कैलाश मानसरोवर यात्रा-७ : पहिला मानसरोवरमा डुबेर स्वेच्छिक मृत्युवरण, अहिले सरोवरभित्र नुहाए १० लाख जरिवाना
विस्तारै चल्ने हावाको बेग पनि थाहा पाइने। ताराहरू सिधै मानसरोवरमाथि आएर टक्क बसेको जस्तो देखिने। सुनसान। अति सुनसान।
000
बेलुकाको खाना खाएर प्राय सबै तीर्थयात्री मानसरोवरको किनारैमा रहेको धर्मशालाभित्र सुत्न गइसकेका थिए। त्यहाँ पनि इन्टरनेटको सुविधा थियो। तर कसले चलाउनु।
हाम्रो टोलीको नेतृत्व गर्नुभएको १००८ स्वामी हरिहरानन्द महाराजले कैलाश पर्वत देखिनेतिर औँलाले देखाउँदै भन्नुभएको थियो, ‘यसो राती उठ्दा त्यता हेर्नु है दैविक चमत्कार देखिन सक्छ।’
यो उहाँको तेस्रो यात्रा थियो कैलाश-मानसरोवरको। उमेर ७८। तर, निकै फुर्तिलो।
विहान साढे २ देखि चार बजेकोबीचमा कैलाश पर्वतबाट ज्योति बल्दै मानसरोवरमा आएर विलिन हुने अनि केही समयमा त्यही ज्योति मानसरोवरमा उत्पत्ति भएर कैलाश पर्वत जाने गरेको उहाँले भन्नुभयो।
त्यो चैँ शिव पार्वती विहानै नुहाउन आएको रे। भोलिपल्ट कृष्ण अष्टमी थियो। त्यसैले १२ बजेपछि थप दैविक चमत्कार देखिने र आज कैलाश पर्वतको दर्शन नभए पनि भोलि पक्का हुने उहाँको विश्वास थियो।
गाइड जो पटक पटक मानसरोवर पुगेका थिए, उनीहरूसँग हरिहरानन्द महाराजको दाबीबारे सोध्दा 'हो त' भने।
‘यहाँका स्थानीयले त पटक-पटक त्यस्तो दृश्य देखेका छन्। मैले पनि एक पटक देखेको थिएँ’, हामीसँगै भएका नेपाली गाइड सीताराम राईले भने।
केही गाइडको मोबाइलमा खिचेको तस्बिर पनि देखियो।
त्यो शिव पार्वती मानसरोवरमा नुहाउन आएको हो या पुच्छ्रे तारा झरेको दृश्य हो एकिन त भन्न सकिन तर ज्योति भने थियो।
सार्वजनिक शौचालयको अवस्था त्यति राम्रो थिएन। अब अन्न ज्यानमा हालेपछि फाल्नु पनि पर्छ नै। मानसरोवरको किनारामा किन यत्ति हेलचेक्र्याइँ गरिएको होला भन्ने लाग्यो।
किनकी धर्मशालाको पर्खाल बाहिर मानव बिष्टा टन्नै थिए। कतिखेर पानी पर्छ ठेगान नहुने ठाउँ। पानी परेपछि ती मानव मल बगेर जाने त त्यही पवित्र मानिएको मानसरोवरमै त हो।
अनि त्यति धेरै विश्वास गरिएको सरोवरमा मानव मल मिसिनबाट रोक्न गतिलो शौचालय चैँ किन नबनाएको होला! तल-तल त्यत्रा सुविधा सम्पन्न होटलहरू बनाउन दिएको चीन सरकारले त्यहीँ चैँ किन भवन बनाउन नदिएको होला!
किनकी मानसरोवरबाट त्यस्तै १० मिनेटको पैदल दुरीमा बस्ती थिए, जहाँ नयाँ संरचनाहरू बनेकै थिए। अब यो कसलाई सोध्ने? जानकारी दिनसक्ने कोही थिएनन्।
पेट पनि रित्तो पार्ने अनि शान्त मानसरोवर पनि हेर्ने भन्दै धर्मशालाको कोठाबाट बाहिर निस्किएँ। यताउता नहिँड्नु है सेक्युरिटीले हेरिरहेका हुन्छन् भनेकाले दायाँ बायाँतिर लाग्ने हिम्मत गरिएन। बेकारमा किन जोमिख मोल्नु।
धर्मशालाको पूर्वतिर (काठमाडौँको दिशा अनुमान अनुसार) भएको ढोकाबाट बाहिर निस्कदा ठ्याक्कै मानसरोवर पुगिहालिने।
गजबको दृश्य। रातको बेलामा झन् सुन्दर सरोवर। लाइट बालेर मानवमल कुल्चनबाट जोगिदै अलि किनारसम्म पुगेँ। केही फोटो खिँचे। चित्त बुझ्दो आएन। त्यसपछि पलेटी कसेर बसेँ किनार छेउँ।
चकमन्न रात। आकाश सिधै मानसरोवरमाथि आएर लमतन्न सुतिरहे जस्तै दृश्य। ताराहरू त्यही मानसरोवरमाथि टिलपिल टिलपिल गरिरहेका। स्वर्गमा म एक्लै छु भन्ने भाव आयो मनमा। बढो आनन्ददायी दृश्य। साच्चै गजबको स्थान। देैविक।
बेलाबखत कैलाश पर्वत देखाइएकोतिर मुन्टो बटार्दै हेरेँ पनि। तर के देखिनु। अन्धकार थियो।
ठ्याक्कै यहीँनिर हो कैलाश भन्ने पनि भेउ भएन। उज्यालो रहेसम्म बादल टम्मै लागेको थियो। नजिकैको अर्को हिमश्रृंखला भने खुला थियो फेरि। कैलाश पर्वतको विशेषता त्यही रहेछ। कतिखेर छ्याङ्गै देखिन्छ अनि कतिखेर ढपक्कै छोपिन्छ पत्तै नहुने।
मनमनै भोलि त कसो दर्शन नहोला भनेर फर्किए धर्मशालाको कोठातिर।
तर, मौसम न हो। के भर! कैलाशको दर्शन नगरी फर्कनेहरूको यात्रा विवरण पनि पढिएको हो। कतैै !
अलग-अलग खाट। ओढ्ने, ओच्छ्याउने अनि सिरानीसम्मै सफा। सामुहिक बसाइ भए पनि सुत्ने व्यवस्था चैँ राम्रै हो धर्मशालाको।
हरिहरानन्द महाराज 'ॐ नमो नारायण' भन्दै सुत्न पल्टिएपछि कोठामा गफ गर्ने अवस्था पनि भएन। सबै सिरकमा गुट्मुटिए। कतिखेर आँखा लाग्यो पत्तै भएन। अचम्मैसँग मस्त निदाइयो।
०००
कल्याङमल्याङले आँखा खुल्यो। मोबाइल बिग्रिएकाले ब्यागतिरै थन्किएको थियो। घडी लगाउने बानी छैन। श्रीमतीलाई इशाराले सोधे, ‘कति बज्यो?’
‘६’
लौ दैविक चमत्कार हेर्ने समय त सुतेरै बिताइएछ।
सरोवर गएर नुहाउने लगायतको तयारीमा लागे सबैजना। म भने कपडा लगाएर बाहिर निस्किएँ। अलि पर तीन-चार जना झुरुप्प भएर मोबाइलमा केही हेरिरहेका थिए। त्यतै लागेँ। त्यही दैविक चमत्कारको तस्बिर रहेछ।
यसो मोबाइलको स्क्रिनमा हेरेँ। भिडियो हैन तस्बिर थियो। कैलाश पर्वतबाट स्टेप स्टेपमा बल्दै निभ्दै गरेर एक ज्योती मानसरोवरमा आएर बिलाएको आफ्नै आँखाले देखेँ भन्दै थिए एकजना।
होला, अब आफू उठिएन। अहो मैले त हेर्नै पाइन भनेर चुकचुक पनि लागेन।
झट्ट याद आयो, ‘कैलाश खुल्यो त !’
धर्मशाला छिर्ने उत्तरतिरको मुल ढोकाबाट माथितिर हेरे कैलाश देखिन्छ भनेकाले त्यतै हेरे। हैट! देखियो तर आधा मात्र। त्यसमाथि त बादल।
अनि ज्यान तन्काउँदै धर्मशालाको गेटबाट बाहिर निस्किएर मानसरोवरको किनारामा पुगेँ। नुहाउने क्रम जारी थियो।
श्रीमतीलाई चिसोको एलर्जी। नुहाउने कुरा भएन। ‘नुहाउनैपर्छ हो?’ भनेर हरिहरानन्द महाराजलाई सोध्दा ‘मुख्य कुरा कैलाश परिक्रमा हो। यहाँ त मुख धोए पनि उत्तिकै पापमोचन हुन्छ’ भनिसक्नुभएको थियो।
मैले पापमोचनको सजिलो माध्यम अपनाएँ।
नजिकै एउटा बाल्टी र जग राखिएको थियो। नुहाउन जानेहरूलाई गाइडहरूले भनिरहेका थिए, ‘सरोवरभित्रै पसेर ननुहाउनु है ५० हजार युआन जरिवाना लाग्छ।’
अहो ५० हजार अर्थात नेपाली १० लाख।
मानसरोवरको अनुगमन ड्रोनबाट हुने रहेछ। कहिलेकाँही प्रहरी पनि आउँथे के-के गरिरहेका छन् भनेर हेर्न।
भन्दाभन्दै एक जना तिर्थालु झ्याम्मै सरोवरमै छिरहाले। 'ए के गरेको, नछिर्नु भनेको' भन्दै गाइड कराए। ती महिला हत्तपत्त किनारामा निस्किइन्। धन्न त्यो बेला ड्रोन र सुरक्षाकर्मी दुवै देखिएनन्।
नजिकै गएर मैले ‘सरोवरमा छिरेको थाहा पायो भने त १० लाख नेपाली जरिवाना हुने रैछ है’ भनिदिएको अनुहारको रङ बिग्रियो उनको।
एक त ताल फोहोर हुन नदिने अनि अर्को चैँ तिर्थालुलाई आत्महत्या गर्न नदिन सरोवरभित्रै छिरेर नुहाउन प्रतिबन्ध लगाइएको रहेछन् सुरक्षाकर्मीलेे।
आत्महत्या भन्ने कि स्वैच्छिक देहत्याग भन्ने, त्यस्तो चाहना नेपाली दर्शनार्थीहरूमा देखिएन।
‘अब मरिएछ भने ठिकै छ नि त!’ भन्नेसम्मको बैराग्य भाव तीर्थमा सुनिनु त सामान्य नै हो।
तर केही भारतीय तीर्थयात्रीहरू मानसरोवरमा देहत्याग गर्ने भनेरै आउने गरेको अनुभवी नमस्ते होलिडेज्का प्रमुख बशन्त बरालले बताए।
केरुङबाट तिब्बत छिरेदेखि नै भारतीय तिर्थयात्रीले कम खाना खाने अनि मानसरोवर पुगेपछि सरोवरमा डुबेर देहत्याग गर्न खोज्ने क्रम बढेपछि सरोवरमै पसेर नुहाउन रोकेको उनले सुनाए।
यसपटक भारतीय राहदानी बाहकलाई मानसरोवर प्रवेशको अनुमति नै दिएन चीन सरकारले। त्यही भएर त सद्गुरुले नेपालबाटै कैलाशको दुरदर्शन गरेर फर्किएका।
उनका गैर आवासीय भारतीय चेलाहरू भने टन्नै पुगेका थिए मानसरोवरमा। बेलुका पनि उनको प्रवचन सुनेर सुत्थे अनि बिहान पनि। खुब ध्वनि प्रदुषण गरे उनीहरूले स्पिकरमा प्रवचन लगाएर।
१० वर्षदेखि मानसरोवर यात्राको प्याकेज चलाइरहेका बराललाई फेरि सोधे, ‘एक सिजनमा सरदर कति भारतीय पर्यटकको मृत्यु हुन्थ्यो?’
‘२५ देखि ३० जनाको मृत्यु हुन्थ्यो,’ उनले भने, ‘परिवारसहित आएका बृद्धहरूको मृत्यु यहाँ हुँदा उनीहरूको परिवार नै खुसी हुने।’
‘अनि नेपाली नि?’
‘स्वास्थ्य नै बिग्रिएर दुर्घटना भए मात्र। नत्र मर्छु नै भनेर मानसरोवर आउने नेपाली कमै देख्छु,’ उनले भने, ‘मानसरोवर आउने भारतीयहरूको मृत्यु दर दुई प्रतिशत हुँदा नेपालीको सुन्य दशमलव पाँच होला।’
बरालका अनुसार भारतीय तिर्थयात्री आउने बेलामा त नेपालीले गतिलो होटल नि पाउन मुस्किल रेे।
'यो पटक एक हजार जति नेपाली आए' बरालले भने' बल्ल उनीहरुले नेपाली नि पर्यटक हो भनेेर बुझेे।'
000
यता नुहाइधुवाई चलिरहेको थियो। त्यही किनारमा अलिपर सद्गुरुका चेलाहरू त्रिपाल ओच्छ्याएर पलेटी कसेर बसे। केही छिनमा स्पिकरमा प्रवचन अनि शिव धुन बज्न थाल्यो।
एक जना आएर अलि सानो स्वरमा बोल्नुस् न है ध्यान गर्नेलाई अवरोध हुन्छ भने।
नौटङ्की।
कैलाश पर्वत पूरै खुल्यो कि भन्दै कर्के नजर लगाउँदै गफ जारी थियो। एक समूह पितृ उद्दारका लागि श्राद्धको तयारीमा लागे, अर्को समूह हवनका लागि।
आमाको नाममा तर्पण दिनुपर्ने थियो। श्राद्ध नै गरेँ। अझैँ अन्य कर्मकाण्ड चल्दै थिए। तयारी हेर्दा कमसेकम पनि तीन चार घण्टा लाग्ने देखियो। यता कैलाश पर्वत खुलेको हैन।
हिजो बसबाट मानसरोवरको पनि गतिलो तस्बिर खिच्न पाइएन। यसो हेरेको धर्मशाला पछाडि त्यस्तै तीन सय मिटर अग्लो डाँडा देखियो।
गाइडको नजिकै गएर कोट्याउँदै ‘त्यो डाँडामा जाँदा हुन्छ’ भनेर सोधेँ। उनले टाउको हल्लाए।
नजिकै हाम्रो समूहको सबैभन्दा योङ २७ वर्षीय ठिटो सदस्यलाई यसो आँखा सन्काएँ। थाहा पाए भने ‘काँ जान लागेको पूजामा नबसी’ भनिहाल्छन्। लुसुक्क बाटो लागे मात्र हो।
यसो मानसरोवरको किनारै किनार तस्बिर खिच्दै हिँडे जस्तै गरेर पर पुगियो अनि धर्मशालाको छेको पार्दै उकालो लागियो कैलाश खुल्ने आशमा।
कैलाश-मानसरोवर यात्रा
असोज ९, २०८० मंगलबार २०:४०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।