जनकपुरधाममा शहीद परिवारद्वारा मन्त्रालय घेराउ: समान राहत र बजेटको माग

जनकपुरधाममा शहीद परिवारद्वारा मन्त्रालय घेराउ: समान राहत र बजेटको माग

जनकपुर : जनयुद्ध तथा विभिन्न आन्दोलनका शहीद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन्। मधेशका आठवटै जिल्लाका शहीद परिवारले विहीबार जनकपुरधामस्थित गृह मन्त्रालय अगाडि धर्ना दिएका हुन्।

धर्नाका कारण मन्त्रालयको काम समेत प्रभावित भएको छ। कार्यकक्ष भित्रका कर्मचारी बाहिर निस्कन सकेका छैनन् भने बाहिरका कर्मचारी भित्र प्रवेश गर्न कठिन भएको छ।

विगतमा मधेश प्रदेश सरकारले वार्षिक तीन लाख रुपैयाँ जनही शहीद परिवारलाई दिँदै आएकामा गत वर्षदेखि सरकारले विभेदपूर्ण रुपमा रकम वितरण गरेको मधेशी शहीद प्रतिष्ठानका अध्यक्ष मनोज प्रसाद पटेलले जानकारी दिए।

उनका अनुसार सरकारले भने अनुसार पाउनुपर्ने सबै सहीद परिवारले रकम नपाएको, कतिपयले एक लाख र कतिले दुई लाख रुपैयाँ मात्र पाएको बताए।

अध्यक्ष पटेलका अनुसार सरकारले शहीद परिवारहरुलाई पनि वर्गीकरण गरेर विभेद गर्दै आएको छ। सरकारले जेनजी आन्दोलन, मधेश आन्दोलन, जनयुद्धलगायत जुनसुकै शहीदलाई समान मानेर शहीद परिवारलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने अध्यक्ष पटेलको भनाइ छ।

जुनसुकै समय र परिस्थितिमा सहादत दिएको भएपनि आखिर राष्ट्रकै लागि शहीद भएकाले सरकारले सम्पूर्ण शहीदहरुलाई समान र विना भेदभावको नजरले हेर्नुपर्ने अध्यक्ष पटेलको भनाइ छ। सरकारले तोकेको रकम सम्पूर्ण शहीद परिवारले पाउनु पर्ने भन्दै गृहमन्त्रालय घेराउ गरेको अध्यक्ष पटेलले जानकारी दिए।

गृह मन्त्रालयले कुनै निर्णय नगरेसम्म आफूहरु धर्ना जारी राख्ने उनले बताए। आगामी बजेटमा पनि सम्पूर्ण शहीद परिवारलाई एकमुष्ट रकम उपलब्ध हुनेगरी बजेट बनाउन जनयुद्धका शहीद परिवारको माग छ।

गृहमन्त्री मन्त्री मन्त्रालय बाहिर रहेको र फर्किने समय यकिन नभएकाले प्रदर्शनकारीहरू अहिले पनि धर्नामै बसिरहेका छन् ।

जेठ ७, २०८३ बिहीबार १७:०३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।