प्रहरी कार्यालय अगाडि नग्नता प्रदर्शन गर्ने तीन जना तेस्रो लिङ्गी पक्राउ

प्रहरी कार्यालय अगाडि नग्नता प्रदर्शन गर्ने तीन जना तेस्रो लिङ्गी पक्राउ

कलैया : जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेको र सार्वजनिक सडकमा नग्नता प्रदर्शन गरेको आरोपमा तीन जना तेस्रो लिङ्गीलाई नियन्त्रणमा लिएको छ। 

मंगलबार बिहान जिल्ला प्रहरी कार्यालयको मूल गेट अगाडि विरोध प्रदर्शन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा रौतहटको देवाही गोनाही नगरपालिका–५ बस्ने २६ वर्षीया दिव्या रानी, बाराको जीतपुर सिमरा उपमहानगरपालिका-८ बस्ने २५ वर्षीया निशा भारती र ५७ वर्षीया निशा देवी रहेका छन्।

प्रहरीका अनुसार जेठ ३ गते अभद्र व्यवहार मुद्दाको अनुसन्धानका सिलसिलामा खुस्बु (अफ्जल मियाँ दर्जी) लाई पक्राउ गरी हिरासतमा राखिएको थियो।

सोही विषयलाई लिएर मंगलबार बिहान करिब १०:२५ बजेको समयमा एक समूह प्रहरी कार्यालयको मूल गेटमा पुगेर खुस्बुलाई छाड्न माग गर्दै सडक अवरोध र होहल्ला गर्न थालेको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद राना मगरको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई सम्झाई-बुझाई गरी सडक खुलाउन प्रयास गरेको थियो।

तर, प्रदर्शनकारीहरू उल्टै आक्रोशमा आई प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौजमा उत्रिएका थिए।

सोही क्रममा उनीहरूले बाटोमै नग्नता प्रदर्शन गरी शान्ति सुरक्षामा अवरोध पुर्याउनुका साथै प्रहरीमाथि अभद्र व्यवहार गर्न खोजेपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ।

पक्राउ परेकाहरूमाथि अभद्र व्यवहार अन्तर्गत थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जेठ ५, २०८३ मंगलबार १०:३६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।