त्रिपालमुनि भोट माग्न गएका उम्मेदवारलाई मतदाताको जवाफ- ‘लिखित वाचा नभए हाल्दैनौं भोटसोट’

त्रिपालमुनि भोट माग्न गएका उम्मेदवारलाई मतदाताको जवाफ- ‘लिखित वाचा नभए हाल्दैनौं भोटसोट’

सुर्खेत : बराहताल गाउँपालिका–५ चेपाङका महेन्द्रकुमार विकलाई रातमा राम्रोसँग निन्द्रा लाग्न छोडेको डेढ महिना भयो। कारण असोज १० गतेदेखि १६ गतेसम्म परेको अविरल वर्षा।

घर माथिबाट परेको सुख्खा पहिलोले उनको घर पुरिदियो। जसोतसो आफ्नो र परिवारको ज्यान बचाउन सफल भए। त्यो दिन सम्झँदा पनि महेन्द्रको आङ जिरिङ्ग हुन्छ।

रातिको १२ बजेको थियो। एक्कासी गड्याङगुडुङ आवाजसँगै छिमेकीहरू कराएको हल्ला चल्यो। महेन्द्र ब्यूँझिए, यस्सो घरबाहिर हेर्दा पहिरोले घरलाई दायाँबायाँबाट घेरा हालिसकेको थियो।

बल्लतल्ल झ्यालबाट हाम फालेर सात जनाको परिवार जोगाए उनले। घर भने पहिरोले ध्वस्त बनायो। बाँझो खेतको आडमा त्रिपाल टाँगेर बसेका उनले पछिल्लो डेढ महिनामा सरकारी निकायबाट कुनै सहयोग पाएनन्। गैरसरकारी संस्थाले दिएको त्रिपालमा रात काटिरहेको उनको परिवार अहिले।

पहिरोले घर सोत्तर पार्दा नपुगेको राजनीतिक दलका उम्मेदवारहरू अहिले उनीकहाँ भोट माग्न पुगे। पहिरो नियन्त्रण गर्ने र घर बनाइदिने उधारो आश्वासन दिएर भोट मागे। घरमा आएका हरेक दलका उम्मेदवार दिएको झुटा आश्वासनले दिक्क भइसके महेन्द्र।

‘पहिरो गएको डेढ महिना भइसक्यो, के खाएर कहाँ बसेका छन् भनेर कसैले सोध्दैनन्, भोट चाहिएपछि घर बनाइदिन्छौं र पहिरो नियन्त्रण गर्छौं भनेर उधारा गफ मात्रै दिन्छन्,’ उनले भने, ‘एउटा गैरसरकारी संस्थाले दिएको त्रिपाल र चामलले दिन कटाएका छौं। हाम्रो त्रिपालमा बास, नेतालाई भोटकै आश।’

सोही ठाउँका बीरबहादुर सलामीको पनि पहिरोले घर बगाएपछि त्रिपालमै बास छ। पहिरोले छोपेको घर र कृषियोग्य जमिन हेर्दा उनको मत भतभती पोल्छ।

‘उब्जाउ हुने जमिन र बसेको घर पहिरोले लग्यो,’ उनले गुनासो पोखे, ‘अब कसरी जहान केटाकेटी पाल्ने होला?’

भएको जग्गाको उब्जनीले परिवार पाल्दै आएका उनलाई जग्गा उकास्ने चिन्ताले सताएको छ। आकाशमा बादल लागेपछि पहिरोको डरले त्रिपाल छोडेर नजिकैको विद्यालय कुद्छ उनको परिवार।

‘एकचोटी भाग्यले बाँचेको मान्छे हामी त,’ उनले थपे, ‘आकाशमा बादल लागेपछि पहिरोको डरले नजिकैको स्कुलमा गएर बास बस्छौं।’

महेन्द्र र बीरबहादुर मात्रै होइनन्, यस गाउँका ४६२ घरधुरीमध्ये ४४ परिवार त्रिपालमुनि छ। पहिरोले १४ घरमा पूर्ण क्षति र ३० घरमा आंशिक क्षति भएका छन्।

प्रदेश राजधानीसँगै जोडिएको यो गाउँमा पहिरो गएपछि उर्वर कृषियोग्य जमिन मासिने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

भोट माग्न आएका उम्मेदवारहरूसँग पनि उनीहरूले आफ्ना दुई माग राखे– पहिरो नियन्त्रण र पुनःस्थापना। तर, ‘भइहाल्छ, गरिहाल्छौं’ भन्ने आश्वसानमात्रै पाएका चेपाङवासीले विश्वास मानेका छैनन्।

अर्की स्थानीय दुर्गा सुनारले पहिरोले घर न घाटको हुँदा मुख देखाउन नआएका नेता भोटका लागि लाज पचाएर आएको देख्दा रिस उठ्ने र दुःख लाग्ने एकैपटक भएको बताइन्।

‘हामी दुःखमा पर्दा कोही आएनन्, भोटको आशमा अहिले त्रिपालमा आएर नमस्कार गर्छन्,’ उनले भनिन्, ‘पुनःस्थापना गर्ने लिखित वाचा नभए हाल्दैनौं भोट, अहिलेसम्म यीनलाई जिताएर दैनिकीमा के बदलियो र?’

२ मंसिर, २०७९, १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।