएको पूर्व-पश्चिम राजमार्गको बर्दिबास नगरपालिकास्थित सडकखण्ड। 

जनकपुरधाम : महोत्तरीको बर्दिबास–१४ स्थित शुभम् बस्तीबाट हराइरहेकी बालिकाको शव फेला परेको छ। 

इलाका प्रहरी कार्यालय, बर्दिबासका अनुसार सामुदायिक परिवार कल्याण संघ, महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टि पर्ने विनोद साहको खाली जग्गामा बोराभित्र राखिएको अवस्थामा ६ वर्षीया गुलाव शाह खातुनको शव भेटिएको हो।

हत्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा बालिकाको शव भेटिएको कार्यालयका बर्दिबासका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन चापागाईंले जानकारी दिए।

बालिका आइतबार साँझ बस्तीबाटै हराएकी थिइन्। 

हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ। पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेको प्रहरीको भनाई छ।  

‘घटनाको प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएजस्तो देखिएको छ,’ उनले भने, ‘शव परीक्षण प्रतिवेदन हेरेपछि यसबारे स्पष्ट हुनेछ।’

हत्यारा पत्ता लगाई कारबाही हुनुपर्ने माग गर्दै मृतकको परिवारजन र आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लाम लागेको छ।

९ मंसिर, २०७७, ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।