१५ वर्षदेखि आँगनमै भाषण गर्दा पनि कुनै नेताले देखेनन् धर्मबहादुरको घर

१५ वर्षदेखि आँगनमै भाषण गर्दा पनि कुनै नेताले देखेनन् धर्मबहादुरको घर

सुर्खेत : जिल्लाको पश्चिम बराहताल गाउँपालिका–५ चेपाङ स्याउली बजारका ५२ वर्षीय धर्मबहादुर रामजालीको आँगनमै जोडिएको छ बरपिपल चौतारी।

विगत १५ वर्षदेखि त्यो चौतारीमा सामाजिक, आर्थिक र राजनीतक कार्यक्रमहरू हुँदै आए। गाउँको बीच भागमा शान्त र सुन्दर चौतारी भएकोले पनि प्राय कार्यक्रमहरू यहिँ गरिन्छन्। अझ हरेक निर्वाचनको समयमा नछुट्ने भनेको त राजनीतिक दलका आम सभा र भेला हुन्।

कार्यक्रममा उनकै घरतिर माइक फर्काएर नेताहरू ठूल्ठूला स्वरमा भाषण गर्छन्– ‘हामी गरिबलाई धनी बनाउँछौं। बाटो, खानेपानी र बिजुली ल्याउँछौं। गरिबका खरले छाएका झुपडीमा टिन हाल्छौं। एक पटक जिताएर हेर्नुस्।’

भाषणमा मात्र होइन, चौतारी छेउमै रहेको उनको घरमा गएर मत माग्दै नेताहरूले टिनको छानाम बसाउँछौं भन्ने सुन्न थालेको पनि १५ वर्ष भयो। २०६४देखि हालसम्म भएका स्थानीय, प्रदेश र संघको निर्वाचनमा उनलाई सधैं घरको छाना फेरिदिने आश्वासन आएको छ।

हरेक पटकको निर्वाचनमा उनको घरको नापो लिएर जान्छन् नेताहरू। अब छिट्टै पाता आउँछ भन्ने आश समेत देखाउँछन्। उनले मत हालेर जितेका नेताहरू माननीय हुँदै मन्त्री भए, कोही पालिका र वडाप्रतिनिधि भए। व्यवस्था फेरियो। तर, उनको घरको अवस्था फेरिएन।

‘२०६४ सालदेखिका हरेक चुनावमा नेताहरू यही चौतारमा आएर भाषण गर्छन्, मेरो घरमा आएर पानी खाँदै हामीलाई मत दिनुहोस् यो घरको छाना फेरिन्छौं भन्छन्,’ उनले भने, ‘दुई–तीन पटक त नेताहरूले नापो नै गरेर गए।’

गाउँमा सरकारले दिएका जस्तापाता पनि हुनेखाने र पहुँच भएकोले पाए। धर्मले दुई पटक नागरिकता र फारम पालिकामा बुझाउँदा समेत पाउन सकेनन्। 

अहिले पनि मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि त्यहि चौतारीमा आमसभा गर्छन् र घरको छना फेरिदिने आस्वासन दिन्छन्। तर, उनी झुट्टा आस्वासनले ढुक्क छैनन्।

अहिले पनि उनको घरको अवस्था दयनीय छ। खर काट्ने मान्छे समेत नहुँदा घर चुहिन थालेको छ। एक गैरसरकारी संस्थाले दिएको पाल उनले छानामा टाँगेका छन्।

‘सरकारबाट जस्ता पाता दिने कुरा सुनेपछि दुई पटक नागरिक र फारम भरेर गाउँपालिकामा बुझाएपनि त्यसको कुनै सुनुवाइ भएन,’ उनले थपे, ‘गाउँका अरुले पाए, मैले पाता पाउन सकिन।’

धर्मका दुई छोरी, एक छोरा छन्। दुई छोरीको विवाह भइसक्यो। छोरा वीरेन्द्रनगरको होटेलमा हेल्परको काम गर्दै कक्षा–१० मा पढ्छन्। धर्मले करिब १६ वर्ष त भारतको हिमाचल प्रदेशमा मजदुरी गरेरै बिताए।

अहिले पनि उनी हिउँदको सिजनमा भारतको गढवालमा ढुंगा फुटाउन जान्छन्। भारतमा पाउने दैनिक ४५० नेपाली  रुपैयाँ ज्यालाबाट नै उनले घरव्यवहार चलाउँछन्। खेतीबालीको सिजनमा फेरि गाउँमा फर्कन्छन्।

भएको साढे दुई कट्ठा धान फल्ने खेत र त्यति नै पाखो जमिनको उब्जनीले ६ महिना खान त पुग्छ। बाँकी ६ महिनाका लागि उनी गढवालकै भर पर्नुपर्छ। अहिले पनि उनी तिहार मानेर जाने सोचमा थिए। चुनावमा नेताहरूले नजाउ भनेपछि मात्रै रोकिएका छन्।

‘छोरी बिहे गरेर गइहाले, छोरा पनि वीरेन्द्रनगरमा होटेलमा काम गर्दै पढ्छ। नेताहरूको आश्वासनले म त दिक्क भइसकेँ,’ धर्मले भने, ‘तिहार खाएर गइहाल्ने भनेको नेताहरूले भोट हालेर जाने भनेपछि रोकिएको हुँ।’

जति नेतालाई जिताए पनि आफ्नो दुःख आफैसँग रहेको बताउँछिन् उनकी श्रीमती मिना रामजाली।

‘चुनावमा मात्रै नेताहरू गफ लगाउँछन्, पानीको धारा ल्याइदिन्छौं भनेको पनि १५ वर्ष भयो, अहिले पनि एक घण्टा हिँडेर भेरीबाट डोकामा पानी ल्याउँछु म,’ मिनाले भनिन्, ‘बत्तीको नाम निसाना नै छैन, बिरामी परेपछि डोकोमा मान्छे बोकेर लिनुपर्छ।’

मिना यसपाली कुनै पनि राजनीतिक दलका उम्मेदवारलाई भोट नहाल्ने सुरमा छिन्। आजभोलि चौतारीमा कार्यक्रममा आएका नेताहरूले पानी माग्दा उनले जवाफ दिन्छिन्, ‘पहिला घर–घरमा धारा ल्याउ, त्यसपछि पानी खान पाइन्छ।’

२५ कात्तिक, २०७९, २०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।