एनसेल फाउन्डेसनद्वारा १०० जना विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ घोषणा
काठमाडौं : एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका १०० जना जेहेन्दार विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ।
'प्रोजेक्ट शिक्षा'सँगको सहकार्यमा फाउन्डेसनले कक्षा ११ र १२ अध्ययनका लागि यो छात्रवृत्ति दिन लागेको हो।
छात्रवृत्ति प्राप्त गर्न विद्यार्थीहरूले सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षा र अन्तर्वार्तामा उत्तीर्ण हुनुपर्नेछ।
विशेषगरी उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने प्रतिभाशाली विद्यार्थीहरूलाई यसमा प्राथमिकता दिइने एनसेलले जनाएको छ।
छात्रवृत्तिका साथै छनोट भएका विद्यार्थीहरूले १२ महिनासम्म एनसेलको डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क पाउनेछन्।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले आर्थिक वा भौगोलिक अवस्थाकै कारण कसैको शिक्षा रोकिन नहुने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताइन्।
हन्ड्रेड ग्रुपद्वारा सञ्चालित ‘प्रोजेक्ट शिक्षा’ले पनि यस वर्ष थप ५० जनालाई छात्रवृत्ति प्रदान गर्नेछ। एनसेलले गत वर्ष ५० जना विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्ध गराएको थियो।
जेठ ५, २०८३ मंगलबार १०:४६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।