चीनबाट निकै प्रभावित भएको बताउँदै ट्रम्पले भने- ‘इरानको परमाणु कार्यक्रमबारे हाम्रो सोच मिल्दोजुल्दो छ’
बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमबारे अमेरिका र चीनको सोच ‘निकै मिल्दोजुल्दो’ रहेको दाबी गरेका छन्।
आफ्नो चीन भ्रमणको दोस्रो दिन बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्।
चीनको सरकारी निवास तथा कार्यालय रहेको परिसर ‘झोङ्नानहाई’मा दुई नेताबीच भेटवार्ता भएको थियो। भेटपछि ट्रम्पले व्यापार, इरान र अन्य विभिन्न विषयमा छलफल भएको जानकारी दिए।
उनले भने, ‘हामीले त्यस्ता धेरै समस्याहरू समाधान गर्यौँ, जुन सायद अरूले हल गर्न सक्दैनथे होला।’ इरानको विषयमा बोल्दै ट्रम्पले स्पष्ट पारे, ‘उनीहरूसँग परमाणु हतियार होस् भन्ने हामी चाहँदैनौँ।’
साथै, दुवै देशले समुद्री मार्गहरू खुला र स्वतन्त्र रहुन् भन्ने चाहेको पनि उनले बताए। उनको यो भनाइ विश्वव्यापी व्यापारका लागि महत्त्वपूर्ण मानिने समुद्री मार्गहरूतर्फ लक्षित रहेको बुझिएको छ।
चीनबाट आफू ‘निकै प्रभावित’ भएको ट्रम्पले बताए। उनले आउँदो सेप्टेम्बर २४ मा हुन सक्ने सी जिनपिङको अमेरिका भ्रमणको पनि चर्चा गरे।
ट्रम्पले भने, ‘जसरी व्यापारमा पारस्परिक आदानप्रदान हुन्छ, त्यसैगरी यो भ्रमण पनि पारस्परिक हुनेछ। हामी पूर्ण तयारी गर्नेछौँ र म चीनबाट जसरी प्रभावित भएको छु, तपाईं (सी जिनपिङ) पनि अमेरिकाबाट त्यसरी नै प्रभावित भएर फर्किनुहुनेछ भन्ने मेरो विश्वास छ।’
बेइजिङ आउन पाउनु आफ्नो लागि सम्मानको कुरा भएको भन्दै उनले सी जिनपिङलाई धन्यवाद दिए।
शुक्रबार राष्ट्रपति सी जिनपिङले झोङ्नानहाई परिसरमा ट्रम्पलाई स्वागत गरेका थिए।
उक्त परिसरबारे जानकारी दिँदै सीले भने, ‘यो त्यही ठाउँ हो जहाँ म लगायत चीनको केन्द्रीय सरकारका नेताहरू बस्छन् र काम गर्छन्।’
यो ठाउँ कुनै समय शाही बगैँचाको हिस्सा रहेको र यसको लामो इतिहास रहेको पनि उनले बताए।
परिसर घुम्ने क्रममा दुई नेताले हेरेको एउटा रूख करिब ४९० वर्ष पुरानो भएको सीले जानकारी दिए। साथै, उनले चिनियाँ प्रजातिको गुलाबको बीउ ट्रम्पलाई उपहारस्वरूप पठाउने बताएका छन्।
जेठ १, २०८३ शुक्रबार १२:४८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।