कम्मर ‘फिट एण्ड फाइन’ राख्ने टेक्निक

कम्मर ‘फिट एण्ड फाइन’ राख्ने टेक्निक

झट्ट सुन्दा कम्मर र ढाड उस्तै लागे तापनि यी दुई फरक–फरक अङ्ग हुन्। गर्धनदेखि हिपको नजिकसम्म पुगेको भाग हो मेरुदण्ड। र, मेरुदण्डको तल्लो भागदेखि हिपसम्मको भाग हो ढाड। कम्मर र ढाडको नियमित व्यायाम गर्नाले एकातर्फ कम्मर र ढाड मजबुत र फुर्तिलो हुन्छ भने अर्कातर्फ कम्मर सेपमा आउने  भएकाले व्यक्ति आकर्षक र स्मार्ट देखिन मद्धत मिल्छ।

शारीरिक परिश्रम कम गर्ने÷गर्नुपर्नेहरूका  लागि व्यायाम बढी आवश्यक हुन्छ। कम्मर तथा ढाडको नियमित व्यायाम गर्दा कम्मर तथा ढाड दुख्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ। नियमित व्यायाम नगर्दा उमेर ढल्दै जाने क्रममा चाँडै नै ढाड कुप्रने भएकाले त्यसपछिको पेशा र दैनिकीमा समेत असर पर्न सक्छ। 

ढाड कुप्रो पर्दै जाँदा स्वयम्लाई पनि आफू उमेरभन्दा बढी नै पाको पो भएँ कि भन्ने मनोवैज्ञानिक असर पर्दछ। यसो हुँदा मानसिकरूपमा कमजोर बन्दै जाने जोखिम हुन्छ। अतः ठाडो शिर गरेर हिँड्नका लागि समेत व्यायामको आवश्यकता हुन्छ।

कोरोनाभाइरस (कोभिड– १९) महामारीको अवस्थामा घरबाहिर हिँडडुल गर्न  सङ्क्रमणको भय छ। यस्तो अवस्थामा हिँडडुल कम हुने नै भयो। यस्तो बेला फिटनेस क्लबसम्म पुगेर व्यायाम गर्नु सम्भव छैन। 

यसर्थ, यतिबेला भने घरमै बसेर कम्मर तथा ढाडको व्यायाम गर्न सकिने सहज विधिहरूको प्रयोग गर्नु उत्तम हुन्छ। त्यस्ता केही विधिहरूबारे यहाँ चर्चा गरिएको छ :

हल आसन

कम्मरको व्यायामका सन्दर्भमा सबैभन्दा पहिले सुतेर गरिने व्यायामबारे चर्चा गरौं। यस्तो व्यायामका क्रममा भुइँमा म्याट वा सुकुल ओछ्याएर सर्वप्रथम लमतन्न परी उत्तानो सुतिन्छ। त्यसपछि दुवै हातले भुइँमा टेकिन्छ र खुट्टा उचालेर टाउकोतर्फ लाँदै छाड्दै गरिन्छ।यो क्रमलाई कम्मरको अद्र्धहल आसनका रूपमा लिइन्छ। यो विधि (हल आसन) मा उत्तानो सुतेरै कम्मरको व्यायाम गरिन्छ। यस क्रममा उत्तानो सुतेर दुवै खुट्टा उचाली टाउको पछाडि लगेर भुइँ छुने कोशिश गरिन्छ।अद्र्धहल आसनको राम्रो अभ्यास गरिसकेपछि हल आसनको व्यायाम गर्नु उचित हुन्छ। उत्तानो सुतेर गरिने प्रत्येक व्यायाम १०–१० पटक गर्नु लाभदायक हुन्छ। यस किसिमको व्यायामले कम्मर दुख्ने, झम्झमाउने, सुन्निने, कम्मरमा तनाव उत्पन्न हुने, चाँडै कुप्रो पर्नेजस्ता समस्याबाट मुक्त हुन सहयोग पुग्छ।

कुइनो टेक्ने टेक्निक

अब घोप्टो परेर गरिने कम्मरको व्यायामबारे चर्चा गरौं। यो व्यायामको सुरुआतमा घोप्टो परेर कुइनाले भुइँमा टेकी चिउँडोलाई दुवै हातले अड्याएर स्थिर राखिन्छ।यस क्रममा खुट्टाचाहिँ तनक्क तन्काउनु उचित हुन्छ। कम्मरको यसखाले व्यायामलाई ‘गोही आसन’ पनि भनिन्छ। यस किसिमको व्यायाम करिव पाँच मिनेट गर्दै र छाड्दै गरी लगातार दस पटकसम्म गर्नु उचित हुन्छ। यस किसिमको व्यायामले कम्मर र मेरुदण्डबीच जोडिएर रहेका जोर्नी तथा माङ्शपेशी लचिलो हुन्छन्, जसले गर्दा कम्मर सड्कने, मर्कने र भाँचिने जोखिम कम हुन्छ।

बज्र आसन

बसेर पनि कम्मरको व्यायाम प्रभावकारी किसिमले गर्न सकिन्छ। यो प्रक्रियालाई ‘बज्र आसन’ भनिन्छ। यो व्यायाम गर्दा सबभन्दा पहिले घुँडा मारेर बसिन्छ। त्यसपछि एउटा हात पछाडि राखी अर्को हात काँधमाथि राखेर कम्मरलाई दायाँ–बायाँ मर्काइन्छ। कम्मरलाई ५–५ पटक दायाँ–बायाँ मर्काउनु उचित हुन्छ। यस आसनमा दुवै हात पछाडि लगेर एक हातले अर्को हात समाई टाउको भुइँतर्फ निहुराउँदै सिधा उभिन सकिन्छ। र, टाउको पछाडि लाँदै अगाडि ल्याउन पनि सकिन्छ। टाउको अगाडि निहुराउँदा पेटको माङ्शपेशीमा दबाब पर्छ भने टाउको पछाडि लाँदा कम्मरको हाडजोर्नीमा दबाब पर्छ, जसको परिणामस्वरूप पेट तथा माङ्शपेशीमा लागेकोे अनावश्यक बोसो पग्लिएर पेट घट्छ।पेट घट्दा मेरुदण्डको भार कम हुने भएकाले मेरुदण्ड बाङ्गिने, दुख्नेलगायतका समस्याबाट बच्न सकिन्छ।

उभिएर मर्याकमुरुक

उभिएर गरिने कम्मरको व्यायामका क्रममा सर्वप्रथम सिधा उभिएर दुवै हात सिधा माथि लगिन्छ। त्यसपछि बिस्तारै निहुरँदै हातले घुँडा छुँदै फेरि हात सिधा उँभो लाँदै गरिन्छ। माथि लगिएको अवस्थामा हातलाई बिस्तारै पछाडि लाँदै शरीरलाई नै पछाडि ढल्काउन प्रयास गरिन्छ।यस्तो व्यायाम करिव पाँच पटक गर्नु उचित हुन्छ। उभिएरै कम्मरको धेरै किसिमका व्यायाम गर्न सकिन्छ। सिधा उभिएर कम्मरलाई दायाँ–बायाँ मर्काउन सकिन्छ। उभिएर गरिने व्यायामले कम्मर मात्र होइन, सिङ्गो शरीर नै मजबुत र फुर्तिलो बनाउन मद्धत पुग्छ।

पोषिलो खानपान

शरीर मजबुत बनाउन व्यायाम मात्र होइन, खानपानमा समेत उत्तिकै ध्यान पु¥याउनु आवश्यक छ। हरिया सागपात, गेडागुडी, फलफूल तथा झोलिला खाद्य पदार्थमा ध्यान दिनु आवश्यक हुन्छ। कम्मर मजबुत बनाउनका लागि प्राकृतिक चिकित्सकको सल्लाहमा नोनी, यार्सा, स्पिरुलिना, रेइशी, गानोदर्मा, जिन्सेङ, ओमेगा, कुर्कुमिनजस्ता प्राकृतिक वनस्पति तथा जडीबुटीजन्य सामग्री उपभोग गर्न सकिन्छ।

(सुनुवार प्राकृतिक चिकित्सक हुन्)

३ असोज, २०७७, १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।