कैलाश-मानसरोवर यात्रा- ११ : डोल्माला पासमा गाइडले रिसाउँदै भने’ तपाईँलाई श्रीमतीको ज्यानको माया लाग्दैन!
चार हजार नौ सय मिटरमा रहेको देरापुकबाट कैलाश पर्वत परिक्रमाका लागि पाँच हजार ६ सय २० मिटरको डोल्माला पास पार गर्न बिहानै गेस्ट हाउसबाट उठेर पैदल यात्रा सुरु भएको प्रसङ्गमा पुगेर कैलाश-मानसरोवर यात्राको १० औँ शृङ्खला सकिएको थियो।
यो यात्राको अझ तीन वटा जति शृङ्खला बाँकी नै छन्। कामको चाप अनि दशैँको रापतापले लेख्छु भन्दाभन्दै त्यतिकै अड्किएको शृङ्खला अब बिट मार्नेगरी पुन सुरु गरेँ! यो बीचमा दोल्माला पिक कट्दाको अनुभव, कैलाश-मानसरोवर यात्रामा देखिएका अद्भुत दृश्य अनि केरुङको रात्रिकालीन जीवनबारे लेख्नेछु।
OOO
बिहान झिसमिसेमै पैदल कैलाश परिक्रमा गर्ने समूह भुईँ तलामा झरिसकेका थिए। तातो चिया अनि बिस्कुटसँगै बाटोमा खान खानाको पकेट लिएर सबैजना हिँड्न तयार भए। बाहिर अँध्यारै भएकाले सबैले बोकेको टर्च बल्न थाल्यो। पैदलयात्री हैन टर्चको लाइटको लाइन देखियो।
यति नजिकबाट कैलाश पर्वतको दर्शन हुने यो अन्तिम क्षण थियो। तर बाहिर धुम्मै भएकाले कैलाश पर्वतको दर्शन हुन सकेन।
१२ किलोमिटर पैदल हिँडेर अति उच्च उचाइ ५ हजार ६ सय २० मिटर उचाइ पार गरेर एकै पटक ४ हजार सात सय ९० मिटरमा रहेको जुथुलपुक पुग्ने कार्यतालिका थियो।
देरापुकसम्म ४७ जनाजति पुगेका थियौँ। डोल्माला पिक पार गरेर गौरी कुण्डको दर्शन गर्ने समूह २४ मा झर्यो। देरापुकबाट दार्चेन फर्किनेहरूलाई नै क्यामरा जिम्मा लगाएर पठाऊँ कि भन्ने नलागेको हैन। तर यहाँसम्म त बोकेर आइयो अब किन दामीदामी फोटो मोबाइलको भर पर्नु भनेर साथमै बोकेँ।
सबैजना लाइनमा बसेर सुस्तसुस्त हिँड्न थाले। गाइडहरू छरिएका थिए। सबैभन्दा पहिला, बीचमा अनि सबैभन्दा अन्तिममा। जुन ट्राभल्सले लगेको थियो त्यसैले दिएको टोपी अनिवार्य। ब्याग अनिवार्य। ज्याकेट इच्छा अनुसार।
सबैको ब्यागमा फरक-फरक नम्बर लेखिएको थियो। म १६४३ नम्बरको। अनि टोपी एकै कलरको। यात्रामा आफ्नो समूहमा रहेकाहरू सबै सँगै छन् कि छैनन् या कसैलाई बीचमा केही भयो कि भनेर थाहा पाउन टोपी र ब्यागको प्रयोग हुने रहेछ। राम्रै आइडिया हो।
दोल्माला पास गर्दा अक्सिजन कम भएर समस्या होला कि भनेर एक-एक लिटरको अक्सिजनको सानो सिलिन्डर बोकेका थिए अधिकांशले। मैले दुई वटा बोकेको थिएँ। धूम्रपान गर्ने लतका कारण हिँड्दा स्याँस्याँ हुने नै भयो। जब उकालो सुरु हुन्छ तलैबाट फिस्सफिस्स अक्सिजन लिँदै उकालो लाग्नै योजना थियो मेरो।
तर हुन्न रैछ। आकस्मिक रूपमा अक्सिजनै चाहियो भने मात्र लिनुपर्ने रैछ। तलबाटै अक्सिजन लिँदै उकालो लाग्दा त थप जोखिम पो हुने रहेछ। गाइडले हुन्न भनेपछि मेरो योजना चौपट।
पहिला त तेर्सो नै थियो। करिब आधा घण्टाको पैदल यात्रापछि उकालो आयो। उकालोमा हिँड्न सजिलो होस् भनेर अलि घुमाउरो बाटो बनाइएको रहेछ। आकस्मिक रूपमा उद्धार गर्नुपरेको खण्डमा एम्बुलेन्ससम्म गुड्न सक्ने आकारको बाटो थियो।
स्थानीयहरू हिँड्न छोटो बाटो पनि थियो। तर ठाडै उकालो। केही यात्रीहरू चाँडो हुन्छ भनेर त्यही ठाडो उकालोतिर लागे। गाइडले हुन्न हुन्न भन्दाभन्दै उनीहरूले टेरेनन्। सास बढेर ढल्लान् भन्ने जोखिम। ‘यी नेपाली भनेकै मान्दैनन्। यस्तो ठाउँमा आएर त ज्यानको माया गर्नु नि’ भन्दै गाइड रिसाए।
त्यति हतार गरिहाल्नुपर्ने केही थिएन। म, श्रीमती, बैकुण्ठदाईसहित पाँच जनाजति सबैभन्दा पछाडि नै थियौँ। परिचयहरूसँगै हिँड्दा गफ हुने नै भयो। गाइडले सकेसम्म नबोली सुस्तरी एकै गतिमा हिँड्न सुझाव दिइरहेका थिए।
डोल्माला पास गर्दै कैलाश पर्वत परिक्रमा गर्न विदेशीहरू मात्रै थिएनन्। स्थानीयहरू पनि टन्नै थिए। चिनिया अनि तिब्बतीमूलका टन्नै थिए यात्रामा। केही त घिस्रिँदै परिक्रमा गर्नेहरू पनि थिए। बाटोमा फाट्टफुट्ट घोडा चलिरहेकै थियो। घोडामा गैर आवासीय भारतीय नागरिकहरू थिए।
सुस्तरी-सुस्तरी हिँडे पनि निकै गाह्रो भयो यात्रा। तेर्सोमा हिँड्दा त यस्तो छ उकालो कसरी चढ्ने होला! मनमा यस्तै प्रश्न खेलिरहेको थियो। परिक्रमा सफल भए गजबै भइहाल्यो, सफल नभए पनि बिचैमा गम्भीर केही नहोस् भनेर प्रार्थना गरेँ।
आफ्नो ज्यानको चिन्ता लाग्ने नै भयो। वैकुण्ठदाई फिट हुनुहुन्थ्यो। श्रीमती सावित्रीलाई चिसोको एलर्जीसँगै हल्का दमको सङ्केत देखिएको धेरै भइसकेको थियो। कतै सक्दिनन् कि भन्ने लागेर पहिल्यै परिक्रमामा नजान फकाएको पनि हो। तर कैलाश-मानसरोवर यात्राको योजनाकारै उनी। 'हैन जान्छु' भनेपछि कसको के लाग्छ र। केही होला कि भनेर उनीसँग पनि दुई बोतल अक्सिजन थियो साथमा।
डोल्माला पिकको फेदमा पुग्नुभन्दा अगाडिबाटै फुसफुस हिउँ पर्न थालिहाल्यो। केही हिमाली क्षेत्र घुमेकाले प्राकृतिक हिउँ मेरा लागि नौलो भएन। सावित्रीले फ्रिज बाहिरको हिउँ छोएको यो नै पहिलो थियो। कपास झरेजस्तै फुरफुर हिउँ परेको दृश्य आफैँमा मनमोहन हुने नै भयो।
क्यामरा चैं नबोकेकै भए हुने भन्ने बीच बाटोमै लागिहाल्यो। पहिला गर्दनमै झुन्ड्याएको थिए। माथि जान थालेपछि त गर्दनै लतार्लाजस्तो गह्रुँगो भएपछि ब्यागमा राखेको थिए। हिउँ पनि पर्यो। क्यामरा निकाल्ने सम्भावनै रहेन। बेकारमा भारी मात्र भयो। तै पनि डोल्माला पिकमा त कसो निकाल्न नसकिएला र भन्ने आस बाँकी नै थियो।
हिउँमा रमाउँदै सुस्त सुस्त दोल्माला पिकको फेदीमा पुगियो। यसो टाउको उठाएर हेरेको उकालो त्यति ठाडो हैन। घुमाउरो थियो बाटो। तर तेस्रै हिँड्दा त हालत खराब भइसकेको थियो। अलिकति उकालो चढ्दा पनि फोक्सो मुखबाट निस्किएर भाग्छ कि क्या हो जस्तो लागिसकेको थियो।
हिउँबाट जोगिन बर्सादी लगाइसकेका थियौँ। ग्वाम्लाङ छोप्ने खालको बर्सादी लगाउनुपर्ने रहेछ। तल अलग अनि माथि अलग लगाउँदा अप्ठ्यारो हुन्छ भनेर पहिल्यै त्यस्तै किन्न भनेको थियो ट्राभल्सले।
बिस्तारै सावित्री पछि-पछि पर्न थालिन्। म उभिन खोज्थे। तर बीचमा रहेको गाइड आएर पाखुरा समातेर ‘चलो चलो’ भनिहाल्ने। सकेसम्म रेस्ट गर्न नदिने रहेछन्। उच्च भाग भएकाले जति सकिन्छ हिँडिरहने। केहीबेर आराम गरेर हिँड्दा झन् गाह्रो हुन्छ भनेर उभिन नदिने।
फेदीबाट २५% उकालोसम्म बूढाबूढीसँगै थियौँ। त्यसपछि त उनी निकै तलै परिन्। वैकुण्ठ दाइ अनि गाइड उनीसँगै थिए। माथि पुगेर एकैछिन उभिएर हेर्थेँ। उनले नीलो बर्सादी ओढेकी थिइन्। मैले पहेँलो। जब नीलो बर्सादी देखिन्थ्यो अनि म उकालो लाग्न थाल्थेँ।
हिँडेको हिड्यैँ। तिब्बतीमूलका यात्रीहरू ‘ओम मनेपेमे हुँ’ लाई हामीले दोहोरी गाउँदा भाका हाले जसरी भाका हाल्दै गाउँदै हिँडिरहेका थिए। यता पाइलै सार्न कठिन। अब त न तल झर्नु न उकालो लाग्नु जस्तै बनायो।
लौरोमा छाती अड्काएर यसो माथितिर हेरेँ। आडैमा गाइड’ चलो’ भन्दै उभिएका थिए। धेरै भारतीय पर्यटक आउने भएकाले उनीहरू फाट्टफुट्ट हिन्दी भाषामा अभ्यस्त थिए। ‘अब कितना है’ भनेको त्यस्तै तीन सय मिटरमाथिको थुम्को देखायो।
‘ए नजिकै रहेछ’ भन्ने भयो। तलतिर फर्किएर हेरेँ। नीलो बर्सादी बामे सर्दै उकालिइरहेको थियो।
जुत्ता गोल्डस्टारको थियो। ग्रिप राम्रै थियो। निरन्तर हिउँ पर्दा बाटोमा हिउँ जमिसकेको थियो। अलिअलि चिप्लिन थाल्यो। उसै त हिँड्न कठिन। त्यसमा झन् चिप्लिएला कि भन्ने डर भएपछि थप सकस हुने नै भयो।
गाइडले डोल्माला भनेर देखाएको थुम्को नजिकै आइपुगे। हामीसँगै हिँडिरहेका तिब्बतीमूलकाहरुले झोलाबाट ध्वजा निकालेर बाँध्न थाले। डोल्मालाबाट सिधै ओरालो लाग्ने हो भनेकाले ढुक्क भइयो ल आइपुग्यो भनेर तर त्यहाँ डोल्माला पिकको कुनै सङ्केत थिएन।
यसो मुन्टो उचालेर हेरेको त त्यहाँ पुग्नुभन्दा दोब्बर उकालोमाथि अर्को थुम्को रहेछ। यसो गाइडतिर हेरेँ। उनी फिस्स हाँसे। ल आएछ भनेर फटाफट हिँड्छन् भनेर तलकै थुम्कोलाई डोल्माला हो भनेर भनेका रहेछन्।
हिँड्नुको विकल्प थिएन। छाती पनि चस्स भएको हो कि जस्तो लाग्ने। अक्सिजन लिऊँ कि क्या हो भनेर गाइडलाई सोधेको’ अभि नहीं’ भनिदियो। अब त बामे सर्ने पनि हैन घिस्रिने हो।
लन्ठ्याङ-लन्ठ्याङ गर्दै अर्को थुम्कोमा पुगे। त्यो पनि डोल्माला पिक होला जस्तो लागेन। परिक्रमा गर्न गएका केही यात्री हात जोडेर,आँखा चिम्म पार्दै प्रार्थना भने गरिरहेका थिए। त्यस्तो त तल पनि गरेकै हुन्। नजिकै ठुलो धुपदानी थियो अनि त्यसमा धूप सल्काउँदै प्रार्थना गरिरहेकाहरू पनि थिए। यो चैं अलि नौलो लाग्यो। नजिकै खादा मालाहरू अनि ध्वजाहरू तर्साइएको थियो। खादाहरूले बोर्ड छोपेको हो कि क्या हो जस्तो लागेर यसो हटाएँ।
त्यहाँ लेखिएको थियो’डोल्माला पिक, ५,६२० फिट।
अहो. आइपुगिएछ नि अक्सिजनै नलिई!
डोल्माला हिन्दूहरूका लागि मात्रै हैन बुद्ध, जैन अनि सिखका लागि पनि उत्तिकै धार्मिक महत्वको स्थान रहेछ।
हिउँ मस्त परेकाले ब्यागभित्रको क्यामरा निकाल्ने प्रयास गरिन। हात जोडेर प्रार्थना गरेँ। अब त्यहाँ बीचमा धूप बालेर पूजा गर्छन् भन्ने थाहा भए पो धूप बोक्नु! धूप थिएन। बडेमानको धूपदानीमा धुलो धूप हालिएको थियो। मगमग बास्ना आइरहेको थियो काठमाडौँको बौद्धतिर घुम्दाको जस्तै वासना।
धूपदानीमा चलाए। चारैतिरको तस्बिर खिँचे अनि श्रीमती कुर्न थालेँ।
डोल्माला पिकमा पाँच मिनेट पनि उभिन दिन्नन् भनेर कसैको संस्मरण पढेको थिएँ। उच्च स्थानमा अक्सिजनको झन् कमी हुन्छ भनेर होला भन्ने लागेको थियो। तर म झन्डै १५ मिनेटै बसेँ त्यहाँ। कसैले केही भनेनन्। अरू पनि उभिएकै थिए।
म श्रीमतीलाई कुर्न बसेको थिएँ। नत्र त ओरालो गुटुङटुङ लागिहालिन्थ्यो चलो भनिहाल्ने गाइड पनि थिएनन्। उनी ओरालो लागिसकेका थिए।
पिकमा बस्दा घोडा चढेर परिक्रमामा हिँडेकाहरूको सङ्ख्या बढ्न थाल्यो। स्थानीय जो घोडालाई दोहोर्याइरहेका थिए उनीहरूमध्ये केही महिलाको पिठ्युँमा साना नानीहरू पनि थिए। कसैले पाँच-छ वर्षका सन्तानलाई दोहोर्याएर आइरहेका थिए। उनीहरूमा न स्याँस्याँ न फ्याँफ्याँ।
बढो मनमोहन दृश्य। धार्मिक भाव मनमा आउने भइहाल्यो। यता हेर्यो हिउँ, उता हेर्यो हिउँ। फरफर फरफर ध्वजा फर्फराएका। यात्राकै उच्च भाग त भयो नै त्यहाँ पुगेपछि कैलाश पर्वतको परिक्रमा पनि सफल हुने भइहाल्यो। अब ओरालो त हो।
बिस्तारै बामे सर्दै सावित्री आइपुगिन्। वैकुण्ठ दाइ र गाइडसँगै थिए। सावित्रीको ब्याग गाइडको पिठ्युँमा थियो। सबै टुसुक्क बसे। गाइडले ‘अब त अक्सिजन चाहिँदैन नि’ भनेपछि उनले टाउको हल्लाइन्।
गाह्रो परेछ कि क्या हो!
म नजिकै गएको मात्र थिए गाइडले अलि रिसाउँदै भने’ तपाईँलाई त श्रीमतीको माया लाग्दै रैनछ।‘
बीचमा सावित्री अक्सिजन कम भएर फत्र्याकफत्र्याक भइछिन्। ब्यागमा राखेको एक लिटर अक्सिजन दिएपछि बल्ल बल्ल अलि सहज भएर डोल्माला पासमा आइपुगेकी रहिछन्। दोल्माला पासतिर उकालो चढ्ने कि ओरालो झर्ने? तल झार्नुभन्दा डोल्माला पास} नजिक भएको अनि तत्काल उकालो सकिएर ओरालो झर्दा उचाइ घटेसँगै जोखिम कम हुन्छ भनेर मात्र पासतिर ल्याएका रहेछन्।
बीचतिरै गाह्रो भएको भए त उल्टो देरापुक कुदाउनुपर्ने रहेछ।
जानाजान छाडेर हिँडेको त हैन। अलि अगाडि बढेपछि अर्को गाइडले 'चलोचलो भन्दै बस्नै नदिएकाले धेरै अगाडि भएको थिएँ। नियाउँरो हुनु बाहेक मसँग विकल्प थिएन। मेरो अनुहारको भव बदलिएको देखेर गाइडले 'आत्तिनु पर्दैन अब' भन्दै ढाडस दिए।
‘अन्त ट्रेकिङ जाँदा गाह्रो भयो भने अक्सिजन लिएर पनि उकालो नचढ्नु है,’ भने गाइडले।
यता हामी गफ गरिरहेका थियौँ उता एउटा घोडा गर्लम्मै लड्यो। परिक्रमा गर्न घोडा चढेका यात्रु पुर्लुक्कै लडे। धन्न घोडा समाइरहेका व्यक्तिले तीनलाई समातिहाल्न भ्याए। नत्र ओरालोबाट झरेर सिधै तल। त्यति गर्दा पनि ज्यान दर्खराइहाल्यो। त्यही जोखिम हुने भएर हाम्रो टोलीको गाइडले घोडा चाहिने हो भने परिक्रमामै नजानु भनेका रहेछन् बारम्बार।
एकैछिनको विश्रामपछि ओरालो सुरु भयो। अहो! ओरालो त झन् गाह्रो पो। स्वाँस्वाँ त घट्दै थियो। तर टेकेको ठाउँमा खुट्टा अड्याउनै कठिन। चिप्लो न चिप्लो। यता र उताका ढुङ्गाको सहायता नलिए खुरमुरिएर एकै पटक तलतिर।
ओरालोमा पनि बामे नै सरियो। केही समय बामे सरेपछि अलि तेर्सोजस्तो ठाउँबाट तलतिर ताल देखियो।
गाइडले भने’यही हो गौरी कुण्ड’
निकै तल थियो गौरी कुण्ड। त्यो देवी पार्वतीले स्नानका लागि प्रयोग गर्ने कुण्ड भएको जनविश्वास रहेछ। निरन्तर हिउँ परेकाले वरिपरि छपक्कै ढाकेको थियो। केहीले जल लिन कुण्ड जाने प्रयास नगरेका हैनन् तर मौसम अनुकूल थिएन। सम्भव भएन।
घोडा चढेर परिक्रमामा हिँडेकाहरू लड्ने डरले घोडा छाडेर घिस्रिँदै हिँडिरहेका थिए। अब निरन्तर ६ किलोमिटर ओरालो झरेर जुथुलपुक पुगेपछि बल्ल तेर्सो यात्रा सुरु हुन्छ।
धन्न परिक्रमाको सबैभन्दा कठिन दोलाम्ला पास भने पास भयो।
पुन गाइडको गाली खान मन थिएन। त्यसैले सावित्रीलाई अगाडि लगाएर म पछिपछि हिँडे।
कैलाश-मानसरोवर यात्रा
कात्तिक २३, २०८० बिहीबार १७:५६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।