विश्वकप लिग-२ : नेपालविरुद्ध स्कटल्याण्डले जित्यो टस
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आजको खेलमा स्कटल्याण्डले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेपछि स्कटल्याण्डले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको हो।
नेपालले आजको खेलमा आफ्नो अघिल्लो खेलकै टोली (प्लेइङ ११) लाई निरन्तरता दिएको छ। अमेरिकाविरुद्ध ९ विकेटको सानदार जित दर्ता गर्दाकै टोलीलाई आज पनि मैदान उतारिएको हो।
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी।
नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित यस शृङ्खलामा हालसम्म तीन खेल सम्पन्न भइसकेका छन्।
जसमा स्कटल्याण्डले दुवै खेलमा (नेपाल र अमेरिका विरुद्ध) डीएलएस नियमका आधारमा २-२ रनको रोमाञ्चक जित निकालेको थियो। नेपालले भने पछिल्लो खेलमा अमेरिकालाई सहजै पराजित गरेको थियो।
विश्वकपको ग्लोबल क्वालिफायरमा सोझै स्थान बनाउन र एकदिवसीय मान्यता जोगाउन नेपालका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ।
अङ्क तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्याण्ड ३० खेलबाट ३८ अङ्क जोड्दै बलियो अवस्थामा छ भने नेपाल २६ खेलबाट २० अङ्कका साथ सातौं स्थानमा छ।
नेपाल आजको खेलमा स्कटल्याण्डलाई पराजित गर्दै आफ्नो जितको यात्रालाई निरन्तरता दिने दाउमा मैदान उत्रिएको छ। आजको खेल बिहान ९:३० बजेबाट सुरु हुनेछ।
जेठ ४, २०८३ सोमबार ०९:१०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।