कैलाश मानसरोवर यात्रा- १२ : नेपाली युवतीका लागि केरुङ दोस्रो मुम्बई अनि डान्सबार यौन कोठी
५,६२० फिटको उचाइमा रहेको डोल्माला पिक नै कैलाश परिक्रमाको सबैभन्दा कठिन यात्रा रहेछ। त्यहाँ पुगेपछिको जोखिम भनेको भिरालो ६ किलोमिटर बाटो कतै नलडी झर्नु। डोल्माला पिकबाट एक मिनेटकै पैदल यात्रामा गौरीकुण्ड देखियो। पाँच मिनेटको यात्रामा त गौरीकुण्डमै पुगिन्थ्यो।
गौरीकुण्ड पुग्न नियमित हिँड्ने बाटोबाट करिब तीन सय मिटर तल झर्नुपर्ने थियो। यो साहसिकभन्दा बढी धार्मिक यात्रा भएकाले कैलाश परिक्रमा गर्नेहरू गौरीकुण्ड गएर जल छुन खोज्नु नौलो पनि भएन। तर यति धेरै हिउँ परिरहेको थियो कि कसैले कुण्डमा जान तल झर्ने हिम्मत जुटाउन सकेनन्। किनकि भएको हिम्मतजति डोल्माला पिक चढ्दा नै सकिने रहेछ।
त्यसपछिको ध्यान कहिले तल पुगिएला भन्ने मात्रै हुने रहेछ। यता र उता हेर्दै परिरहेको हिउँ हेर्दै वाउ भन्ने त फिल्मी दृश्य मात्रै हुन्। यात्राको लक्ष्य जुथुलपुक पुगेर त्यहीँ एक रात बास बस्ने थियो।
डरलाग्दो ओरालो गौरीकुण्डसम्म मात्रै थियो। त्यसपछि पाटन जस्तो फराकिलो ठाउँ आयो। तर खुट्टाको चाल भने बढ्न सकेन। ठस् ठस् कन्दै हिँड्यो। हिउँ परिरहेकाले चिप्लिने डर उत्तिकै थियो।
समथर ठाउँमा हिँड्न थालेपछि बल्ल भोक लागेको अनुभव भयो। खानाको रूपमा प्याकिङ दिइएको थियो। स्याउ, केक, बिस्कुट अनि जुस। यात्रुहरूले आफ्नो इच्छा अनुसार अलग-अलग ड्राइफ्रुट बोकेकै थिए। ब्याग यति गह्रुँगो भइरहेको थियो कि कसैले आफ्नो ड्राइफ्रुट सक्काइदिए पनि हुन्थ्यो भन्ने लाग्ने। तर एक जनाको मात्र हो र! सबैको हालत उस्तै, सबैको इच्छा उस्तै।
देरापुकबाट पैदल हिँडेर डोल्माला पास गरेर जुथुलपुकसम्मको दुरी २२ किलोमिटर थियो। समय ८ देखि १० घण्टा लाग्ने रहेछ। बिहान पाँच बजेतिर हिँडेको आधारमा हामी त्यहाँसम्म तीनदेखि चार बजेभित्र पुग्नुपर्ने थियो। तर कसरी पुग्नु!
५ हजार ६ सय २० मिटरबाट ४ हजार ७ सय ९० मिटरमा आइपुग्दा अलि सहज अनुभव त हुन्छ होला। त्यस्तै चार घण्टाजतिको हिँडाइपछि ओरालो सक्कियो। तल टि-हाउस रहेछ। चाइनिज सुप खान मन लागेको थियो। तर होस् भनेर कालो चियातिरै लागियो। चिया अनि बिस्कुट टोकेर अब तेर्सो यात्रा। अझै तीन घण्टा पैदल हिँडेपछि बल्ल जुथुलपुक् आउने रहेछ।
माथिको तुलनामा तल आएपछि ज्यान धेरै चङ्गा भइसकेको थियो। हरियाली अनि छेउमा कलकल बगेको खोलाले मुड सुधार्न सघाइरहेको थियो।
नियमित कार्यक्रम अनुसार अब जुथुलपुक्को गेस्ट हाउसमा रात बिताएर भोलिपल्ट ६ घण्टा पैदल हिँडेपछि कैलाश परिक्रमा समापन हुने रहेछ। भोलिपल्टै बसमा साँगा पुगेर एक रात बस्न। अनि तेस्रो दिन केरुङ पुगेर विश्रामपछि रसुवागढी हुँदै काठमाडौँ।
उता दार्चेनमा भएको समूह हामी डोल्मालातिर उक्लिएकै दिन हिँडिसकेको रहेछ। उनीहरूसँगै क्याटरिङ टिम पनि साँगाहुँदै केरुङ पुगिसकेको रहेछ।
बीचमा आयोजकले हामीलाई जुथुल्पुक बस्ने या सिधै दार्चेन पुग्ने विकल्प दियो। यदि सिधै दार्चेन जाने भए जुथुल्पुकदेखि दार्चेनसम्म हिँड्नु नपर्ने गाडीको सुविधा हुने भनेपछि हामी त्यो रात जुथुल्पुकमा नबसी सिधै दार्चेन जान राजी भयौँ।
छ किलोमिटरको यात्रा छोट्टियो। गोडाको गति आफसेआफ बढ्न थालेको अनुभव भयो। लख्र्याक लख्रयाक गर्दै साँझतिर जुथुलपुक पुगियो। गाडी होला भनेको त जिप रहेछ। एक पटकमा चार जना मात्र चढ्न मिल्ने।
कुर्नुपर्ने भयो। नजिकै सानो होटेल थियो। भित्र गएर यसो भित्तातिर हेरेको चिनिया चाउचाउ रहेछ। सकेसम्म मासु नखाउँ भनेर भेज प्याक खोजे। रातो प्याकेट थियो। त्यही मगाए। ढक्कन खोल्यो, मसला सरर्र हाल्यो अनि घ्वाल्ल तातोपानी। चाउचाउ तयार।
केही बेर राखेर सुरूप्प पारेको त बबाल पिरो रैछ। रङकै आधारमा चाउचाउ चिन्नुपर्ने रहेछ। पिरो खाने भए रातो नत्र अर्को। चिनिया भाषामा लेखिएको थियो। त्यहाँ न नेपाली बुझ्ने थिए न अङ्ग्रेजी। गाइडहरू पनि थिएनन्। त्यसैले इसारामै चाउचाउ मगाएर खाँदा पिरो न पिरो परेछ। र्याल निकाल्दै बल्ल बल्ल आधा मात्र खाएको थिएँ जिप आयो। २० रुप्पे तिरेर जिपतिर लागियो।
अहो जिपमा बस्न पाउँदाको आनन्द। बाटो खल्ट्याङखुल्टुङ नै थियो। तै पनि मजै आयो।
केही बेरमा २४-२५ दार्चेनको गेस्ट हाउसमा भेला भइहाले। अब उचाइ भन्दा पनि ओरालीतिरको यात्रा थियो। ४ हजार ७ सय मिटरबाट केरुङ २ हजार ९ सय मिटर।
दार्चेनबाट साँगासम्मको यात्रा गरेर एक रात बसेर सिधै नेपालतिर लाग्ने वा दार्चेनबाट सिधै केरुङ गएर बिहानै अध्यागमन पुगेर नेपालतिर खान खाने भन्ने अर्को प्रस्ताव आयो।
केरुङबाट दार्चेन जाँदा पो २ हजार ९ सय बाट एकै पटक चार हजार सात सय मिटरमा पुगिने भएकाले स्वास्थ्य समस्याको डर थियो। त्यसैले त्यहाँ पुग्न पनि तीन दिन लागेको थियो। केरुङबाट साँगा, साँगाबाट मानसरोवर अनि दार्चेन।
बिहानै उठेर खाजा खाएपछि गुटुङटुङ बेलुकासम्म केरुङ पुगिने भनेपछि मेरो भोट चैं केरुङ नै भयो। त्यहाँको रात्रिकालीन जीवन अझैँ हेर्न लोभ पनि थियो भित्रभित्रै। अर्को एकै समूहको अधिकांश सदस्यहरू केरुङ पुगिसकेकाले के अलग-अलग बस्नु भन्ने पनि भयो। सबै जना सिधै केरुङ जान सहमत भए।
OOO
खाना खाएर ओछ्यानमा पल्टिएको त भुसुक्कै। एकै पटक बिहान कल्याङमल्याङले निन्द्रा ब्यूँझियो। चिया नास्ता गरेर सबै बसमा पुगे। अधिकांश थाकेकै थिए। मानसरोवर अनि कैलाश पर्वत कस्तो होला भन्ने उत्सुकता मेटिइसकेको थियो।
त्यसैले फर्कँदा बस शान्त भयो जाँदाको भन्दा। बस टक्क मानसरोवर अगाडि पुगेपछि रोकियो अनि गाइडले भने ल कैलाश पर्वतको परिक्रमा पुरा भयो। सबैले एकै पटक भने’ बम बम भोले।‘
अब साँगामा खान अनि सिधै केरुङमा बास। बाटो राम्रो थियो अनि बस पनि सुविधाजनक। तर १२ घण्टा बसेको बस्यै गर्नुपर्दा लास्टै झ्याउ लाग्ने। साँगामा खान खाने बेलामा यसो किनमेल गर्ने समय दिन्छन् कि भनेको त्यो पनि दिएनन्। सरासर एक होटेलमा गएर कपाकप खाना अनि सिधै बसमा। तर समयमै केरुङ पुगिने भइयो भनेर खुसी नै लागेको थियो।
बीचमा भाइरल झरनामा रोक्ने कुरा भएको थियो तर रोकिएन। जाँदा नै पर्याप्त फोटो खिचिएकै थियो। त्यसमा थाकेको बेलामा के को रहर!
केरुङको रात्रिकालीन व्यवसायमा नेपालीहरूको संलग्नताबारे रसुवागढीबाट आएर दुई दिन बस्दा नै केही भित्री कुरो थाहा पाएको थिएँ। केरुङ नेपालीले नै धानेको देखियो। उनीहरूले धानेका त छन् तर कसरी? उनीहरूको अवस्था चैं के रहेछ? खसखस बाँकी थियो।
दुई दिनको बसाइमा केरुङमा परिचित भएका केही नेपालीले फर्कँदा यतै रात बसियो भने नाइट क्लब घुमाउँछु भनेका थिए। घुमियो पनि बिहान तीन बजेसम्म। रात्रिकालीन व्यवसायमा नेपालीको भूमिका के रहेछ भन्ने खसखस जब मेटियो नि दिक्कै लाग्यो। नेपाली चेलीहरूका लागि केरुङ दोस्रो मुम्बई अनि बारहरू यौन कोठी समाज भइसकेका रहेछन्।
कसरी? विस्तृत अर्को भागमा।
कैलाश-मानसरोवर यात्रा
मंसिर ५, २०८० मंगलबार १९:५९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।