प्रतिपक्षीको नाराबाजीका बीच सभामुखले चलाए संसद बैठक
काठमाडौं : प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूको अवरोध र नाराबाजीका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक अघि बढाएका छन्।
बिहीबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तरको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले वेल घेराउ गरेर वेल घेराउ गरे। एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रश्नोत्तरको समय माग गर्दै बिहीबार बसेको दोस्रो बैठकको सुरुमै अवरोध गरे।
बिहीबारको पहिलो बैठकमा पनि सांसदहरूले अवरोध गरेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरी प्रधानमन्त्री शाहलाई भेट्न पुगेका थिए। तर, भेटमा सभामुखले नियमावलीको बाध्यात्मक व्यवस्था देखाउँदै प्रश्नोत्तरका लागि समय माग गरे पनि प्रधानमन्त्री शाहले अर्को साताको समय दिन इन्कार गरेको बताइएको छ।
प्रधानमन्त्रीले तत्काल उपस्थित हुन नसक्ने तर पछि कुनै समय आउने जवाफ दिएको जानकारी सभामुख अर्यालले कार्य व्यवस्था परामर्श समितिको बैठकमा गराइएका थिए। सभामुख अर्यालले प्रधानमन्त्रीसँगको छलफलको निष्कर्ष सुनाएर दोस्रो बैठक सुरु गरे लगत्तै प्रतिपक्षी सांसदहरूले पुनः नाराबाजी गर्दै वेल घेराउ गरेका थिए। विपक्षीको चर्को विरोधका बीच सभामुख अर्यालले बैठकमा कार्यसूची अगाडि बढाएका छन्।
प्रधानमन्त्री एवं गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिन्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र राजीनामाको माग गर्दै नाराबाजी जारी राखेका छन्।
जेठ ७, २०८३ बिहीबार १७:२०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।