कोरोना जित्ने घरेलु जडीबुटी

कोरोना जित्ने घरेलु जडीबुटी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका व्यक्तिले समेत सन्तुलित खानपान, योग, प्राणायाम, ध्यानजस्ता क्रियाकलाप गरेर समेत रोग जित्न सकिन्छ। संक्रमण भएको अवस्थामा समेत व्यवस्थित खानपान र जडीबुटीको प्रयोग गर्नु उचित हुन्छ।

रुघा–खोकी, ज्वरोजस्ता मौसमी फ्लुको संक्रमणबाट बच्न भान्सामा पुग्ने मसला सन्तुलितरूपमा विभिन्न तरिकाले सेवन गर्नु लाभदायक हुन्छ। सन्तुलितरूपमा मसलाजन्य खानपान गर्नाले टाउको दुख्ने, झाडापखाला लाग्ने, शरीर दुख्ने, बान्ता हुनेजस्ता समस्याबाटसमेत बच्न सकिन्छ।

विभिन्न किसिमका मसलाजन्य जडीबुटीमा पाइने ‘बायोएक्टिभ्स् तथा फाइटोकेमिकल्स्’ जस्ता तत्त्वले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुर्याउँछ। मसलाजन्य जडीबुटीमा भिटामिन तथा औषधीय गुण हुन्छन्। त्यसैले मसलाको प्रयोग गरेर खाइने परिकार त स्वादिलो हुन्छन् नै शरीर पनि स्वस्थ रहन मद्यत मिल्छ। 

आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न विधि अपनाउनाले व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ। 

रोग फाल्ने भान्साका जडीबुटी

हाम्रै भान्सामा उपलब्ध विभिन्न किसिमका मसलाको प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमता बढाएर व्यक्ति स्वस्थ र मजबुत बन्न सकिन्छ। भान्सामा पुग्ने दालचिनी, जिरा, बेसार, लसुन, अदुवा, धनियाँ, दालचिनीजस्ता मसला नियमित तथा सन्तुलितरूपमा सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ, जसले रोगको संक्रमणविरुद्ध लड्न सहयोग मिल्छ। 

कोरोना भाइरसको संक्रमण भएका वयस्क व्यक्तिले दुई ग्राम त्रिकाटु चूर्ण र तीन ग्राम अश्वगन्धा चूर्ण उमालेर सेलाउँदै गरेको मनतातो पानीमा फिटेर सेवन गर्न सकिन्छ। तुलसी, दालचिनी, ल्वाङ, अश्वगन्धा चूर्ण, गुडचिनी, मरिचजस्ता जडीबुटी सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ, जसले कोरोना मात्रै होइन, विभिन्न रोगको संक्रमणलाई जित्न सहज हुन्छ। 

त्यसैगरी, विभिन्न किसिमका रोगको संक्रमणलाई जित्नका लागि जिरा, टिम्मुर, मरिच, धनियाँ, तुलसी, लसुनजस्ता जडीबुटीको ‘काँडा’ बनाएर खानु उचित हुन्छ। सेल्फ–क्वारेन्टाइन तथा आइशोलेसनमा बसेको समयमा समेत पुदिना र तुलसीको चार–चार वटा पात मन तातोपानीमा डुबाएर बाफ लिनु उचित हुन्छ । 

रोगको संक्रमण जित्नका लागि बेसार पानीको त्यतिकै महत्त्व छ। बिहान–बेलुकी बेसार पानी सेवन गर्नु उचित हुन्छ। दैनिक एक लिटर बेसार–पानी पिउनाले रोग जित्न धेरै मद्दत मिल्छ। 

मिश्री, ल्वाङको धूलो र मह फिटेर सेवन गर्नाले खोकी खाँसीबाट बच्न सकिन्छ। नेपालमा जाडो मौसम सुरु भएकाले विभिन्न मसलाजन्य जडीबुटीको सन्तुलित सेवन गर्नु उपयुक्त हुन्छ। कोरोना संक्रमित भएका व्यक्तिले यस्ता जडीबुटी तथा प्राकृतिक उपचार विधि अपनाउँदा संक्रमणलाई चाँडै जित्न मद्दत मिल्छ। 

अब थप जडीबुटीको चर्चा गरौं। 

ल्वाङ 

ल्वाङ हाम्रो भन्सामा सहजै उपलब्ध हुने मसला हो। यसलाई चियालगायतका परिकारमा हालेर वा त्यसै चपाउन पनि सकिन्छ। ल्वाङमा मुख्यगरी ‘युजिनोल’ तत्त्व पाइन्छ।,जसले शरीरको दुखाइ कम मद्दत मिल्छ। वयस्क व्यक्तिले दैनिक ६ दाना ल्वाङ खान उचित हुन्छ।  

दालचिनी 

दालचिनी धूलो बनाएर तरकारी, चिया, तातोपानी, खीरलगायतका परिकारमा राखेर खान सकिन्छ। यसमा विशेषगरी ‘सिनामल्डिहाइड’ र ‘सिनामिक एसिड’ जस्ता तत्त्व पाइन्छन्। यसले शरीरको विकार तत्त्प बाहिर निस्कन सहयोग मिल्छ, जसले व्यक्तिमा स्फूर्ति बढ्छ। 
शरीरमा विभिन्न किसिमका ब्याक्टेरिया तथा फङ्गस् प्रवेश गर्नबाट बचाउन पनि यसले सहयोग गर्छ। विभिन्न परिकारमा दैनिक एक चम्चा दालचिनी खानु उचित हुन्छ। 

अदुवा 

अदुवामा विशेषगरी ‘जिन्जेरोल’ र ‘शोगोल्स’ जस्ता तत्त्व पाइन्छन्। यस्ता तत्त्वका कारण शरीरका विकार तत्त्व बाहिर जान मद्यत मिल्छ। यस्ता तत्त्वका कारण मधुमेह, क्यान्सर, मोटोपनाजस्ता समस्या हुन नदिन ठूलो भूमिका हुन्छ। त्यसैगरी श्वास–प्रश्वासको समस्या भएका व्यक्तिले नियमित अदुवाको सेवन गर्नाले समस्या कम गर्न सहयोग पुग्छ। दैनिक पाँच ग्राम अदुवा सेवन गर्नु लाभदायक हुन्छ। पोलेर पनि अदुवा खानु लाभदायक हुन्छ। 

तुलसी 

तुलसीको पात वा दानालाई चिया, तातो पानीलगायतका पेय पदार्थमा मिलाएर सेवन गर्न सकिन्छ। तुलसीमा ‘ओलेनोलिक एसिड’, ‘उर्सोलिक एसिड, ‘युजिनोल एसिड’ र ‘लिनालोल’ जस्ता तत्त्व पाइन्छन्। यसले शरीरको विकार तत्त्व बाहिर निकाल्न सहयोग मिल्छ। जसबाट श्वास–प्रश्वास प्रणाली मजबुत हुनुका साथै शरीर स्वस्थ राख्न मद्दत मिल्छ। शारीरिक मात्रै होइन, मानसिकरूपमा पनि स्फूर्ति बढाउँछ।  

बोझो 

सिमसार क्षेत्रमा पाइने बोझो पनि स्वास्थ्यका लागि लाभदायक छ। यसलाई तातो पानीमा उमालेर सेवन गर्न सकिन्छ। बोझोमा विशेषगरी ‘एसारोन’ नामक तत्त्व पाइन्छ। यस्तो तत्त्वले श्वास–प्रश्वाससम्बन्धी समस्याबाट छुटकारा पाउन सहयोग मिल्छ। खोकी लाग्ने तथा घाँटी खसखस गर्नेजस्ता समस्या भएको अवस्थामा बोझो सेवन गर्न सकिन्छ। बोझोको टुक्रा चुसेर पनि खान सकिन्छ। 

२४ असोज, २०७७, १०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।