चौथो एनएसएल भदौ २० देखि, खेलकुदलाई दलीय राजनीतिमुक्त बनाइने मन्त्री पोखरेलको दाबी

चौथो एनएसएल भदौ २० देखि, खेलकुदलाई दलीय राजनीतिमुक्त बनाइने मन्त्री पोखरेलको दाबी

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण भाद्र २० गतेदेखि सुरु हुने भएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।

कार्यक्रममा बोल्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावभन्दा टाढा राखेर अघि बढाउने स्पष्ट नीति लिएको बताए। उनले नेपालका २७ हजार विद्यालय र लाखौँ विद्यार्थीलाई लक्षित गर्दै सानै उमेरदेखि खेलकुदमा लगानी गर्न आवश्यक रहेको औंल्याए। आगामी शैक्षिक पाठ्यक्रममा समेत खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिने उनले जानकारी दिए।

उनले भने, "राजनीतिक हिसाबले हेर्दा पार्टी र सरकार पनि सकेसम्म खेलकुद क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउन चाहन्छौं । नेपालमा २७ हजार विद्यालय छन्, लाखौं विद्यार्थीहरु हुनुहुन्छ। हामीले सानो उमेरदेखि नै विद्यार्थीमा लगानी गर्न थाल्यौं र यहाँहरुलाई एउटा खेलाडीको रुपमा पनि ल्याउन सकिन्छ भन्ने भिजनबाट अगाडि बढ्यौं भने राम्रो हुन्छ। सानो उमेरबाट लगानी गर्न सक्दा राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ। त्यसैले अबको पाठ्यक्रममा पनि खेलकुदलाई महत्व दिएर राख्ने छौं।"

आयोजकका अनुसार प्रतियोगिता होम एन्ड अवे फरम्याटमा हुनेछ भने खेल डबल राउन्ड रोबिनमा सञ्चालन हुनेछ। यस पटक प्रतियोगितामा १०–१२ टीमलाई सहभागी गराइने आयोजकले जानकारी दिएको छ।

सात टोलीको सहभागिता रहेको तेस्रो संस्करणको फाइनलमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसी च्याम्पियन बनेको थियो। ललितपुर हाल दुईपल्टको डिफेन्डिङ च्याम्पियनका रूपमा रहेको छ।

जेठ ३, २०८३ आइतबार १७:३४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।