उकेरा मन्थन

बलात्कारको बेलामा किन महिला भाग्दैनन्, किन चिच्याउँदैनन् ?


खासमा मलाई यस्तो लेख्न मन थिएन तर बेला-बेलामा भइरहने घटनाहरूले मलाई यो लेख्न बाध्य बनायो। मैले केही दिन त कुरेँ पनि, तर कतैबाट पनि चित्त बुझ्दो लेख/ रचना आएन। अनी आफै लेख्न लागेँ।

मैले यो लेखमा बलात्कार भइरहेको बेला वैज्ञानिक रूपमा मान्छेको दिमागमा के प्रभाव परिरहेको हुन्छ त्यो लेख्ने प्रयास गरेको छु। बलात्कारमा मात्रै हैन अन्य यौन दुराचारमा पनि यी कुराहरू लागू हुन्छन् नै।

यौन दुराचार गर्नेमा पुरुषहरू धेरै जस्तो देखिन सक्छन्। तर यौन दुराचार महिलाले पनि गर्न सक्छन् भन्ने मलाई ज्ञान छ। बलात्कार महिला/पुरुषले गर्ने नभएर बलात्कारीले गर्ने हो।

यो लहरो ३ ग्रुप प्रति लक्षित छ : यौन दुराचार अनी बलात्कारमा परेका , छानबिन गर्ने निकाय (प्रहरी) र कानुन बनाउने निकाय। 

धेरै जसो यौन दुराचार अनी बलात्कारमा परेकाहरू आफ्नो गल्ती नभए पनि पश्चात्तापमा बाँचेको देखिन्छ। जस्तै, मैले अलि बल गरेर हुन्न भनेको भए मलाई बलात्कार गर्दैनथ्यो कि?, मैले चिच्याएको भए बलात्कार गर्दैनथ्यो कि?, ढोकामा चुकुल नै लगाएको थिएन तर पनि म किन भागिनँ?, गल्ती त मेरै हो जस्तो सोच आएर आफैलाई दोष दिन्छन्। 

यस लेखमा तपाईँले किन ती माथि भनिएका कुराहरू गर्नु भएन भनेर बलियो र वैज्ञानिक कारण उल्लेख गर्ने प्रयास गरेको छु। 

खासमा विज्ञानले के पुष्टि गरिसकेको छ भने बलात्कार भइरहेको बेला तपाईँको शरीर स्वचालित अवस्थामा  गइसकेको हुन्छ। के गर्ने र नगर्ने तपाईँको वशमा हुन्न। नचिच्याएको, बलात्कार गर्न नरोकेको, ढोका खोलेर नभागेको तपाईँको गल्ती हैन।

आफूलाई दोष नदिनुस्। यो त प्रकृतिले हाम्रो शरीर र दिमाग त्यसरी नै बनाएको कारणले त्यसो भएको हो। तर वैज्ञानिक कारण थाह नभएपछि हामी आफैलाई दोष दिन्छौँ। यो गलत हो। दोष त बलात्कार गर्नेको हो।

अर्के कुरा यो लेख अनुसन्धान गर्ने निकाय प्रहरीप्रति पनि लक्षित छ। जस्तै कुनै महिलाले आएर मलाई मेरो प्रेमीले दिउँसै कोठामा बलात्कार गर्‍यो भनेर उजुरी दिइन् भने तपाईँले केरकार गर्दा यी प्रश्न सोध्न सक्नुहुन्छ : दिउँसै ?, अनि त्यो कोठा त बाटोको छेउ मै छ किन नचिच्याएको? मान्छेले सुनेर बचाई हाल्थे नि! कतै पहिला सहमतिमा यौन सम्पर्क भयो अब अहिले कुरा नमिलेर आरोप लगाएको त हैन? 

धेरै यौन दुराचारका भुक्तभोगीहरू सेकेन्डरी अब्युज (secondary abuse) हुन्छ भनेर अगाडि आउन हिच्किचाऊँछन्। हो, सबै यौन दुराचार अनी बलात्कारका आरोप सत्य हुन्नन्। त्यसमा पनि हामी सजग हुनुपर्छ। म यस लेखमा प्रहरीले कसरी स्नायु विज्ञान (neuro science) मा आधारित भएर प्रश्न सोध्नु पर्छ भनेर लेख्ने छु। 

धेरै मान्छे नजिकै भए पनि ती महिला नचिच्याउनुमा वैज्ञानिक कारण छन्। त्यसैले पुलिसले यी केसमा साधारण दिमागले सोच्ने प्रश्न गर्ने नै हैन। त्यसलाई आघात केन्द्रीत अनुसन्धान(trauma centric investigation) भनिन्छ र त्यो भनेको के हो भनेर पनि म लेख्ने छु। 

अन्त्यमा यो लेख कानुन बनाउने निकाय प्रति लक्षित छ, समयको हदबन्दीको बारेमा। विज्ञानले के भन्छ भने यी केसमा सकेसम्म लामो समय दिनु पर्छ। 

हुन त बलात्कारको भौतिक प्रमाण नष्ट हुने हुनाले छोटो समय राख्नु पर्छ भन्ने सुनिन्छ जो एक हदसम्म ठिकै हो तर स्नायु विज्ञान (neuro science) ले के भन्छ भने बलात्कार भएको मान्छेले दिमागमा राख्ने सूचना साधारण मान्छेको जस्तो हुन्न। 

अनुसन्धान गर्दै जाँदा प्रहरीले चलचित्रको पटकथा जस्तो सलल बगेको घटना क्रम खोज्न सक्छ। साधारण अवस्थामा त्यो जायज पनि हो। जस्तै तपाईँले आफूलाई मन परेको मान्छेले के लगाएको थियो, के खायो सोधेमा सबै सजिलै सलल उत्तर दिन सक्नुहुन्छ। किनभने सामान्य अवस्थामा दिमागले खोज्ने बित्तिकै फटाफट निस्किने गरेर ती सूचना मिलाएर चाङ लगाएर राखेको हुन्छ।

तर जो व्यक्ति माथि बलात्कार हुन्छ भय(fear) को अवस्थामा दिमागले सूचना टुक्रा-टुक्रा गरेर राख्छ। औपचारिकता छोडेर साँच्चै न्याय दिने हो भने त्यो सूचना अनुसन्धान गर्ने निकायकाले बाहिर निकाल्नु पर्छ। बलात्कार पीडितले दिने सूचना त्यसैले टुक्रा-टुक्रा परेको हुन्छ। किनभने ती सूचना दिमागले त्यसरी नै राखेको हुन्छ। 

अब दिमागमा रहेको त्यो सूचना कसरी बाहिर निकाल्ने भन्ने कुरा ब्यक्ती-ब्यक्तिमा फरक पर्छ। अनि प्रश्न गर्ने निकाय कतिको वैज्ञानिक तरिकाले प्रस्तुत हुन्छ त्यसमा पनि धेरै भर पर्छ। हो, केही व्यक्तिले छिटै सूचना दिन सक्छन्। तीनलाई छोटो समयको हदबन्दी ठिकै होला, तर व्यक्तित्व अनुसार कसैले २ वर्ष र कसैले जिन्दगीभर नै ती सूचना बाहिर निकाल्न सक्दैनन्।

तर त्यो उनीहरूको इच्छा हैन, दिमागले नै सूचना त्यसरी नै राखेको हुन्छ। प्रहरीले यो मनोविज्ञान बुझ्नुपर्छ। कसैले चिटिक्क पारेर मिलाएर घटनाक्रम बताउन सकेन भन्दैमा यो आरोप झुटो रैछ भनेर अविश्वास गर्न हुन्न। 

मैले प्रहरीलाई अनुसन्धान कसरी गर्ने भनेर सिकाउन खोजेको हैन। तर केही वैज्ञानिक आधार भन्न खोजेको हो। त्यसैले आघात केन्द्रीत अनुसन्धान (Trauma centric investigation) कसरी गर्ने भन्ने बारेमा पनि म यहाँ लेख्ने छु। 

अब विज्ञानको पाटोमा जाऔँ। 

हामी मान्छे भएको हाम्रो चेतनाले हो जुन संसारमा अरू कुनै प्राणीमा मान्छेको जति छैन। हाम्रो दिमागमा प्रत्येक कार्यको लागी केही भागहरू छुट्टाएको हुन्छ। ती मध्ये आजको लेखमा महत्त्वपूर्ण २ भागका कुरा गरौँ।

 

पहिलो भागको नाम प्रीफ्रन्टल कोर्टेक्स (Prefrontal Cortex) यसलाई (PC) भनौँ।  दोस्रो भागको नाम अमेगदाला (amygdala)  हो। 

मेरो पुरै लेख यी दुई दिमागको भाग वरिपरि घुम्ने छ। बलात्कारको मनोविज्ञान पनि यी दुई दिमागको भागबाटै व्याख्या गर्न सकिन्छ। 

प्रीफ्रन्टल कोर्टेक्स अथवा PC साँच्चिकै ब्यक्तीगत कम्प्युटर (PC) जस्तै हो। यसलाई हाम्रो दिमागको हाकिम पनि भनिन्छ। किनभने यसले कार्यकारी काम (executive function) गर्छ। 

हामी मान्छे-मान्छेको रूपमा प्रस्तुत हुने यही PC को कामले हो। हामीले सोच्ने, योजना बनाउने, परिणामहरुको बारेमा विवेचना गर्ने सबै यही प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) ले हो। यो हाम्रो दिमागको CPU हो। 

जस्तै हाम्रा बच्चा बच्चीले हामीलाई दिक्क लगाए भने हामी सम्झाउन खोज्छौँ। तर रिसैले हात-खुट्टा भाँच्दैनौँ। किनभने हाम्रो प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) ले हामीलाई ती हाम्रा बच्चा हुन्, त्यसो गर्नु हुँदैन भनिरहेको हुन्छ। 

भनेपछि हाम्रो सामान्य अवस्थामा हुनुपर्ने कामको जिम्मा प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) ले लिएको हुन्छ। मैले यस्तो गरेँ भने त्यसको परिणाम यस्तो हुन्छ भनेर विवेचना गर्ने भाग पनि यही नै हो। 

अब दिमागको अर्को भागको बारेमा जसलाई amygdala भनिन्छ। यो भाग दिमागको डरको केन्द्र हो। अमेगदाला (Amygdala) ले चलाउने प्रक्रियालाई द फियर सर्किटरी (the fear circuitry) भनिन्छ।

डर शब्द सुन्दा एक प्रकारको कमजोरी हो जस्तो लाग्छ किनभने हामी भन्ने गर्छौँ-कस्तो डरछेरुवा रैछ। तर, मानव विकासको इतिहासमा डरको ठुलो भूमिका छ। अहिले पो मान्छेले संसारमा हैकम चलाएर बसेको छ। 

परापूर्वकालमा मान्छे अरू डरलाग्दा जनावरहरूसँग बस्थ्यो, त्यो बेला बलात्कारी वा यौन दुराचारीबाट बच्न भय अथवा डरको ठुलो भूमिका थियो। 

त्यो डरलाई सञ्चालन गर्ने दिमागको भाग amygdala हो। डर नभएका प्राणी आफ्नो दुराचारी/ बलात्कारीसँग नजिकै जान्छन् अनि मारिन्छन्। त्यसो हुन नदिन प्रकृतिले डर, भय सञ्चालन गर्न दिमागमा छुट्टै amygdala बनाएको छ। 

अब म बलात्कारको मनोविज्ञानको सवालसँग जोडिएको विषयमा लेख्न जाँदैछु। 

सबैभन्दा महत्त्वपूर्ण छ: प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) र amygdala एक अर्काका दुस्मन हुन्। एक अर्कालाई दबाएर राख्न खोज्छन्। र यो वैज्ञानिक तथ्य नै यौन दुराचारको मनोविज्ञानको केन्द्र हो।

मैले माथि नै भनिसकेँ, प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) ले हामीलाई सामान्य अवस्थामा स्मार्ट डिसिजन लिन काम गर्छ। सामान्य अवस्थामा amygdala शान्त हुन्छ तर अवस्थालाई स्क्यानिङ गरिरहेको हुन्छ। यो हाम्रो शरीरको खतराको सूचना दिने घण्टी जस्तै हो। फायर अलार्म शान्त हुन्छ तर धुवाँ आउने बित्तिकै कराउन थाल्छ।

त्यसै गरेर amygdala पनि खतराको सङ्केत आउने बित्तिकै आफ्नो काम सुरु गर्छ। Amygdala को पहिलो काम प्रीफ्रन्टल कोर्टेक्स (prefrontal  cortex) लाई बन्द गर्नु हो। 

हेर्नुस् है, मैले एकदमै महत्त्वपूर्ण कुरा भनेँ, याद गर्नु होला। खतराको सङ्केत आउने बित्तिकै हाम्रो दिमागको तर्क गर्ने, विश्लेषण गर्ने,सोच-विचार गर्ने भाग बन्द हुन्छ। बलात्कारलाई पनि शरीरले त्यसरी नै खतराको रूपमा लिन्छ र शरीरले प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) बन्द गर्छ। प्रीफ्रन्टल कोर्टेक्स (Prefrontal cortex) बन्द भएपछि दिमागले राम्रोसँग सोच्न सक्दैन र शरीर स्वचालित मोडमा जान्छ। यो तपाईँको इच्छा हैन।

तपाईँले जानी-जानी स्वचालित मोडमा पठाउने हैन। यो त हजारौँ वर्ष देखिको विकासको फल हो। यही वैज्ञानिक तथ्यको आधारमा बलात्कार भएको महिलाले किन यस्तो गरिन? किन भागिनन्? किन चिच्याइनन्? किन बलात्कार भई सकेपछि पनि रातभरि सँगै सुतिन्?

किन अनुसन्धान गर्दा बयान चिटिक्क मिलेको कथा जस्तो भएन? किन भोलि नै गएर प्रहरीलाई उजुरी गरिनन्? किन १५ दिन पछि अथवा १५ महिना अथवा १५ वर्ष पछि उजुरी आयो? यी सब प्रश्नको पुरा उत्तर यो लेखमा दिन्छु। चिन्ता नगर्नुस्! 

यी सबको वैज्ञानिक कारण छ र त्यो सबै amygdala को कामसँग गएर ठोक्किन्छ।

मैले धेरै चोटि भने, खतराको सङ्केत पाउने बित्तिकै amygdala ले  डर सर्किटरी सक्रिय गर्छ जसले  प्रीफ्रन्टल कोर्टेक्स  (prefrontal cortex) बन्द गर्छ, त्यसको अर्थ हो विचार गरेर निर्णय लिने काम बन्द हुन्छ। 

एकदमै सामान्य काम पनि गर्न सक्दैन प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) ले। अमेरिकामा एउटा उदाहरण नै छ, डर वा भयको बेला कतिसम्म सामान्य काम पनि गर्न सक्दैन दिमागले भन्ने। 

दुई महिला घरमा बसिरहेको बेला अचानक अर्को मान्छे घरमा छिरेछ। दुवै महिला डराए। एउटा महिलाले अर्को महिलालाई भनिन्: छिट्टो ९११ मा कल गर। अर्को महिलाले सोधिन्: ९११ को नम्बर कति हो? 

अमेरिकामा ९११ को नम्बर बच्चै देखि सिकाएको हुन्छ। सबैलाई थाह हुन्छ। तर डर वा भयको बेला मान्छेले प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) बन्द भएर राम्रोसँग सोच्न नसकेर ९११ को नम्बरमा समेत झुक्किन्छ जुन साधारण अवस्थामा हास्यास्पद हो। 

बलात्कार भएको व्यक्तिलाई ठाडै किन यो र ऊ गरिनस् भनेर प्रश्न गर्नु पनि त्यही हो। बलात्कारको बेला प्रीफ्रन्टल कोर्टेक्स  (prefrontal cortex) बन्द भएर उसले चलाखीपूर्ण निर्णय (smart decision) लिन सक्दैन। त्यसैले प्रहरीले प्रश्न गर्दा साधारण समयको उत्तरको अपेक्षा गर्ने हैन। 

बलात्कार पीडितको प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) बन्द भएको हुन सक्छ र हामीले उत्तर पनि त्यही अनुसार अपेक्षा गर्नु पर्छ भनेर गरिने अनुसन्धानलाई नै आघात केन्द्रित अनुसन्धान (trauma centric investigation) भनिन्छ। 

अब, fear circuit सुरु भएपछि ४ वटा मुख्य कुरा हुन्छ।

१) प्रीफ्रन्टल कोर्टेक्स (prefrontal cortex) बन्द हुन्छ जुन कुराको मैले माथि नै चर्चा गरिसकेँ। 
२) सर्भाइल रिफ्लेक्स (survival reflex) 
३) सेल्फ प्रोटेक्सन ह्याबिट्स (self-protection habits) 
४) अल्टर मेमोरी इन्कोडिङ एन्ड कन्सलिडेसन (altered memory encoding and consolidation.)

धेरै अङ्ग्रेजी देखेर नआत्तिनु होला, सबै कुराको व्याख्या म गर्छु।अब पक्कै तपाईँको मनमा एउटा प्रश्न आएको छ: fear हुँदा प्रकृतिले हामीलाई राम्रोसँग सोच्न सक्ने prefrontal cortex बन्द गरेर स्वचालित मोडवाला fear circuitry किन सक्रिय गर्‍यो। 

त्यो गर्दा हामीलाई के फाइदा भयो त? अब त्यसको व्याख्या दोस्रो  सर्भाइभल रिफ्लेक्स( survival reflex) को कुराबाट सुरु गरौँ। 

के तपाईँले deer in the headlight को कुरा सुन्नु भएको छ? 

यो के हो भने जरायोहरू बाटो काट्दा गाडीको हेडलाइटलाई अगाडी परे भने भाग्न छोडेर टक्क त्यही जम्छन्। यदि गाडीको स्पिड कन्ट्रोल छैन भने ठोकिएर मर्छन्। यो २ नम्बरको कुरा अनुसार त उल्टो पर्यो, survival हुनु पर्नेमा त जरायो मर्‍यो।

तर, प्रकृतिमा त यसले survival मा सहयोग गर्छ। यो प्रक्रियालाई freeze-flee-flight भनिन्छ।

तपाईँले fight or flight भन्ने त सुन्नु भएकै होला, जसको अर्थ हुन्छ सकेसम्म fight गर्ने नभए भाग्ने। तर प्रकृतिमा freeze-flight-fight हुन्छ जो कुरा amygdala ले सुरु गर्छ। त्यसको फाइदा के भयो त? 

प्रकृतिमा खतराको सङ्केत आएपछि जनावर freeze गर्छ, भन्नाको मतलब शरीर नचलाएर एकैठाऊँमा बस्छ। त्यो गर्नु भनेको distract नभएर आँखा र कानको प्रयोग गरेर खतरा कताबाट छ स्क्यान गर्ने हो। 

शरीरको पुरै शक्ति चल्न छोडेर त्यही खोज्नमा खर्च हुन्छ। त्यसैले डर वा भयको पहिलो नतिजा शरीर फ्रिज हुनु हो। शरीर फ्रिज भएपछि सूचना सङ्कलन हुन्छ अनि त्यही सूचनाको आधारमा flight हुन्छ अथवा भाग्ने काम हुन्छ। भाग्ने अवस्था नभएपछि ज्यान जोगाउन fight गर्नु पर्छ। 

अब मुख्य कुरा, बलात्कार भइरहेको बेला पनि फियर सर्किटरी (fear circuitry) सुरु भएपछि शरीर फ्रिज हुन्छ। अब एकदमै महत्त्वपूर्ण कुरा: 

यो केटीले सहमति मै यौन सम्पर्क गरेको हो सम्भोग गर्दासम्म कुनै प्रतिवाद गरिन भन्नेहरूको वैज्ञानिक उत्तर यही हो। बलात्कार भइरहेको बेला प्रतिवाद भन्ने हुन्न। शरीर स्वचालित मोडमा गइसकेको हुन्छ। फ्रिज भइसकेको हुन्छ। त्यो सहमति हैन, त्यो आफ्नो शरीर बचाउन प्रकृतिले बनाएको सुरक्षा कबच हो। 

कुनै बेला महिला फ्रिज भएर बेहोसको अवस्थामा पुगिसकेका हुन्छन्। त्यसैले १ चोटि मात्र हैन ३-४ चोटि बलात्कार गर्दा पनि किन केटी त्यही बसिरही भन्ने प्रश्न पनि गलत हो। 

यो फ्रिज भएकै आधारमा केटी किन चिच्याइन, ढोकामा चुकुल नलागेको बेला पनि किन भागिन सबै व्याख्या हुन्छ। 

अब तपाईँलाई लाग्यो होला: प्रकृतिले शरीर फ्रिज हुने किन बनायो। यसो हेर्दा त घाटा लाग्या जस्तो भयो। जस्तै जरायोलाई गाडीले हानेको। खासमा प्राकृतिक रूपमा जरायोलाई फाइदा हुन्छ अरू यौन दुराचारी/ बलात्कारीबाट फ्रिज भएर खतरा थाहा पाएर भाग्न। समस्या गाडीको गतिको हो। प्रकृतिमा जनावरहरू गाडी जस्तो छिटो हुन्नन्। त्यसैले जरायो फ्रिज भएर स्क्यानिङ गरेर भाग्न सक्छ। तर गाडीको स्पिड धेरै हुनाले जरायोले खतराको सङ्केत पहिल्याएर भाग्नु अगाडि नै गाडी ठोकिसक्छ। 

खास कुरा त्यो हो।अब, भय या डरमा शरीर फ्रिज किन हुन्छ भनेर केही भिडियो हेरौँ। अनि थाह हुन्छ खासमा फ्रिज हुनु कति फाइदाजनक हुन्छ भनेर।

यस्ता भिडियोहरू युट्युवमा मा animals playing dead भनेर हेर्न सकिन्छ।

पहिलो भिडियोमा मृगलाई शायद चितुवाले लखेटेर समात्छ। त्यो बेलासम्म चितुवा थाकेको हुन्छ। त्यो थाह पाएर ब्वाँसो आउँछ चितुवा लखेट्न। अनि मृग पर्छ ब्वाँसोको मुखमा। तर हेर्नुस् है, 

मृग नचलेर मरेको जस्तो गरेर फ्रिज भएर बसेको हुन्छ। ब्वाँसोलाई लाग्छ यो मरेको छ अनि अल्लि पर चितुवा लखेट्न जान्छ। त्यति बेलासम्म मृग जुरुक्क उठेर भाग्छ। ब्वाँसो जिल्ल पर्छ। यही हो आक्रमणकारीबाट फ्रिज भएर ज्यान जोगाउन् तरिका। 
फ्रिज साँच्चिकै survival instinct हो। 

कुनै बेला भाग्ने अवस्था नभए पनि freeze भयो भने ज्यान बच्न सक्छ। खासमा प्रकृतिमा predator लाई चलिरहेको जिउँदो प्राणी मारेर खान मन पर्छ। यो भिडियोमा ब्वाँसोले एउटा possum समातेर खान थाल्छ। तर, possum मरेको जस्तो गरेर नचलेर बस्छ।

अनि मुखैमा भएको possum पनि ब्वाँसोले खान्न। हुन त possum को गन्ध पनि एक कारण हो तर फ्रिज भएको हुनाले possum को ज्यान बच्यो। डरपछिको फ्रिज हुनुले साँच्चिकै ज्यान जोगाउँछ। 

बलात्कार पनि एक प्रकारको predator ले prey लाई गर्ने dynamics हो। बलात्कारको बेला शरीर freeze हुन्छ त्यो प्रकृतिले शरीर जोगाउन गरेको हो। 

शरीर चलेन भन्दैमा यौन सम्पर्क गर्ने अनुमति हैन। यो कुरा बुझ्नु पर्छ। मलाई लाग्छ यो कुरा बुझ्ने हो भने हाम्रो समाजमा सोधिने यो किन गरिन, त्यो किन गरिन भन्ने धेरै प्रश्नको जवाफ मिल्छ। 

शरीर फ्रिज पनि २ प्रकारको हुन्छ। एउटालाई भनिन्छ “tonic immobility” जसमा प्यारालाइसिस र बोली नआउने हुन्छ। त्यसैले बलात्कारको क्रममा फ्रिज भएकाहरू बोल्न र भाग्न सक्दैनन्। 

अनि अर्को हुन्छ, “collasped immobility”. यो झन् खतरनाक अवस्था हो। यो केसमा मुटुको चाल र ब्ल्डप्रेसर एक्कै चोटि घट्छ। दिमागमा अक्सिजनको कमी हुन्छ। अनि मान्छेलाई निन्द्रा लाग्ने देखि लामो समयसम्म बेहोस हुने हुन्छ। 

त्यो बलात्कार भई सकेपछि पनि तत्कालै किन नभागेको, किन सँगै सुतेको भन्ने प्रश्न को उत्तर यो हो। र प्रहरीले यो कुरा बुझ्नु पर्छ। बलात्कार भएपछि collapsed immobility भएकाहरू त्यही सुत्छन्। 

अब एउटा चलचित्रबाट बलात्कारको भिडियो हेरौँ। हेरेर नराम्रो लाग्छ भन्ने लाग्नेहरूले नहेरे पनि हुन्छ। यो सिन अमेरिकाको प्रख्यात सिरिज Mad Men बाट हो। 

यौन दुराचारको अनुसन्धान गर्ने मान्छेहरूले यो सिन साँच्चिकै वास्तविकताको धेरै नजिक छ भन्छन्। म यो सिनको टुक्रा-टुक्रा गरेर 
व्याख्या गर्ने छु। 

यो सिनमा जोन जो अफिस सेक्रेटरी हुन्। उनी आफ्नै अफिसमा आफ्नै finance (जसलाई उनले पछि बिहे समेत गर्छिन्) ग्रेगद्वारा बलात्कृत हुन्छिन्। यो सिनमा बलात्कार हुने बेलाको सबै चरण देखाइएको छ। पहिलो स्टेजमा साधारण अवस्था छ। 

केटा र केटी डेट गएका छन्, रमाइलो वातावरण छ। केटीको हातमा फूल समेत छ। तर केटीलाई म अब एकै छिनमा बलात्कार हुन गई रहेको छु भन्ने छनक समेत छैन। केटीलाई यो सँग घुम्न किन गइस् भनेर सोध्नलाई उसलाई म माथि बलात्कार हुँदै छ भन्ने कसरी थाहा हुन्छ?

वयस्क केटा-केटी भेटघाट गर्छन्, रमाइलो गर्छन्, तर सबै कुरा सहमतिमा हुनु पर्छ। अब सिनमा केटा र केटी एउटा एकान्त कोठामा हुन्छन्। तै पनि दुवै मजाक गरेका छन् अहिलेसम्म। केटाले केटीको शरीरमा छोएपछि जिस्किँदै भन्छे- Are you trying to examine me? 

त्यति बेलासम्म केटीको दिमाग prefrontal cortex ले नै काम गरेको छ। केटा अल्लि नै उग्र भएपछि केटीले राम्रो resistance दिन्छे: Greg, it is my office. Basically, यही लक्ष्मण रेखा हो पार गर्नु नहुने। 

मेरो अफिस हो, यहाँ यौन क्रियाकलाप गर्न हुन्न भनेर केटीले अस्वीकार गरिन्। असल व्यवहार भएको केटा यहीँ रोकिन्थ्यो। अब म धेरै पुरुषले सोध्ने प्रश्नको उत्तर दिन्छु। उमेर पुगेका महिला-पुरुष अथवा आजको जमानामा जुनसुकै लिङ्गका हुन् एक-अर्कामा आकर्षण हुन्छ। 
उमेर पुगेका सबै एक-अर्का भेटघाट गर्नु पर्छ, सहमतिमा यौन सम्बन्ध पनि राख्न हुन्छ। किनभने त्यो प्रकृतिको नियम हो। तर, विशेष गरी पुरुषले कुन अनुमति हो र इन्कार हो बुझ्नु पर्छ। यो भिडियोमा ती महिलाले यो मेरो अफिस हो भनेपछि त्यही लाइन हो, जो पार गर्नु हुँदैनथ्यो। 

महिलाले यस्ता धेरै सङ्केत दिन्छन् जसलाई NO को रूपमा बुझ्नु पर्छ। ती सङ्केत बाहिर बोलीमा सामान्य हुन सक्छन् तर मनमा ठुलो असहमति हो। यस्ता धेरै उदाहरण छन्: जस्तै-नगर, अरूले देख्ला, अर्को कोठाकोले सुन्ला, तिम्रो घरका मान्छे फर्केलान् र हामीलाई देख्लान्। 

यी मौखिक रूपमा साधारण प्रतिक्रिया हुन् तर महिलाको मन र दिमागमा यो कुरा ठुलो NO हो। यो भिडियोमा त अझ साधारण रूपमा भनेकी छिन्- Greg यो मेरो अफिस हो। त्यसको मतलब म तयार छैन भनेको हो। 

त्यत्तिले नि नपुगेर पछि त उनले सिधै NO नै भन्छिन्, तर Greg ले बलात्कार गरिछाड्छ। 

सुरुमा केटीको prefrontal cortex ले काम गरेको हुन्छ। तर जब अकस्मात् केटीलाई केटाले टेबलमा घचेट्छ, अनि अब केटीको दिमागमा fear circuitry सुरु हुन थाल्छ र prefrontal cortex को काम घट्न थाल्छ। केटाले केटीलाई भुईँमा पछारेर physically restraint गर्छ। 

यो अवस्था भनेको जनावरको predator-prey situation हो। महिलाको शरीर tonic immobility मा जान्छ। अब म माथि लेखेको ३ नं को point मा आउँछु activation of self protection habits.

अनुसन्धानले के देखाएको छ भने बलात्कार भइरहेको बेला करिब ५०% महिलाले कि त म आज मर्छु अथवा बलात्कारको अलावा म माथि physical harm हुन्छ भन्ने सोच्छन्।

त्यो भनेको बलात्कार हुने मान्छेको शरीरले त्यसरी सोचेको हुन्छ। शरीरले आफूलाई जसरी पनि बचाउन खोज्छ त्यसैले बलात्कार हुने मान्छेले गरेको कुनै क्रियाकलाप सामान्य अवस्थामा अचम्म लाग्दो हुन सक्छ। तर विज्ञानले के भन्छ भने त्यो त दिमागले आफू बच्न गरेको काम हो। 

कतिपय केसमा के पाइयो भने- बलात्कार भएको महिलाले नै पुरुषलाई स्खलन हुन सधाएको। पुलिसले यसो हेर्दा त त्यो सहमति देखियो। तर यो बुझ्नु पर्छ कि physically restraint body को दिमागले जसले fear circuitry activate गरिसक्यो, उसको एउटै उद्देश्य हुन्छ, शरीरलाई बचाउने चाहे त्यो short-term मा predator लाई नै सहयोग गरेको जस्तो देखियोस्। 

हेर्नुस् त हाम्रो शरीरको लीला कस्तो अचम्मको छ। अनि यही self protection मा शरीरले गर्ने अर्को काम भनेको disassociation हो। यो चित्रमा Joan को आँखा हेर्नुस् त !

 यस्तो लाग्छ कि शरीरबाट आत्मा बाहिर निस्कियो। अनुसन्धानले के देखाएको छ भने साँच्चिकै बलात्कारको पिडाबाट बच्न शरीरले disassociation गर्छ, ताकी शरीरलाई धेरै पीडा नहोस्। 

बलात्कार भएका मान्छेले मन नै शरीरमा नभए जस्तो, कता-कता उडे जस्तो अनुभव हुने बताएका छन्। त्यो भनेको शरीरले बलात्कारको हानिबाट बचाउन शरीरलाई disassociate गरेको हो। अब एउटा क्लिप जो प्रहरी अनुसन्धानमा महत्त्वपूर्ण हुन्छ। 

त्यो हो altered attention. हेर्नुस् त त्यो बलात्कार सिनमा Joan को शरीरले बलात्कार भइरहेको कुरामा ध्यान दिएको छैन। बरु कफी टेबल हेरेको छ। त्यो त्यत्तिकै भएको हैन। बलात्कारमा ध्यान गयो भने शरीरलाई झन् पिडा हुन्छ, त्यो ध्यान अर्कैतिर लगे कम पिडा हुन्छ। 
अब बिचार गर्नुस् त भोलि प्रहरी केस भयो अनि प्रहरीले के-के भयो भनेर सोध्दा Joan ले-मलाई अफिसमा लगेर भुईँमा लडाएर बलात्कार गर्‍यो भनिन् अनि पुलिसले अरू थप के भयो भन्नुस् भनेर सोध्दा खै म लडेँ, मलाई बलात्कार गरियो, मैले धेरै feel गरिन, तर अफिसको कफी टेबल हेरेको याद छ' भनिन् भने। 

यो उत्तरले neuroscience नबुझेको पुलिस पागल हुन्छ। बलात्कार जस्तो भयानक कुरा हुँदा पनि त्यसमा ध्यान नदिएर कफी टेबल हेरेर बसेको? कस्तो पागल मान्छे रैछ? यो केस त पक्कै झुटो हुनुपर्छ भन्ने लाग्न सक्छ।

तर, सबै कुरा त सत्य थिए। शरीर freeze भयो, self-survival mode मा गयो अनि altered attention भयो। 

फेरि दिमागमा बलात्कार भइरहेको बेला जुन कुरामा attention गयो त्यही कुरा पछिको लागी रेकर्ड हुने हो। मैले माथि भनेझैँ, यी सब सूचना fragmented भएर store हुन्छन् र बाहिर निकाल्न मान्छे अनुसार फरक-फरक समय लाग्छ। कानुनको भावना अनुसार सबैलाई न्याय दिने उद्देश्य हो भने समयसीमा लामो राख्नु पर्छ। ताकि सबै बलात्कार पीडितले आफ्नो दिमागमा छरिएर रहेको सूचना निकाल्न सकुन्। 

यो किन महत्त्वपूर्ण छ भने-सबै मान्छेको शरीरले भय कसरी सम्हाल्छ भन्ने कुरा फरक हुन्छ। जस्तै यो roller coaster ride मा एउटै roller coaster मा एक जनाले भय वा डर राम्रोसँग सम्हाल्छ भने अर्को बेहोस हुँदै उठ्दै फेरि बेहोस हुन्छ।

बलात्कार पनि fear circuitry activating event हो, प्रत्येक पीडितले आ-आफ्नो शरीर अनुसार त्यसलाई डिल गर्छ। ठ्याक्कै १ वर्षमा यो कुरा दिमागबाट बाहिर ल्याएर भन् भनेर कानुन बनाउनु भनेको मान्छे र मान्छेको दिमाग फरक हुन्छन् भनेर स्वीकार नगर्नु हो। 

अब एउटा महत्त्वपूर्ण प्रश्न, कुरा पुरै बलात्कार पीडितमा गयो, बलात्कार गर्ने को पनि त दिमागमा डर होला, prefrontal cortex बन्द होला, उसले पनि त राम्रोसँग सोच्न नसकेर त्यस्तो गरेको होला! 

केही हदसम्म यो कुरा ठिकै हो। तर अनुसन्धानले के देखाएको छ भने- बलात्कार गर्नेहरू प्राय serial offender हुन्छन्। यस्तो कुरा धेरै चोटि गरेका हुन्छन्। त्यसैले उनीहरूको दिमागमा बलात्कार पीडित जस्तो अकस्मात् fear circuitry हुन्न। 

किनभने प्राय यो काम उनीहरूले गरिसकेका हुन्छन् र everything is planned. त्यसैले यो महत्त्वपूर्ण हुन्छ कि बलात्कार गर्नेहरू serial offender हुने सम्भावना हुन्छ। 

त्यसैले सकेसम्म पहिल्यै उनीहरूलाई रोक्नु पर्छ। यो लेख मेरो अनुसन्धान हैन, मैले अरूको काम पढेर, हेरेर आफ्नो क्षमताले भ्याएसम्म लेखेको छु। कमजोरी छन्, त्यसको लागी माफी चाहन्छु। आशा छ यो लहरो मार्फत समाजमा बलात्कार पीडितलाई शङ्का गरेर सोधिने धेरै प्रश्नको उत्तर मैले दिएँ होला। 

-यो सामाग्री सुशील देवकोटाको ट्विट @capsiannum को थ्रेडबाट लिइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

महिला हिंसाविरुद्ध 'सडक नाटक' गर्दाको अनुभव: 'मलाई प्रहार गर्नेहरूलाई टोक्न, भुत्ल्याउन मन लागिरहेको हुन्छ'

चरा खुला आकाशको विम्ब हो। चरा स्वतन्त्रताको प्रतीक हो। चरा उँचाइको विम्ब हो। चरा उडानको विम्ब हो र चरा सबैसबै संङ्कुचन, द्वेष, बाध्यता र शोषित....

रविमाथि उठेका कानुनी प्रश्नबारे स्वतन्त्र पार्टीका प्रवक्ता भन्छन् 'जनताले अनुमोदन गरिसके, अब यसबारे किन बोल्नुपर्‍यो?'

उकेराले यी कानुनी प्रश्नहरूबारे लामिछानेसँगै कुरा गर्ने प्रयास गरेका थियौँ। तर उनी सम्पर्कमै नआएपछि यसबारे राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालसँग कुरा गर्‍यौँ। ढकालको उत्तरले....

संसारलाई झुक्याउने किट्टियाको फोटोग्राफीमा पहिल्यैदेखि 'कन्भिन्स्ड' थिएनन् फोटोपत्रकार चन्द्रशेखर कार्की

अस्वाभाविक प्रकाश र कोलाज इफेक्ट (तस्बिरहरू जोडिएको) हुनसक्ने आकलनपछि अल्पाइनम्याग्ले यसबारे खोज गरेको रहेछ। जसमा किट्टियाले सार्वजनिक गरेको चारमध्ये तीन फोटो म्यानिप्युलेट गरिएको तथ्य अगाडि....

निर्वाचन डायरी: काठमाडौंका मतदान केन्द्रमा 'लाइन' कम भएको अधिकांशको अनुभव

मतदान गर्न पुग्नेले यसपालि सहज रूपमा मतदान गरेको पनि बताए। मतदानका लागि लामो 'लाइन' नभएकाले सहज भएको मतदाताको भनाइ थियो। बानेश्वर क्याम्पस मतदान केन्द्रमा मतदान गरेर....

पाँच वर्ष पछुताउनु नपर्ने गरी मताधिकार प्रयोग गरौँ

आज हामी मतदाताले मतदानमार्फत जस्तो जनादेश दिन्छौँ आगामी पाँच वर्षको दृश्य त्यस्तै नै हुनेछ। योजना भएकालाई मत दिएर संसद्मा पठाए विकासको शिलान्यास हुनसक्छ, अनुशासितलाई पठाए....