खाजा बेच्दै पूर्वफुटबलर

खाजा बेच्दै पूर्वफुटबलर

जनकपुरधाम : कुनै समय जनकपुरधाममा फुटबल खेलेर चर्चा कमाउने खेलाडीमा गनिन्थे, जनकपुरधाम उपमहानगरपालिका–७  का दिनेश सिंह। त्यतिबेला उनी जनकपुर चुरोट कारखाना लिमिटेडको फुटबल टोलीका मुख्य सदस्य थिए। 

तर, अहिले उनको परिचय फेरिएको छ। अहिले उनले खाजा पसल सञ्चालकको परिचय बनाएका छन्। 

फुटबल क्षेत्रलाई चटक्कै छाडेर खाजा पसल चलाउनु उनको रहर होइन, बाध्यता हो। चुरोट कारखानाको जागिर छुटेपछि घरखर्च चलाउन खाजा पसल चलाएको उनी बताउँछन्। 

‘झण्डै आठ वर्षअघि चुरोट कारखानाबाट हटाइएपछि घरखर्च धान्न समस्या भयो। त्यसपछि जीवन निर्वाहका लागि खाजा पसल चलाइरहेको छु,’ ६३ वर्षीय सिंहले भने, ‘अहिले भने घर खर्च चलाउन सहज भएको छ।’

चुरोट कारखानामा ११ वर्ष काम गरेपछि आर्थिक स्थिति बिग्रिएको भन्दै जागिरबाट हटाइएको उनले सुनाए। 

कांग्रेस नेता रामएकवाल साहले खेलाडीलाई खेल क्षेत्रमै टिकाइराख्ने सरकारको नीति नभएको बताउँछन्। ‘राम्रा प्रशिक्षक त्यत्तिकै बसिरहेका छन्। तिनको सदुपयोग गर्न सकिएको छैन,’ उनले भने। 

वेट लिफ्टिङका पूर्वराष्ट्रिय खेलाडी अमरचन्द्र अनिलले प्रदेश सरकारले खेल विकासको लागि योजना नल्याएको बताए। ‘न राम्रा खेलाडी टिकाउन सकिएको छ न त नयाँलाई कुनै अवसर छ,’ उनले भने। 

फर्केर हेर्दा... 

त्यतिबेला चुरोट कारखानाको फुटबल टोलीमा दिनेशसँगै अभयकान्त झा, वीरेन्द्र लामा, राजु थापा, ठक्कन साह लगायतका सदस्यहरू थिए।

उक्त टोलीले देशभरका विभिन्न प्रतियोगितासँगै त्यतिबेलाको प्रतिष्ठित वीरेन्द्र कप फुटबल प्रतियोगिताको उपाधिसमेत जितेको थियो। 

त्यतिबेला देशका विभिन्न स्थानमा हुने प्रतियोगितामा आफूले खेलेको दिनेश बताउँछन्। ‘प्रतियोगिता खेल्न सीमावर्ति भारतसँगै पोखरा, धनगढी, विराटनगर, काठमाडौंमा पुगेको छु,’ उनले सुनाए। 

सामाजिक कार्यकर्ता शम्भुप्रसाद शाहले पहिले दिनेशको खेल हेरेर प्रभावित भएको स्मरण गरे। 

धोको अधुरै रहने चिन्ता

युवाहरूलाई प्रशिक्षण दिएर राष्ट्रिय स्तरको खेलाडी बनाउने दिनेशको धोको छ। तर, घरखर्च धान्ने चिन्ताले यो धोको अधुरै रहने चिन्ता उनमा छ। 

‘पेटले खाजा पसलभन्दा बाहिर जान दिइरहेको छैन,’ उनले भने। 

१३ कात्तिक, २०७७, १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।