कोरोना कहरबीच जनकपुरमा छठको रौनक

कोरोना कहरबीच जनकपुरमा छठको रौनक
मिथिला राजधानी जनकपुरधाममा छठको रौनक । आज साँझ अस्ताउँदो सूर्यलाई अर्ध दिने धार्मिक कृत्यको भव्य तयारी । तस्बिर : कमलेस ठाकुर

जनकपुरधाम : छठको मुख्य दिन आज (शुक्रबार) सूर्यको आराधना गर्दै जनकपुरसहित विभिन्न स्थानमा यो पर्व मनाइँदै छ। 
 

बुधबार सुरु भएको यो चारदिने पर्व आज साँझपख अस्ताउँदो र भोलि बिहान (शनिबार) उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ।

छठ पर्वको तेस्रो तथा मुख्य दिन आज विभिन्न पोखरीहरुमा खरना राति देखि नै घाटमा अर्घ लिएर श्रद्धालुको भिड लागेको छ। 

कोरोना महामारीको बीच अहिले जनकपुरधामको गंगासागर, अरगजा सर, दशरथ तलाउ, गोरधोई पोखरी, नोचा पोखरी, गोसाईकुण्डलगायत दर्जनौँ पोखरीहरुमा श्रद्धालु भक्तजनहरुको भीड लागेको हो। 

ब्रतालुले पहिलो दिन नुहाएर खाने र दोस्रो दिनको साँझको खरना विधि घरभित्रै सम्पन्न गर्छन्। 

तेस्रो दिन साँझ र चौथो दिन बिहानको धार्मिक अनुष्ठानका लागि ब्रतालुहरू प्राकृतिक जलाशयको किनारमा पुग्छन्। यो वर्ष कोभिड–१९ को बढ्दो संक्रमणका कारण सामूहिक रूपले पूजा नगर्न स्थानीय प्रशासनले सूचना जारी गरेको छ। तर, श्रद्धालुहरु प्रशासनको सूचनालाई अवज्ञा गर्दै सामूहिक रुपमा नै विभिन्न जलासयमा पुगेका छन्। 

अन्य वर्ष जनकपुरधामको पोखरीहरुमा तेस्रो मुलुकबाटसमेत पर्यटकहरु आउने गरेतापनि यस वर्ष कोरोना महामारीको कारण आएका छैनन्। जनकपुरधामको छठ पर्व नेपालमै प्रसिद्ध रहेकोले यहाँ भीड बढी हुने गरेकोले अहिले जनकपुरधामको सुरक्षा व्यवस्था कडा गरिएको प्रहरीले जनाएको छ। 

आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ। 

छठको लागि अहिले जनकपुरधामका पोखरीहरुलाई दुलही जस्तै सिँगारिएको छ।

यस्तै छठ पर्वको लागि प्रदेश २ सरकारले आज र भोलि सार्वजनिक विदा दिइएको छ। 

५ मंसिर, २०७७, १४:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।