फेरिँदै भैरहवा सेज : बन्दजस्तै रहेको औद्योगिक क्षेत्र अब निर्यात र नयाँ लगानीको केन्द्र

फेरिँदै भैरहवा सेज : बन्दजस्तै रहेको औद्योगिक क्षेत्र अब निर्यात र नयाँ लगानीको केन्द्र

बुटवल : कुनै समय सरकारी उदासीनता, चर्को भाडादर र कडा कानुनी उल्झनका कारण ‘सेतो हात्ती’ बन्ने जोखिममा रहेको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) ले अहिले आफ्नो स्वरूप बदल्न थालेको छ।

नीतिगत सुधार र सहुलियतका नयाँ प्याकेज ल्याइएपछि मुलुककै यो महत्वाकांक्षी औद्योगिक पूर्वाधार यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारका लागि उत्पादनको ‘हब’ बन्ने दिशामा अघि बढेको हो।

एकपछि अर्को उद्योग भित्रिन थालेपछि केही समय अघिसम्म सुनसान देखिने सेज परिसर यतिबेला निर्माण सामग्री, मेसिन जडान र उत्पादनको तयारीले व्यस्त छ।

५२ बिघा क्षेत्रफलमा फैलिएका ६८ वटा औद्योगिक प्लटहरूमा उद्योगीहरूको आकर्षण यसरी बढेको छ कि लामो समय सुस्ताएको यो क्षेत्र अहिले चौबीसै घण्टा गुञ्जायमान हुने तर्खरमा छ।

सेज कार्यालय भैरहवाका प्रमुख इन्जिनियर सपुत डुम्रेका अनुसार सरकारले उद्योगमैत्री नीति लागू गरेपछि र भाडादर घटाएपछि उद्योगीहरू पुनः सेजतर्फ आकर्षित भएका हुन्। अहिले सेजभित्र सञ्चालनमा रहेका उद्योगसँगै नयाँ लगानी थपिने क्रम तीव्र बनेको छ।

उद्योगको अवस्था र लगानीको ग्राफ
हाल सेजभित्र २१ वटा उद्योगले स्थापनाको अनुमति लिएका छन्। तीमध्ये १२ वटा उद्योग पूर्ण रूपमा सञ्चालनमा छन् भने ६ वटा उद्योग निर्माणको अन्तिम चरणमा छन्। थप दुई उद्योगले निर्माणको तयारी गरिरहेका छन् भने एउटा उद्योग मात्र हाल बन्द अवस्थामा छ। 

यहाँ इलेक्ट्रिक उपकरण, धातुजन्य सामग्री, डाटा सेन्टर, गहना उत्पादन तथा अन्य उत्पादनमूलक उद्योगहरू स्थापना भइरहेका छन्। केही उद्योगले पेय पदार्थ र स्टिलजन्य सामग्री उत्पादन गर्ने योजनासहित अनुमति लिइसकेका छन्।

महँगो भाडाबाट सहुलियतसम्मको यात्रा
विगतमा सेजभित्र जग्गाको भाडा प्रतिवर्गमिटर १५० रुपैयाँ तोकिएको थियो, जुन उद्योगीहरूका लागि निकै महँगो मानिन्थ्यो। त्यसमाथि उत्पादित वस्तुको ठूलो हिस्सा अनिवार्य निर्यात गर्नुपर्ने प्रावधानले उद्योगीहरूलाई झनै निरुत्साहित गरेको थियो।

चौतर्फी दबाब र सुझावपछि सरकारले भाडामा ८६ प्रतिशतले कटौती गरी प्रतिवर्गमिटर २० रुपैयाँ कायम गरेको छ। यही निर्णयले सेजमा लगानीको ढोका खोलेको उद्योगीहरूको बुझाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल भन्छन्, “विगतमा भाडा महँगो हुनु र निर्यातको अनिवार्य सर्त नै मुख्य अवरोध थिए। अहिले ती जटिलता क्रमशः समाधान भइरहेकाले उद्योगीहरू आकर्षित भएका हुन्।”

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली पनि नीतिगत सुधारकै कारण उद्योगीहरू पुनः सेज जान तयार भएको बताउँछन्।

उनी भन्छन्, ‘राज्यको करोडौँ लगानी भएको ठाउँमा उद्योगी जान सक्ने आधार नै थिएन। अहिले गुनासो सुनुवाइ भएको छ, तर सेजलाई पूर्ण रूपमा चलायमान बनाउन अझै दीर्घकालीन र थप उद्योगमैत्री नीति आवश्यक छ।’

निर्यातको उत्साहजनक तथ्याङ्क
विशेष आर्थिक क्षेत्र प्राधिकरणको तथ्याङ्क अनुसार भैरहवा सेजबाट आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ को हालसम्म कुल ५ अर्ब ८२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस अवधिमा ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढीका सामग्री निर्यात भइसकेका छन्।

आर्थिक वर्ष २०७६/७७ मा २० करोड ४४ लाखको कारोबार अनि १४ करोड ८० लाखको निर्यात गरेको यहाँबाट आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३ करोडको कारोबार र ८५ करोड ४७ लाखको निर्यात भएको थियो।

यस्तै आर्थिक वर्ष २०७९/८० मा ८४ करोड १५ लाखको कारोबार र ४५ करोड ४१ लाखको निर्यात भएको यहाँबाट आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ५ करोड ७८ लाखको कारोबार र ६० करोड ३६ लाखको निर्यात भएको थियो।

पछिल्लो दुई वर्षमा सेजको विस्तार तीव्र देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा कारोबार झन्डै दोब्बरले बढेर १ अर्ब ९६ करोड रुपैयाँ नाघेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्रै १ अर्ब ३४ करोड ३० लाखको उत्पादन भइसकेको छ, जसमा ८५ करोड १ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। यहाँबाट उत्पादित प्लास्टिक, धातु, लाइटिङ, ग्रेनाइट र ऊर्जा सामग्रीहरू मुख्यतया भारततर्फ निर्यात भइरहेका छन्।

नयाँ र अत्याधुनिक उद्योगहरूको आगमन
सेजमा अहिले अत्याधुनिक प्रविधिका उद्योगहरू थपिने क्रममा छन्। ‘डाटा वर्ल्ड प्रालि’ले डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न अत्याधुनिक डेटा सेन्टर निर्माण गरिरहेको छ।

त्यस्तै, ‘डीएलएल ग्लोबल प्रालि’ले सुन, चाँदी र कृत्रिम गहना निकासीका लागि उद्योग स्थापना गर्दैछ। ‘स्पोर्ट इलेक्ट्रिक प्रालि’ र ‘इरिगेसन मेटल क्राफ्ट’ले पनि क्रमशः इलेक्ट्रोनिक र स्टिलजन्य उत्पादनको तयारी थालेका छन्।

भैरहवा सेजको सबैभन्दा ठूलो र रणनीतिक परियोजनाको रूपमा ‘गार्मेन्ट गियर प्रालि’ सञ्चालनको अन्तिम तयारीमा छ।

भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र प्रतिष्ठित व्यवसायी उमेश श्रेष्ठको मुख्य लगानी रहेको यस उद्योगमा पूर्वबैंकर किरणकुमार श्रेष्ठ, पूर्वाधार विज्ञ रामकृष्ण खतिवडा र ऊर्जा व्यवसायी राजेश श्रेष्ठको सह-लगानी छ। 

१ अर्ब ३० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको यो उद्योग सेजको ९० हजार स्क्वायर फिट क्षेत्रमा फैलिएको छ। उद्योगका कार्यकारी निर्देशक रामकृष्ण खतिवडाका अनुसार यसले वार्षिक ५७ लाख ६० हजार थान कपडा (डेनिम, लेगिङ, सर्ट, प्यान्ट) उत्पादन गर्ने लक्ष्य राखेको छ।

यस उद्योगले एकैपटक १ हजार २०० जनालाई रोजगारी दिनेछ। उत्पादित कपडामध्ये ४० प्रतिशत आन्तरिक बजार (भाटभटेनी) र ६० प्रतिशत भारत, अमेरिका तथा युरोप निर्यात गरिनेछ।

गत भदौको राजनीतिक घटनाक्रमका कारण निर्माणमा केही ढिलाइ भए पनि आगामी कुसे औंसी (बुवाको मुख हेर्ने दिन) सम्ममा यसका उत्पादनहरू बजारमा आउने गरी ८० प्रतिशत काम सम्पन्न भइसकेको खतिवडाले जानकारी दिए।

जेठ ५, २०८३ मंगलबार ०९:५७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।