नाबालिगले नै शारीरिक सम्पर्क राखौँ भने पनि किन 'नाइँ' भन्नुपर्छ ? कानुनी हैन, वैज्ञानिक कारण पढ्नुस्

नाबालिगले नै शारीरिक सम्पर्क राखौँ भने पनि किन 'नाइँ' भन्नुपर्छ ? कानुनी हैन, वैज्ञानिक कारण पढ्नुस्

कुनै उमेर नपुगेको व्यक्तिले 'तँ र म शारीरिक सम्बन्ध राखौँ' भने पनि त्यो आपराधिक गतिविधि हो। यहाँ सहमतिको  कुरै हुन्न।

अमेरिकामा फेडरल ब्युरो अफ इन्भेष्टिगेसनका एजेन्टहरू आफ्नो परिचय लुकाउँदै अनलाइनमा नfबालिग बनेर बसेका हुन्छन्।

अनलाइनमा सम्पर्कमा आएका कसैसँग कुरा हुँदा म नाबालिग हुँ भन्दा पनि  शारीरिक सम्बन्ध राख्ने बिचारले कुनै ठाउँमा कसैले भेट्ने प्रस्ताव राख्यो र त्यहाँ त्यो व्यक्ति गयो भने सिधै त्यहीबाट पक्राउ पर्छ। 

शारीरिक सम्पर्क राख्नै पर्दैन, नियत काफी हुन्छ पक्राउ पर्न। किन यस्तो कडा कानुन बनाइयो त? यसको पछाडि ठुलो वैज्ञानिक कारण छ। त्यो सबैले बुझ्न जरुरी छ। अब मस्तिष्क विकासतिर लागौँ।  

खास कुरा के हो भने, कुनै पनि व्यक्ति शारीरिक रूपमा विकसित हुँदैमा मानसिक रूपमा शारीरिक सम्पर्क राख्न तयार हुन्नन्। स्तन बढ्दैमा अथवा यौनाङगको विकास हुँदैमा शारीरिक सम्पर्कको लागी तयार हुने हैन। हामीले बुझ्नुपर्ने के हो भने, मान्छेहरू २० वर्ष पुग्दासम्म पनि मस्तिष्क विकास भइरहेको हुन्छ।

किशोर उमेर र वयस्कको दिमाग नै फरक हुन्छ। दिमागको रूपमा उनीहरू छुट्टै प्राणी जस्तै हुन्। पहिला-पहिला के सोचिन्थ्यो भने, बालकहरू ७-८ वर्ष पुगेपछि दिमाग विकास भई सकेको हुन्छ। तर, आजभोलि एमआरआई (दिमागको चित्र खिच्न) वा एफएमआरआई (कुन काम गर्दा दिमागको कुन भागले काम गर्छ), ले के देखायो भने मान्छेको दिमाग २० वर्षसम्म पनि विकास भइरहेको हुन्छ।

यहाँ अब दिमागका २ भागका कुरा गर्नु पर्छ : प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) र अमेगदाला (amygdale) (तल चित्र)। वयस्कको दिमागमा प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) को पुरै विकास भैसकेको हुन्छ। यो भाग संसारमा सबै प्राणीहरू मध्य मान्छेमा सबैभन्दा विकसित हुन्छ। यो भागको काम भनेको सोच्ने, योजना बनाउने के गर्दा के हुन सक्छ भनेर विश्लेषण गर्ने, दिमागको सबैभन्दा विवेकशील भाग हो।

यो पनि :  बलात्कारको बेलामा किन महिला भाग्दैनन्, किन चिच्याउँदैनन् ?

यो भागले राम्रोसँग सोचेर सबै कुराको नाफा-घाटा हेर्छ। यसलाई कार्यालयको योजना बनाउने, फाइदा-बेफाइदा हेर्ने अनि योजना बनाउन राखिने सिइओ पदजस्तै यसलाई पनि दिमागको सिइओ  समेत भन्छन्।

हाम्रो दिमागका सबैभन्दा अन्तिममा विकास हुने भाग यही हो। २०-२५ वर्षसम्म पनि यो विकास भइरहेको हुन्छ।  टिनएजमै  यो भागको विकास पुरा भएको हुन्न। यही हो हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण पक्ष।

शरीर ठुलो होला किशोर वा किशोरीको तर उनीहरूमा मलाई भोलि हानी हुन सक्छ भनेर सोच्ने दिमागी भाग पूर्ण विकास भइसकेको हुन्न। उनीहरूको दिमाग अमेगदाला (amygdale) ले कन्ट्रोल गरेको हुन्छ।

अमेगदाला (Amygdala) भावनाको केन्द्र हो। सोचाइको हैन। त्यसैले किशोर उमेरकाहरु बढी इमोसनल हुन्छन् तर्कसङ्गत हुँदैनन्। यही हामीले बुझ्नु पर्ने हो।

के गर्दा ठिक/बेठीक हुन्छ भनेर लामो समयको परिणाम सोच्दैनन्। किनभने त्यो हेर्ने दिमागमा हुने प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) को पूर्ण विकास नै भएको हुन्न।

जब बच्चाबाट किशोर उमेरमा प्रवेश गर्छन् सेक्स हर्मोनहरु उत्पादन हुन थाल्छ। तब यौनाङगको साथै  अमेगदाला (amygdale) को पनि विकास हुन्छ। यसले बच्चालाई भावनात्मक साथै अलि रिसाउने, जोखिम लिन खोज्ने, परिवारभन्दा साथीसँग घुलमिल हुने अनि अरूको मान्यता खोज्ने बानीको विकास गर्छ।

साथै यो बेला पछिको कुरा नसोचेर  छोटो समयका लागी खुसी हुने प्रकृतिको पनि विकास हुन्छ। यो सबै अभिभावकले बुझ्नु पर्छ। यही समयमा हो हाम्रा बच्चाहरू यौन पिपासुदेखि रक्सी, चुरोटको लतमा लाग्न सक्ने, किनभने अमेगदाला (amygdale)  छोटो समयको मान्यता र खुसी मात्र हेर्छ।

मान्छेलाई मान्छे जस्तो बनाउने प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) को विकास नै भएको हुन्न। अरूको मान्यता पाउन आफैलाई हानी पुग्ने काम गर्न पछि पर्दैनन्।

यो केस( पल शाह) मा पनि कुरा त्यही हो। ती बालीकाको दिमाग पुरै विकास भइसकेको छैन। उनको दिमागले validation खोज्यो, त्यही कुराको शोषण गर्यो अभिनेताले।

हाम्रो समाजमा किशोर उमेर कलिलो माटो भन्छन्, वैज्ञानिक रूपमा ठ्याक्कै त्यही हो। हामीले उनीहरूप्रति गरिने व्यवहारले नै उनीहरू कस्तो बन्छन् भन्ने कुराको निर्धारण हुन्छ।

जुन मान्छेको यो उमेरमा लामो समयको परिणाम सोच्न सक्ने दिमागी भाग नै विकास भएको हुन्न, सहमतिको कुरा गरेर हुन्छ? यो कुरा ती नाबालिकाको मात्र हैन, जसका  किशोर उमेरका सन्तान सबैको कुरा हो।

यौनको कुरा मात्र हैन, अरू कुलत र कुसङ्गतको कुरा पनि हो। हामीले किशोर उमेरको दिमाग छुट्टै हुन्छ भनेर बुझ्नु पर्छ। 

जब किशोर उमेरबाट २०-२१ वर्ष पुग्न थाल्छन्, अनि प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) पुरै विकास हुन्छ अनि यो भागले अमेगदाला (amydgala) बाट काम आफू लिन्छ अनि बल्ल मान्छे पूर्ण रूपमा मान्छे हुन्छ।

अब तपाईँहरूलाई लाग्ला, त्यस्तो हानी पुग्न सक्ने अमेगदाला (amygdale) को नियन्त्रणमा हाम्रो किशोर-किशोरीको दिमागलाई किन दियो होला प्रकृतिले। हो, यही प्रश्नमा समाजको देनको कुरा आउँछ।

जब हामी बच्चा हुन्छौँ, पुरै आमा-बामा भर पर्छौँ। पुरै वयस्क भएपछि सबै कुराको नाफा-नोक्सान हेर्छौँ। तर, प्रकृतिले किशोर-किशोरी उमेरको व्यवहार भनेको जोखिम लिने, स्वतन्त्र हुने, नयाँ-नयाँ कुरा सिक्न नडराउने भनेर बनाएको हो।

त्यसैले हाम्रा किशोर- किशोरी घाँडो हैनन्। यो त राम्रोसँग हेरचाह गरे भने धेरै कुरा सिक्ने अवसर हो। तर, राम्रोसँग हेरचाह नभए, नराम्रो कुरा सिक्ने भए, यही बेला परिवार, नातेदार, अनि समाजको ठुलो देन हुन्छ।

हाम्रो समाजमा किशोर उमेर कलिलो माटो भन्छन्, वैज्ञानिक रूपमा ठ्याक्कै त्यही हो। हामीले उनीहरूप्रति गरिने व्यवहारले नै उनीहरू कस्तो बन्छन् भन्ने कुराको निर्धारण हुन्छ।

ती नाबालिका( पल शाहबाट पीडित) मानसिक रूपमा बच्चै हुन्। उनलाई बचाउने त हाम्रो समाजको कर्तव्य हो। जुन समाजले आफ्नो बच्चालाई नाबालिग उमेरमा हुने यौन शोषणबाट बचाउन सक्दैन, र भइहाले पनि दोषीलाई अनुसन्धान गरेर कारबाही गर्ने सक्दैन, त्यो समाजले अरू फुई नगरे हुन्छ।

म पनि एउटा छोरीको बुबा हो र यो कुराले साँच्चै मेरो मन छोयो। 

मलाई कानुन आउँदैन, तर वैज्ञानिक तथ्यको आधार र न्युरो साइन्सको आधारमा ती बालीकालाई नकारात्मक कुराबाट बचाएर यो कुराको अनुसन्धान हुनै पर्छ। फेरि पनि भने, कोही किशोर-किशोरी शारीरिक रूपमा ठुलो हुँदैमा, ऊ मानसिक रूपमा विकास भएको हुन्न। तिनीहरूलाई बचाउने बयष्कको काम हो। 

अङ्ग्रेजीमा भनाई छ- It takes a village to raise a child. यो हाम्रो सामाजिक दायित्व हो।

OOO

( देवकोटाले यो ट्विट थ्रेड कलाकार पल शाहविरुद्ध नाबालिग बलात्कारमा अनुसन्धान भइरहेको बेलामा लेखेका हुन्। अहिले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध परेको जाहेरीमा पनि पीडित नाबालिग दाबी गरिएको छ। कानुनी रूपमा १८ वर्षभन्दा कम उमेरका नाबालिगसँग यौन सम्बन्ध राख्नु अपराध हो भन्ने उल्लेख भए पनि समाजका एक तप्का अझै यो बुझ्न राजी देखिएको छैन। हिजो पल प्रकरणमा नाबालिगसँगको यौन सम्बन्धबारे जस्ता गलत बहस भएका थिए अहिले पनि त्यस्तै बहस जारी रहेकाले न्युरो साइन्सका जानकार देवकोटाले कानुनी हैन नाबालिगको दिमागी अवस्था प्रस्ट्याउन लेखेको ट्विट थ्रेड लेखको रूपमा प्रस्तुत गरेका छौँ।)

भदौ २७, २०७९ सोमबार १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।