मर्निङ वाकका लाभैलाभ 

मर्निङ वाकका लाभैलाभ 
काठमाडौंको पशुपति क्षेत्रमा मर्निङ वाक गर्दै युवा। तस्बिरहरू : प्रतिक रायमाझी

स्वच्छ वातावरणमा मर्निङ वाक गर्नाले व्यक्तिको दैनिकीमा स्फूर्ति आउन सहयोग मिल्छ। तर, मर्निङ वाक गर्दा केही कुरामा ख्याल गर्नुपर्छ। केही विधि अपनाएर मर्निङ वाक गर्नाले अवश्य नै लाभ मिल्छ। 

बिहान ६ बजेभित्र उठिसक्नु लाभदायक हुन्छ। उठिसकेपछि सबैभन्दा पहिले कम्तीमा एक गिलास उमालेर सेलाउँदै गरेको मनतातो पानी पिउनु पर्छ। पानी पिइसकेपछि दिसा–पिसाब गर्नका लागि पनि सहजता हुन्छ। पानी पिउनाले कब्जियत खुल्नसमेत मद्दत मिल्छ ।

सामान्यतः हामीले खाएको खाना १८ घण्टापछि दिसाका रुपमा शरीर बाहिर जान्छ। दिसा रोक्दा, कब्जियत तथा पायल्सको समस्या हुन सक्छ । त्यसैले दिसा रोक्नु हुन्न। दिसा गरेपछि पेटको भार पनि कम हुन्छ। परिणमस्वरुप मर्निङ वाक गर्नका लागि शारीरिक तथा मानसिक रुपमा फूर्तिलो भएको महसुस हुन्छ। 

पानीमा कागती र मह

मर्निङ वाकमा निस्कनुपूर्व तातो पानीमा कागती र मह मिसाएर पिउनुपर्छ। एक गिलास तातो पानीमा एक टुक्रा कागती र एक चम्चा मह फिटेर पिउन सकिन्छ। बिहानै कागती, पानी र मह पिउनाले माथिल्लो पेटमा पच्न नसकेको अम्लयुक्त रस (एसीडीटी) कम हुन्छ। यस्तो रस कम हुँदा ग्याट्रिकलगायत पेटसम्बन्धी समस्या कम हुन्छ। यसबाट पाचन प्रणाली मजबुत हुनुका साथै पेटसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ। र, शरीरमा पोषण तत्व राम्रोसँग पुग्छ, जसले शारीरिक तथा मानसिकरूपमा स्फूर्ति मिल्छ। 

सहज ड्रेस

पानी पिइसकेपछि मर्निङ वाकमा निस्कनुअघि हल्का किसिमका (कम्फर्टेबल) स्पोर्ट ड्रेस लगाउनु पर्छ। सामान्यतः कटनका ड्रेस लगाउनु उचित हुन्छ। जुत्ता पनि स्पोर्टस् नै लगाउनु पर्छ, जसले मर्निङ वाक गर्न सहज हुन्छ। भारी हुने तथा भद्दा किसिमका ड्रेस लगायो भने मर्निङ वाक गर्न असजिलो मात्रै होइन, हातखुट्टा मर्किने र सड्कने तथा लड्नेजस्ता दुर्घटनाको जोखिम हुन्छ। टाइट ड्रेस लगाउँदा मर्निङ वाक गर्ने क्रममा असहजता हुन्छ। यो कुरामा ध्यान दिनुपर्छ।

समय र ठाउँ

मर्निङ वाक गर्दा अत्यन्तै ख्याल गर्नुपर्ने कुरा समय र ठाउँ पनि हो। कुन समय र ठाउँमा मर्निङ वाक गर्नु ठिक हुन्छ भन्ने कुराको छनोट गर्नुपर्छ। समय र ठाउँको छनोट गरिसकेपछि मर्निङ वाकमा निस्कन सकिन्छ। ठाउँको कुरा गर्दा जहिल्यै पनि स्वच्छ, हराभरा र मनोरम प्राकृतिक वातावरणको छनोट गर्नु पर्छ। 

बिहान साढे ५ देखि साढे ७ बजेको बीचमा मर्निङ वाक गर्नु उचित हुन्छ। यो समय वातावरणीय स्व्चछताको हिसाबले पनि राम्रो हुन्छ। उज्यालो नभई मर्निङ वाकमा निस्कनु उचित हुँदैन। उज्यालो नभई मर्निङ वाकमा निस्कँदा लड्ने लगायतको जोखिम हुन्छ। 

बिहान स्वच्छ तथा स्वस्थ वातावरणमा अक्सिजनको राम्रो मात्रा हुन्छ। यस्तो समयमा मर्निङ वाक गर्नाले वातावरणीय प्रभावका कारण पनि शरीरमा पोषण उपलब्ध हुन्छ। जसले मर्निङ वाकको सार्थकता हुन सहयोग मिल्छ।

त्यसो त वयस्क र पाको उमेरका व्यक्तिले गर्ने व्यायामका लागि छनोट गर्ने ठाउँमा समेत ध्यान दिन आवश्यक हुन्छ। वयस्क व्यक्तिले उकालो–ओरालो व्यायाम गर्ने ठाउँको छनोट गर्न सकिन्छ। तर, पाको उमेरका व्यक्तिले भने धेरै उकालो र ओरालो हिँड्दा हाडजोर्नी खुस्कने डर हुन्छ। यसमा सजग हुनु पर्छ। 

शारीरिक तथा मानसिकरूपमा तयार भइसकेपछि मर्निङ वाकमा निस्कन सकिन्छ। सामान्यतः दैनिक आधा घण्टा व्यायाम गर्नु लाभदायक हुन्छ। 

मर्निङ वाक सुरु गर्दा सबैभन्दा पहिले हल्का गरी हिँड्न सुरु गर्नु पर्छ। करिव १० मिनेट वार्मअप गरेजसरी शरीर मर्काउँदै हिँडिन्छ, जसले दौड्नका लागि शरीर तयार हुन्छ। तर, एक्कासि दौडिँदा भने हात, खुट्टा सड्कने, मर्कने लगायत सम्भावना हुन्छ। 

जाडोमा सजग

गर्मीयामको तुलनामा जाडोमा मर्निङ वाक गर्न बढी सजग हुनुपर्छ। गर्मी मौसममा बाहिरी तापका कारण शरीरको तापक्रम सन्तुलित हुन सहज हुने भएकाले रक्तप्रवाहमा सहजता हुन्छ। त्यसैले हृदयघात लगायतको सम्भावना कम हुन्छ। 

जाडो मौसममा मुटुका शिरा, धमनी र मांशेपशी साँगुरिन्छन्, जसका कारण दौडिँदा रक्तप्रवाहमा अवरोध आइ हृदयघात तथा श्वासप्रश्वासमा समस्या निम्तिन्छ। गर्मीको तुलनामा जाडो मौसममा मांशपेशी तथा शरीरका बाहिरी अंग लचिलो हुँदैनन्। त्यसैले जाडो मौसममा दौडिँदा केही बाक्ला किसिमका कपडा लगाउनु पर्छ। 

मर्निङ वाक गर्दा एफएम, रेडियो तथा गीतसंगीत नसुनेकै राम्रो। रेडियो वा गीत सुनेर हिँड्दा दुर्घटनाको सम्भावना हुन्छ। त्यसमाथि पनि नकारात्मक किसिमका समाचार सुन्दा त मर्निङ वाक नै प्रत्युत्पादक हुन सक्छ। 

त्यसैगरी धूमपान तथा मद्यपान गर्नु हुँदैन। आफू हिँड्दा श्वासप्रश्वासको चालमा ध्यान दिनु पर्छ। र, आफ्नो गति त्यही चालको आधारमा अगाडि बढाउन सकिन्छ। मर्निङ वाक गरिरहँदा श्वास र चालअनुसार हरेक कदममा आफू स्वस्थ, आनन्दित तथा सिर्जनशील रहेको भन्ने किसिमका सकारात्मक किसिमका आत्मसुझाव (अटोसजेसन) लिनुपर्छ। मर्निङ वाक गर्दा हिँड्न वा श्वासप्रश्वासमा असहजता भए तुरुन्तै मर्निङ वाक स्थगित गर्नु पर्छ। र, कसैको सहारा लिनुपर्छ। 

अर्को कुरा कहिल्यै पनि एक्लै र एकान्त ठाउँमा मर्निङ वाक गर्नु हुँदैन। यस्तो गरे मर्निङ वाक गर्दा कुनै समस्या भए उद्धारमा समस्या हुन सक्छ। 

मर्निङ वाकपछि के गर्ने ?

मर्निङ वाक गरिसकेपछि नुहाउनु पर्छ। मर्निङ वाकबाट फर्किएर करिव १० मिनेट आराम गरेपछि मनतातो पानीले नुहाउनु पर्छ। नुहाएर अर्काे कपडा फेर्नु पर्छ । 

फाइदा

मनिङ वाक गर्दा सम्पूर्णरूपमा शारीरिक तथा मानसिक व्यायाम पुग्छ। यो सहज हिसाबले जो कोही व्यक्तिले गर्न सक्छ। यो खर्चिलो पनि हुँदैन। यसमा अन्य कतिपय खेल तथा व्यायामका विधिजस्तो जोखिम पनि हुँदैन। 

मर्निङ वाक गर्नाले शरीरका मांशपेशी लचिलो हुन्छ, जसले गर्दा मुख्यगरी मुटु, फोक्सो, मिर्गौला, पाचन अंगसम्बन्धी रोग लाग्ने सम्भावनाबाट बच्न सकिन्छ।

त्यसैगरी मस्तिष्क पनि स्वस्थ र सक्रिय रहन्छ। त्यति मात्रै होइन, व्यक्तिमा खुसीका रसायन सक्रिय हुन्छन्, जसले गर्दा व्यक्ति मानसिकरूपमा पनि स्वस्थ तथा फिट रहन सहयोग मिल्छ। व्यक्ति शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहँदा आनन्दले निद्रा लाग्ने, खाना रुच्ने तथा पच्ने, काम गर्न जाँगर चल्ने जस्ता लाभ लिन सकिन्छ। 

मर्निङ वाक गर्दा खानपानमा त ध्यान दिन आवश्यक हुन्छ नै। सन्तुलित तथा पोषणयुक्त खानापानमा जोड दिनु पर्छ। मोटोपना घटाउने नाममा खानै नखाइ बस्नु ठिक होइन। 
 

१० असोज, २०७७, १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।