उत्तम सन्जेलको बदमासी-१० : काठमाडौं महानगरको समता स्कुल अवैध, अनुगमनपछि कारबाहीको तयारी

उत्तम सन्जेलको बदमासी-१० : काठमाडौं महानगरको समता स्कुल अवैध, अनुगमनपछि कारबाहीको तयारी

काठमाडौं : काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ बौद्धमा रहेको उत्तम सन्जेलको ‘समता स्कुल’ अवैध रहेको महानगरपालिकाले ठहर गरेको छ। महानगरले अनुगमन गरेर समता अवैध रहेको ठहर गरेको हो।

महानगरपालिकाकी शिक्षा शाखा अधिकृत विनिता महतले समताले सञ्चालन अनुमति बाहेक गोकर्णेश्वर नगरपालिकामा दर्ता भएको ‘समता शिक्षा निकेतन’को विद्यार्थी बौद्धमा रहेको ‘समता स्कुल’मा पढाएको, काठमाडौं महानगरबाट कक्षा ११ र १२ को अनुमति नलिएको र मापदण्ड अनुसार भवन नरहेको बताइन्।

‘विभागले १६ गते बौद्धमा रहेको समता स्कुलको अनुगमन गरेको थियो,’ महतले भनिन्, ‘कक्षा १० सम्मको स्कुल सञ्चालन अनुमति बाहेक अन्य कुनै मापदण्ड पालना गरेको देखिएन। यो त अवैध नै भयो नि।’

चैत १६ गते महत सहितको टोलीले समतामा छड्के निरीक्षण गरेको थियो। छड्केमा समताले महानगरको स्कुलमा गोकर्णेश्वर नगरपालिकाको विद्यार्थी पढाइरहेको र कक्षा ११ र १२ को अनुमति गोकर्णेश्वरमा लिएर काठमाडौँ महानगरमा पढाउने गरेको उकेराले समाचार प्रकाशित गरेको थियो।

अनुगमनका क्रममा आफूले उत्तम सञ्जेललाई नभेटेको र समताका प्रधानाध्यापकले गोकर्णेश्वरका विद्यार्थीलाई उतै जग्गा खोजेर स्कुल बनाउँछु भन्ने जवाफ दिएको महतले जानकारी दिइन्।

त्यस्तै महानगरको प्रशासन विभाग प्रमुख तथा सह-प्रवक्ता दीपक अधिकारीले समतामा महानगरले अनुगमन गरेको र प्रतिवेदन छिटो कार्यान्वयन गर्ने तयारी गरेको बताए।

'मुख्य कुरा तीन वटा आयो,' उनले भने, 'पहिलो कुरा अर्को स्कुलको विद्यार्थी हाम्रोमा पढाइरहेको,  कक्षा ११ र १२ को अनुमति बिना पढाएको र टहरा समेत अवैध भएको देखियो। हामीले चाँडो भन्दा चाँडो प्रतिवेदन कार्यान्वयन गर्नु भनेर शिक्षा विभागलाई भनिसकेका छौँ। अब कारबाही के गर्ने भनेर शिक्षा विभागले छिट्टै जानकारी गराउला!'

समतामा संरक्षकका रुपमा राखिएका कलाकार मदनकृष्ण र हरिबंश आचार्य र संस्थापक सन्जेलको ब्यानर।

भर्खरै सम्पन्न भएको पालिकास्तरिय परीक्षामा समेत महानगरमा पढिरहेका ८८ जना विद्यार्थीले गोकर्णेश्वर नगरपालिकाबाट परीक्षा दिएका थिए।

देशैभर सस्तोमा पढाउने विद्यालय खोल्ने भन्दै हिँडेका सन्जेलले काठमाडौं जिल्लामै दुईटा विद्यालय सञ्चालन गरेर ढाँटिरहेको उकेराको खोजमा खुलेको थियो। उनले नाफा नलिने गरी गुठी विद्यालय खोलेको भन्दै नाफा बाँड्ने प्रालिबाट समता चलाइरहेको प्रमाण फेला परेको थियो।

विभिन्न जिल्लामा जग्गा भाडा र कर विवाद भएपछि विद्यालय बन्द गरेर सम्पर्कविहीन भएका सन्जेलले काठमाडौंमा अवैध रूपमा दुइटा विद्यालयको विद्यार्थीहरूलाई एकै ठाउँमा राखेका छन्। तर, यसबारे सम्बन्धित निकायलाई कुनै पनि जानकारी गराएनन्।

उनले ‘समता शिक्षा निकेतन’ र ‘समता स्कुल’ एउटै हुन् झैँ गरी विद्यार्थी र अभिभावकलाई भ्रम छरिरहेका छन्।

उनले समता शिक्षा निकेतन गोकर्णेश्वर नगरपालिकामा खोलेका थिए जुन वर्षौंदेखि बन्द छ। काठमाडौंमा समता स्कुल खोलेका छन् जुन प्रालि अन्तर्गत सञ्चालित छन्। सन्जेल प्रालिको एकल शेयर धनी हुन्।

विद्यालय नभए पनि अझै गोकर्णेश्वरको नगरपालिकाको शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा समताको १ हजार ७१ विद्यार्थी देखिन्छ। ती सबै विद्यार्थी काठमाडौं महानगरमा पढिरहेका छन्।

समताको बदमासीलाई प्राय स्थानीय तह सरकारले सामान्य रूपमा लिएको देखिन्छ। विभिन्न स्थानीय तहको न्यायिक समितिमा समताबारे थुप्रै मुद्दा छन्। कालिकोटको जिल्ला अदालतमा सन्जेल र समता विरुद्ध मुद्दा परेको छ।

सन्जेलले समता सामाजिक संस्थाको रूपमा प्रचार गर्दै विभिन्न व्यक्तिहरूबाट सहयोग लिने गरेका छन्। तर काठमाडौँ महानगरपालिकामा समताले आर्थिक वर्ष २०७७/०७८ देखि बुझाएको लेखा परीक्षण प्रतिवेदनमा त्यस्तो कुनै सहयोग उल्लेख छैन।

नाफा मूलक संस्थाले चन्दा तथा सहयोग लिन पाउँदैन। उनले समताको नाममा उठाएको सहयोग कसरी/कहाँ प्रयोग गरेका छन् सरकारी निकायहरूमा भएका कुनै कागजपत्रमा खुल्दैन।

समाज कल्याण परिषद्मा 'समता एजुकेसन ट्रस्ट' दर्ता भए पनि त्यहाँको तथ्याङ्कमा पनि कुनै दाताहरू देखिएन। सन्जेलको समतालाई एक पछि अर्को पालिकाहरूले 'अवैध भएको र प्रक्रियामा आउन आग्रह गरिसकेको'छ। तर उनी कतै उपस्थित भएका छैनन्।

समताको आवरणमा सञ्जेलको बदमासी

२१ चैत, २०८०, १६:१४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।