सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन विधामा उत्कृष्ट अवार्ड
काठमाडौं : बुटवलको हस्पिटालिटी क्षेत्रमा नयाँ आयाम थप्दै सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवल तीनवटा प्रतिष्ठित राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।
'होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन' र 'वल्र्डवाइड बेस्ट होटेल डटकम' ले संयुक्त रूपमा होटललाई तीन फरक विधामा पुरस्कृत गरेका हुन्।
होटलले 'नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६', 'नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६' र होटलका महाप्रबन्धक तुषार नागरले 'नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६' प्राप्त गरेका छन्।
विशेष गरी होटलको अत्याधुनिक ब्यांक्वेट सुविधा र विवाह समारोह व्यवस्थापनमा देखाएको सूक्ष्म कार्यकुशलताका कारण यसलाई देशकै उत्कृष्ट 'डेस्टिनेशन वेडिङ भेन्यु' घोषित गरिएको हो।
होटलका महाप्रबन्धक तुषार नागरको कुशल नेतृत्व र रणनीतिक दृष्टिकोणका कारण उनलाई वर्षको उत्कृष्ट जीएम अवार्ड प्रदान गरिएको छ।
सञ्चालन सुरु भएको ६ महिनाभित्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको यस्तो पहिचान बनाउनुलाई होटल क्षेत्रमा ठूलो उपलब्धिको रूपमा हेरिएको छ।
आफ्नो सफलताप्रति खुसी व्यक्त गर्दै महाप्रबन्धक तुषार नागरले भने, "सञ्चालनमा आएको छोटो समयमै यी प्रतिष्ठित अवार्डहरू प्राप्त गर्दा हामी निकै सम्मानित महसुस गरिरहेका छौँ। यो हाम्रो सम्पूर्ण टोलीको समर्पण र वास्तविक आतिथ्यताको परिणाम हो। बुटवलको हस्पिटालिटीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने हाम्रो भिजनले सार्थकता पाउँदै गएको छ।"
उनले हायात प्लेस बुटवलले पाएको सम्मानले लुम्बिनी प्रदेश र विशेष गरी बुटवल क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।
बुटवलको रहेको यस होटलले आगामी दिनमा पनि आफ्नो सेवाको गुणस्तरलाई निरन्तरता दिँदै स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
वैशाख २८, २०८३ सोमबार १३:०८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।