कलर थेरापीको कमाल

कलर थेरापीको कमाल
तस्बिर : टाइम्सअफइण्डिया डट कम।

मनपर्ने रङको प्रयोगले व्यक्तिको मस्तिष्क सक्रिय तथा तीक्ष्ण भइ काममा ऊर्जा मिल्छ। तर, मन नपर्ने रङको प्रयोगले निराशा उत्पन्न हुन सक्छ। विभिन्न किसिमका फूल तथा रंगीविरंगी वातावरण देख्दा व्यक्तिको मन प्रफुल्लित हुन्छ। व्यक्तिको मन र मस्तिष्कका रङको सन्तुलन नभएको अवस्थामा निराशा उत्पन्न हुन सक्छ। त्यसैले कलर थेरापी विधि अपनाएर व्यक्तिको मन र मस्तिष्क स्वस्थ तथा सक्रिय राख्न सकिन्छ। 

मन अनुसारको रङ

व्यक्तिले खाने धेरैजसो खाद्यपदार्थ तथा परिकारको छनोट पनि रङ आकारमा गरेको पाइन्छ। व्यक्तिले कुनै सामग्री तथा वस्तु किन्दा होस् वा पोशाक किन्दा नै किन नहोस्, रङलाई विशेष ध्यान दिएको पाइन्छ। भावना तथा व्यवहारमा पनि रङले प्रभाव पारेको हुन्छ। व्यक्तिले बजारबाट ८० प्रतिशतभन्दा बढी सामग्री तथा वस्तु त रङकै आधारमा छनोट गर्ने गरेको पाइन्छ। 

मानसिक समस्याको प्रकृति अनुसार विभिन्न प्राकृतिक रूपमा वातावरण तथा फूलको माध्यमबाट कलर थेरापी उपचार विधि अपनाउन सकिन्छ। विभिन्न रङका बत्ती (लाइट), भित्ता तथा रङको संकेतको प्रयोग गरेर कलर थेरापी गरिन्छ। यसरी कलर थेरापी गर्दा मस्तिष्कमा प्रभाव पारी तनावमा भएका व्यक्तिको मन प्रफुल्लित भइ तनाव कम गर्न सहयोग मिल्छ। ऊर्जाशील रङले मस्तिष्क रसायनमा प्रभाव पारी सकारात्मक सोचको विकास हुन्छ।

बच्चा हुर्कने क्रममा नै उसले कुन रङ मन पराउँछ, त्यही आधारमा व्यक्तिको विकास हुँदै जान्छ। भनिन्छ, ‘रङ महिलाहरू पुरुषभन्दा अझ बढी नै ख्याल गर्छन्।’ व्यक्तिको हुर्काइको परिवेश, उमेर, परम्परा, लिंगजस्ता आधारमा रङको आ˗आफ्नै ढंगले व्याख्या र विश्लेषण गरिएको हुन्छ।

सबैभन्दा पहिले रातो रङको चर्चा गरौं। 

रातो

यो रङलाई ऊर्जाको प्रतीकका रूपमा चिनिन्छ। यसलाई मस्तिष्कमा उर्जा दिने रङका रूपमा चिनिन्छ। यो रङको प्रभावले शारीरिक तथा मानसिक रूपमा उत्तेजनासँगै जोश तथा जाँगर आउने विश्वास गरिन्छ। यो रङ बढी मन पराउने व्यक्ति बढी सक्रिय तथा साहसी भएको मानिन्छ। 

भनिन्छ, ‘यो रङ छनोट गर्ने व्यक्ति साहसी तथा निडर स्वभावका हुन्छ।’ खेलमा होस् वा ट्राफिक लाइटमा, खतरा तथा जोखिमको संकेतको रूपमा रातो रङको प्रयोग गरिन्छ। 

अर्कातर्फ यो रङ मन पराउने व्यक्ति उत्तेजित हुने भएकाले यौनको मामलामा पनि सक्रिय हुने संकेत देखिन्छ। रातो रङले उत्तेजित बनाउने भएकाले यो रङका ड्रेस लगाउने व्यक्ति उत्तेजितसमेत हुन सक्ने देखिन्छ। त्यसो त रातो रङले भोग जगाउने हुँदा खाद्यपदार्थमा यो रङको बढी नै प्रयोग भएको पाइन्छ।

उपचारात्मक हिसाबले कुरा गर्दा रातो रङ तनाव तथा डिप्रेसनको समस्यामा परेका व्यक्तिका लागि लाभदायक हुन्छ। तनाव तथा निराशामा भएका व्यक्तिका लागि रातो रङका फूल, बत्ती, भित्ता, संकेत, जमिन तथा प्राकृतिक वातावरण देखिएर कलर थेरापी जस्तो प्राकृतिक उपचारात्मक उपचार विधि अपनाइन्छ। 

उत्तेजित तथा आक्रोशित भइहाल्ने व्यक्तिका लागि भने उसको उत्तेजना तथा आक्रोशलाई शान्त राख्न हरियो रङको प्रयोग गरिन्छ। 

गुलाबी 

रोमाञ्चित बनाउने रङ हो, गुलाबी। रोमान्स बताउने रङ भएकाले यसलाई यौन जोडीबीचको प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ। यो रङलाई यौवन अवस्थाका उमेर समूहका युवा˗युवतीले बढी मन पराउने रङका रूपमा पनि चिनिन्छ। त्यसैलाई यो रङलाई प्रेमभाव तथा यौनभाव प्रस्तुत हुने रङका रूपमा पनि लिइन्छ। भनिन्छ, ‘गुलाबी रङ मनपराउनेहरू नम्र स्वभावका हुन्छन्।’

प्रेमभावको अभावमा मन कुँडिएका, व्यक्तिका लागि यो रङको प्रयोग गरी आत्मविश्वास तथा प्रेमभाव जगाउन सकिन्छ। दया, मायाको भाव प्रकट गर्नका लागि यो रङको प्रयोग गरि व्यक्तिमा प्रेमभाव प्रकट गराउन तथा भावनात्मक सम्बन्ध नजिक बनाउन सकिन्छ। यो रङका सामग्री उपहार दिएर प्रेम सम्बन्ध बढाउन सकिन्छ। त्यसैले त ‘भ्यालेन्टाइन डे’ का दिन गुलाबी रङको गुलाबको जोडीहरूबीच साटासाट गर्ने चलनसमेत पाइन्छ। यस्ता विभिन्न किसिमले गुलाबी रङको प्रयोग गरि कलर थेरापी गर्न सकिन्छ। प्रेमले मन र मस्तिष्क स्वस्थ तथा सक्रिय हुन ठूलो मद्दत मिल्छ। त्यसैले प्राकृतिक चिकित्सकीय उपचार विधिमा यस्तो थेरीपीको चलन बढ्दो छ।  

सेतो

सेतो रङले सकारात्मक विचार तथा भावको पैदा हुन्छ। यो रङको प्रयोगले मन शान्त तथा आनन्दित हुन्छ।

त्यसैले मन अशान्त तथा मनमा अस्थिरता भएको अवस्थामा समेत सेतो रङका फूल, भित्ता, लाइट, ड्रेस लगायतको प्रयोग गरि कलर थेरापी उपचार विधि अपनाइन्छ। 

कालो 

यो रङलाई निराशाको प्रतीकका रूपमा समेत लिइन्छ। नकारात्मकताको चित्रणका लागि कालो रङको प्रयोग भएको पाइन्छ। सामान्यतः मानसिक तनाव तथा डिप्रेसनको समस्या भएका व्यक्ति छनोटमा कालो रङ पर्छ। भनिन्छ, ‘निराश भएका तथा निराशाको समस्या भोगेका व्यक्तिले कालो रङ मन पराउँछन्।’

हामी देख्न सक्छौं– फिल्ममा पनि क्रोध, भय, रहस्यमय तथा नकारात्मकता जस्ता भाव सञ्चारको सञ्चार गर्न कालो रङको प्रयोग भएको हुन्छ। कालो रङ मनपराउने व्यक्तिलाई रहस्यमयी व्यक्तिका रूपमा पनि लिइन्छ। 
त्यसैले निराशा तथा डिप्रेसन, तनाव जस्ता मानसिक समस्या भएका व्यक्तिका लागि विभिन्न रङको प्रयोगसँगै कालो रङको प्रयोग गरिन्छ। 

पहेँलो

पहेंलो रङले मस्तिष्क सक्रिय बनाउन महत्त्वपूर्ण भूमिका हुन्छ। यो रङको प्रयोगले नवीन सोच, विचार तथा भाव पैदा हुने भएकाले मस्तिष्क सक्रिय राख्नका लागि यो रङको प्रयोग उपयोगी हुन्छ। त्यसैले कलर थेरापीमा यो रङको प्रयोग गरि मस्तिष्क स्वस्थ तथा सक्रिय राख्न सकिन्छ, जसले तीक्ष्ण क्षमताको विकासमा सहयोग मिल्छ। 

पहेँलो रङलाई त्यागी रङका रूपमा पनि लिइन्छ। भनिन्छ, ‘पहेंलो रङ मन पराउने व्यक्तिको स्वभाव भलाद्मी र मिलनसार हुन्छ।’ 

हरियो

प्रकृतिसँग धेरै नजिक हुने रङ भएकाले हरियो रङलाई उर्वरताको प्रतीकका रूपमा लिइन्छ। यो रङलाई स्वस्थ तथा सफा–सुग्घर, शान्त र मनै आनन्दित बनाउने रङका रूपमा लिइन्छ। 

खेलकुदमा पनि सकारात्मक सन्देशका लागि ग्रिन कार्डको प्रयोग गरेको देखिन्छ। यो रङप्रति बढी आकर्षित हुने व्यक्ति तार्किक दूरदर्शी तथा बौद्धिक मानिन्छन्। व्यक्तिको मन उथलपुथल भएको अवस्थामा मन शान्त र आनन्दित बनाउनका लागि पनि हरियो रङको प्रयोग गरि कलर थेरापी गरिन्छ। विभिन्न प्राकृतिक वनस्पति तथा वातावरणको अवलोकन गर्दा पनि मन शान्त र मनमा उमंग प्राप्त हुन्छ। 

निलो

यो हरियोसँग नजिक हुने रङ हो। निलो रङले मन नै शान्त पार्ने भएकाले यसलाई शान्त रङका नामले समेत चिनिन्छ। यो रङले व्यक्तिलाई मनोवैज्ञानिक रूपमा आनन्दित तथा शान्त तुल्याउँछ।

मनमा चञ्चलता तथा तनावको समस्या भएका व्यक्तिमा निलो रङका विभिन्न फूल, चिह्न तथा वस्तुको माध्यमबाट मनोवैज्ञानिक रूपमा कलर थेरापी उपचारात्मक विधि अपनाउन सकिन्छ। यसबाट मन शान्त बनाउन सकिन्छ। निलो वातावरण हेर्दा तनाव कम भइ मन र मस्तिष्कमा भएका नकारात्मक पक्षलाई हटेर सकारात्मकताको विकास हुन्छ। भनिन्छ, ‘यो रङ मन पराउने व्यक्ति शालिन स्वभावका हुन्छन्।’ 

सुन्तले रङ 

व्यक्तिलाई ऊर्जावान बनाउनका लागि सुन्तले (ओरेन्ज कलर) रङको प्रयोग गरि कलर थेरापी विधि अपनाउन सकिन्छ। कामप्रति जाँगर नचल्ने, थकित महसुस हुनेजस्ता समस्या भएका व्यक्तिमा यो थेरापिक विधि अपनाउन सकिन्छ।

सुन्तले रङलाई उर्जा दिने रङका रूपमा चिनिन्छ। सुन्तला रङका कुनै वस्तु तथा वातावरण हेर्दा मनमा ऊर्जा थपिन्छ। यो रङलाई ध्यान आकर्षित गर्ने तथा सकारात्मक सोचको लागि मद्दत गर्ने रङका रूपमा पनि चिनिन्छ। 

बैजनी

बैजनी रङले मन र मस्तिष्क उत्तेजित बनाउँछ। यो रङलाई बौद्धिकता, कल्पनाशीलता तथा विवेकशीलताजस्ता प्रतीकको रूपमा चिनिन्छ। 

बैजनी रङलाई रचनात्मक रङका नामले समेत चिनिन्छ। त्यसैले अध्ययन गर्ने तथा वौद्धिक वृद्धिविकास गर्ने व्यक्तिका लागि यो रङको प्रयोग गरि कलर थेरापी विधि अपनाउन सकिन्छ। कलर थेरापीका रूपमा बैजनी रङका ड्रेस लगाउन सकिन्छ। घरका कोठामा यही रङको प्रयोग गर्न सकिन्छ। यस्तै, आफूले प्रयोग गर्ने सामग्री पनि बैजनी रङको प्रयोग गर्नु वौद्धिक क्षमताको वृद्धि–विकासका लागि लाभदायक नै हुन्छ। 

खैरो 

खैरो (ग्रे) रङलाई यथार्थ तथा तटस्थताका रूपमा लिइन्छ। यो रङको छनोट गर्ने व्यक्तिको स्वभाव समझदारी गर्न रुचाउने किसिमका हुन्छन्।

त्यसैले मनमा तनाव तथा दुविधा जस्तो समस्या उत्पन्न हुने व्यक्तिमा यो रङको प्रयोग गरि कलर थेरापी उपचारात्मक विधि अपनाइन्छ। 

(उकेराकर्मी उपेन्द्र खड्काले डा. सुनुवारसँग गरेको कुराकानीमा आधारित)

२९ कात्तिक, २०७७, ०८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।