दसैंमा मिथिलामा झिझियाको रमझम

दसैंमा मिथिलामा झिझियाको रमझम

जनकपुरधाम : मिथिलाञ्चलको गाउँ–गाउँमा दसैंको बेला झिझियाको निकै आकर्षण देखिएको छ।पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व रहेको छ। दसैंमा देवी स्तुतिको रुपमा यो नृत्य गरिने गरिन्छ। बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गरिने गरिएको जनविश्वास रहेको छ।

यसको बनावट र स्वरुपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ। बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैँटो त्यसकै नमुना हो।

त्यो घैँटो टाउकोमा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई संकेत गर्दछ। महिलाको टाउकोमा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्न सफल भयो भने नाच्ने महिला ठहरै हुने जनविश्वास रहेको छ। त्यसै कारण सो घैँटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रुपमै नृत्य गरिने गरिन्।

झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ। त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकोमा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अद्भूत वातावरणको निर्माण हुन्छ। नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनुका साथै धम्की समेत दिइने गरिन्छ। बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततीहरुको सुरक्षा हुने जनविश्वास रहेको संस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन्।

झिझिया लोकनृत्य धनुषालगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा गरिने गरिन्छ। त्यस्तै भारतीय मिथिलाक्षेत्रमा पनि प्रस्तुत गरिन्छ। झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोक नृत्य हो, जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैँटो टाउकोमा राखी नृत्य गर्ने गरिन्छ।

झिझियाको सुरुवात

मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ। घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन झिझिया नृत्य हो। समाज रुपान्तरणको सँगै लोकनृत्यहरु गायब हुन थालेका छन्।

तैपनि गाउँघर तथा शहर बजारहरुमा यसलाई जीवित राख्नका लागि भए पनि वर्षेनी झिझिया नृत्यको आयोजना गरिँदै आएको छ। तराईका विभिन्न क्षेत्रमा समय–समयमा बोक्सी प्रकरणका घटनाहरु सुनिदै आएको छ। कानुनले त्यस्ता प्रकरणलाई असत्य भन्दै बोक्सीको आरोप लगाउनेहरुलाई नै सजाय दिइने नेपालमा कानुनी व्यवस्था छ। सजायको कानुनी व्यवस्था भए तापनि बोक्सीको घटनामा कमी आएको पाइँदैन।

समाजमा बोक्सीको उपस्थिति रहेको भन्दै सातौं वा आठौं शताब्दीतिर बोक्सीविरुद्ध प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको सुरुवात गरिएको इतिहासकारहरु बताउँछन्। गाउँ घरमा ती झिझिया नृत्यले निरन्तरता पाइरहँदा शहरबजारसमेत झिझिया नृत्यबाट अछुतो रहन सकेको छैन।

जनकपुरमा अहिले प्रत्येक रात समूह–समूहमा महिला झिझिया नृत्य गरिरहेको सहजै देख्न सकिन्छ। दसैंँको समयमा विभिन्न क्लबहरुकै पहलमा झिझिया नृत्यको आयोजना गरिने गरिएको पाइन्छ।
उद्देश्य
समाजमा प्रचलित जनविश्वासअनुसार गाउँकी डाइन बोक्सी महिला जादु मन्त्र सिकेर, त्यसलाई सिद्ध गर्नका लागि गाउँका जन्मजात बालबालिकाहरुलाई टुनामुनाद्वारा मारेर श्मशानमा त्यहीँ मरेको बच्चालाई जिउँदो पारी नाङ्गै नृत्य गर्ने गर्छन। दसैंंको समय बोक्सीहरुको सिद्धि प्राप्त गर्नका लागि उचित समय भएको हुनाले बोक्सीका घटनाहरु दसैंँको समयमा बढी संख्यामा हुने गरेको पाइएको छ।

घटनामा वृद्धि हुन थालेपछि महिला नै एउटा धार्मिक, साँस्कृतिक अनुष्ठानको सुरुवात गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्ने बोक्सीहरुको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ। आफ्ना सम्पूर्ण सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको मुख्य उद्देश्य रहेको छ।

यसको अर्को उद्देश्य दसैंको समयमा देवी दूर्गालाई रिझाउनु पनि रहेको छ। झिझिया नृत्य गर्दै गाइने गीतहरुमा बोक्सीलाई गाली गर्नुका साथै भगवती दुर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीतहरु पनि गाइन्छ। त्यसमा प्रत्येक दसैंंमा आफ्ना खास सवारीसाथ आउने भगवतीको शृंगार डोलीमा सवारी र कामाख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीतहरु गाइने गरिन्छ।

नृत्य पूर्वको तयारी

झिझिया नृत्य प्रारम्भ गर्न पूर्व तयारी गर्नुपर्छ। एउटा वा दुईटा स्वच्छ घैँटो किनेर त्यसलाई सफासुग्घर गरी घैँटोभरि प्वाल बनाइन्छ। घैँटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ। त्यसमा मट्टितेल हालेर बालिन्छ। त्यसपछि टाउकोमा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ। तर, टाउकोमा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ। अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ—
सभ्य गुरुक बन्दे पाउँ। बजर केवाडी।
बजर बान्हो दशो दुआरी।
मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो।।
यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकोमा आगो बलिरहेको घैँटो राखेर हातको सहारा नलिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन्।

ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया औपचारिक रुपमा सुरु हुन्छ। त्यसपछि घर–घरमा गएर नृत्य देखाउने परम्परा रहेको छ। प्रत्येक घरबाट पूर्णाहूतिका लागि अन्न रुपैयाँ चन्दा माग्ने गर्छन्। त्यही मागिएको रकम जोडेर विजयादशमीको दिन पूजापाठ, भोज भात र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुन्छ।

नृत्यको सबल पक्ष गीत

झिझिया नृत्यको सबभन्दा सबल पक्ष सो नृत्यमा गाइने गीत नै हुन्। झिझिया नृत्यमा पनि दुईखाले गीतहरु हुन्छन्। पहिलो देवीस्तुति र दोस्रो बोक्सीलाई गाली गर्ने तथा धम्काउने गीतहरु हुन्छन्।
लील रंग डालीया, सबुजेङ्ग ओहरिया।
मैयागे भीडि गेलाह बत्तीसो कहार।
कमरुआ देश मैआ कब जइहे गे।।
बोक्सीहरु भर्खरै मृत्यु भएका बालकलाई चिहानबाट झिकी उसलाई जिउँदो पारेर नांगै नाच्ने गरेको जनविश्वास पाइन्छ। जो बालक उसकै टुनामुनाद्वारा मारिएको हुन्छ।
बरहमके पछुआरिए डैनियां
मत करिहें शृंगार गे बमेलेल आरती
दहिने तरुआरि गे
नचैत नचैत गेले डैनियां
सीमा ओइ पार गे सँगे सँगे गेलौ डैनियां
राजा कोतवाल गे देख लेलकौ खागै डैनियां नङ्टे उघार गे।।
यो झिझियाको गीतको मध्यमबाट बोक्सीलाई गाली गरिने गरिन्छ।
कोठाके उपर डैनिया, खिडकी लगैले ना,
खिडकी ओत्ते डैनिया, गुनावा चलैले ना।
आगे किछु होएतौ डैनिया, गदहा पर चढैवौ
गदहा चढाए डैनियां नमुहां हसैबौ ना।।
बोक्सीलाई धम्काउने काम पनि गीतकै माध्यमबाट गरिन्छ। खबरदार, यदि तिमी खिडकी पछाडिबाट टुनामुना गरी जादु चलायौ भने तिमीलाई गधामाथि चढाएर गाउँमा घुमाउँछौँ र नाम बदनाम गराउँछौँ यो गीतको अर्थ हो।
समाजमा बोक्सीलाई कतिसम्म घृणित मानिन्छ भन्ने कुरा यो गीतको बोलबाट स्पष्ट हुन्छ।

डैनिया बेटा मरल पडल है,
अन्हार घर झिझडी।
कोइ नै बाँस कटबैया है
अन्हार घर झिझडी।।

यो गीतको बोलको अर्थ घरमा बोक्सीको छोरा मरेको छ, बाँस काट्नेसम्म कोही छैनन् भन्ने हो।
मैथिलीका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमलले झिझिया गीतको एउटा अर्को पाटो पनि छ र त्यो मनोरञ्जनात्मक र व्यङ्ग्यात्मक शैलीको पाटो भएको बताए । झिझिया नृत्य देखाउँदै गाउँका भद्रभलाद्मी कहाँ जाँदै गर्दा पूर्णाहूतिका लागि चन्दा पनि माग्ने चलन छ। नगद, अन्न र मट्टितेल। दलानमा पुग्दापुग्दै गीत गाउनेहरु गाउँछन्—

जाबे भैया सुनलनि, झिझियाके अबैया
ताबे भैया ठोकलनि केवार।।
अर्थात् जब झिझिया टोली आउने सुइँको दाइले पाउनुभयो आफ्नो घरको ढोका बन्द गर्नुभयो। यस स्थितिमा घरपट्टि अवश्य पनि केही न केही चन्दा दिने गर्छन्।

एक डिबिया तेलला झिझिया रुसल जाइ छै, दू महला के कोन सिंगार।।
अर्थात् एउटा दियो बराबर तेल दिन नसकेपछि झिझिया रिसाएर फर्कँदा यो घरको के अर्थ।
समाजमा प्रचलित यो झिझिया गीतले सामाजिक अन्धविश्वासलाई प्रस्ट्याउँछ। यद्यपि, गाउँटोलका महिलाले आफ्नो पारिवारिक शान्तिको कामना गर्दै हिन्दूहरुको महान् चाड दसैंंताका झिझिया नाच नाच्ने परम्परा रहेको छ।

परम्परागत लोकविश्वासमा आधारित कैयौँ यस्ता लोकगीतहरु लोपोन्मुख अवस्थामा रहेका छन्। सामाजिक संस्कारमा रहेको अन्धविश्वासका प्रति छाया दर्शाउने यस किसिमका लोकगीतलाई समेत सांस्कृतिक दृष्टिले जगेर्ना गर्नुपर्ने आवश्यकता देखन्छि।

पत्रकार एवं शेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष एवं सांसद रामअशिष यादवले लोक संस्कृतिको जीवन्त प्रस्तुति झिझिया नृत्य संस्कृतिको निरन्तरता कि अन्धविश्वास उखेल्न गाह्रो भएको बताउँछन्। उनले कलालाई रुपान्तरण गर्ने आवश्यकता रहेको बताए।
दसैंको समयमा प्रस्तुत गरिने झिझिया नृत्यले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न सामथ्र्यवान् रहेको पाइन्छ। पाँच वर्षका बालबालिकादेखि लिएर तरुणी र अधबैसेंसम्म यस नृत्यमा सहभागी हुने गर्छन्।

उनका अनुसार टाउकोमाथि राखिएको घैंटो र त्यसमाथि उज्यालो दिइरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा एउटा ठूलो कलाको प्रदर्शन गर्नु हो।

सुन सुन गे डैनिया कदमतर तोरा बेटाके खेबौ ब्रह्मतर। बोक्सीलाइ आधार मानेर यस संस्कृतिलाइ निरन्तरता दिनु अन्धविश्वास बाहेक अरू केही होइन भन्नेहरुको पनि कमी छैन। तर झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाई रुपान्तरित समाजमा परिष्कृत गर्दै अगाडि बढाउँदा झिझिया नृत्य अझै लोकप्रिय र समाजले त्यसबाट केही लिनसक्ने मिथिला नाट्य कला परिषद्का पूर्व अध्यक्ष मदन ठाकुरले बताए।

झिझियालाई बचाउने प्रयास

झिझियालाई बचाउन मिथिलाञ्चलमा विशेष प्रयास सुरु भएको छ। मिथिला नाट्य कला परिषद्का अध्यक्ष परमेश झाले मिनापले नेपाल भारतको विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रमहरुमा झिझियालाई विशेष प्रस्तुतिको रुपमा लिइने गरेको छ। मिनापले केही वर्षयता झिझियाको पाँच सयभन्दा बढी नृत्य प्रदर्शन गरेको छ। जनकपुरकै राजदेवी युवा क्लबले दसैंको बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ।

दसैंको बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुने गर्छ।सिरहा र सप्तरीमा समेत प्रत्येक वर्ष झिझिया प्रतियोगिताको आयोजना हुने गरेको राजविराजका वरिष्ठ पत्रकार शिवहरि भट्टराईले बताए।

 

 

 

 

८ कात्तिक, २०७७, ०८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।