आईसीसी लिग-२ : ग्लोबल क्वालिफायरको सम्भावना जीवितै राख्न नेपाल आज स्कटल्याण्डसँग भिड्दै

आईसीसी लिग-२ : ग्लोबल क्वालिफायरको सम्भावना जीवितै राख्न नेपाल आज स्कटल्याण्डसँग भिड्दै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले आज बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डको सामना गर्दैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी जारी शृङ्खलामा हालसम्म तीनवटा खेल सम्पन्न भइसकेका छन्। जसमा स्कटल्याण्डले दुई तथा नेपालले एक खेलमा जित हात पारेका छन्।

स्कटल्याण्डले आफ्ना दुवै खेलमा डकवर्थ लेविस (डीएलएस) नियमका आधारमा समान २-२ रनको रोमाञ्चक जित निकालेको थियो।

पहिलो खेलमा नेपाललाई हराएको स्कटल्याण्डले अर्को खेलमा अमेरिकालाई पनि सोही अन्तरले पराजित गरेको थियो।

यता, नेपालले भने गत शनिबार सम्पन्न खेलमा अमेरिकामाथि ९ विकेटको सानदार जित दर्ता गरेको थियो।

आजको खेलमा स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने आफ्नो सम्भावनालाई जीवितै राख्ने रणनीतिसहित नेपाल मैदान उत्रिनेछ।

लिग-२ को अङ्क तालिकामा नेपाल हाल सातौँ स्थानमा छ।

नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा सोझै स्थान बनाउन अब बाँकी रहेका सबै १० खेल जित्नैपर्ने दबाब छ भने एकदिवसीय मान्यता जोगाउन कम्तीमा शीर्ष छ भित्र पर्नु आवश्यक छ। त्यसैले पनि आजको खेल नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ।

अङ्क तालिकाको समीकरण हेर्दा नेपालले हालसम्म खेलेका २६ खेलमध्ये ९ मा जित र १५ मा हार बेहोरेको छ। दुई खेल अनिर्णीत रहँदा नेपालको खातामा २० अङ्क छ।

अर्कोतर्फ, स्कटल्याण्ड ३० खेलबाट ३८ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा छ। उसले १६ खेलमा जित र ८ खेलमा हार भोगेको छ भने ६ खेल अनिर्णीत रहेका छन्।
 

जेठ ४, २०८३ सोमबार ०७:२४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।