जार : बलियो अभिनय तर अति सुस्त स्क्रिनप्लेले हलमा टिक्नै हम्मे

जार : बलियो अभिनय तर अति सुस्त स्क्रिनप्लेले हलमा टिक्नै हम्मे

विश्व फिल्म नगरीमा कृतिमा आधारित ‘द गड फादर’ जस्ता सदाबहार लोकप्रिय फिल्म बनेका छन्। ‘जुरासिक पार्क’, ‘ह्यारिपोर्टर’हरू पनि कृतिमा आधारित फिल्म नै हुन्। नेपालमा पनि प्रयास भए कृतिमा आधारित फिल्म बनाउने। केही हदसम्म ‘प्रेमपिण्ड’ सफल भयो त्यसपछि जति कृतिमा आधारित फिल्म बने ‘बेकार अनुमति दिएछु’ भनेर कृतिकार नै चुकचुकाउनुपर्ने अवस्था आयो।

यस्तैमा करिब दुई सय वर्ष अगाडिको सामाजिक परम्परालाई आधार बनाएर लोकप्रिय कथाकार इन्द्र बहादुर राईले लेखेको कथा ‘जार’ मा आधारित भएर फिल्म निर्देशन गर्ने हिम्मत गरे फुर्वा छिरिङ लामाले।

यसअघि कृतिमा बनेको फिल्मको हविगतसँग यसलाई दाँज्ने हो भने एक हदसम्म निर्देशक सफल भए। तर, यसलाई इन्द्रबहादुर राईको कथाबाट अलग गरेर केवल फिल्मको रूपमा मात्र हेर्ने हो भने धेरै कमजोरीहरू छन् जसले दर्शकलाई करिब दुई घण्टा हलको कुर्सीमा अडाउन हम्मे नै पर्छ।

अब लागौँ कथासारतर्फ,

जार आफैँमा चर्चित कथा भएकाले यसको मुलकथा लुकेको विषय हैन। खुलदुल जसरी कथाकार राईले कथा संरचनामा बसेर यो लेखे यसलाई कसरी निर्देशकले दृश्य भाषामा बदलेर देखाए होलान् भन्ने मात्र हो।

नेपालको पूर्वी जिल्लाको कथामा बुनिएको ‘जार’मा लाहुरे हुन् रुद्रमान (सौगात मल्ल)। सोही समयमा उनले गाउँकै ठुली (गीताञ्जली थापा) लाई मन पराउँछन्। ठुलीको मन पनि रुद्रमानसँग साटिन्छ। उनीहरूबीच विवाहको सल्लाह हुन्छ। तर ठुलीको बैनी र रुद्रमानकी बैनीबीच गहिरो मित्रता छ। दुवै परिवारले यो मित्रतालाई मितिनीमा बदलिदिन्छन्।

नेपाली संस्कार अनुसार बैनीको मित पनि बहिनी नै भइन्। बहिनीसँग विवाह गर्न मिलेन। आफूले पल्टन जानु अगाडि मायाको चिनो स्वरूप पोते लगाएकी ठुलीसँग बहिनीले मित लगाएको सहनै सक्दैनन्। यता गाउँमा प्रहरी छन् हर्षजित (अनुपविक्रम शाही)। हर्षजितले पनि ठुलीलाई मन पराउँछन्। अन्तमा ठुलीको विवाह को सँग हुन्छ अनि त्यसले समाजमा कस्तो हलचल ल्याउँछ यो फिल्मको मूल कथा यही नै हो।

सबल पक्ष
सबैभन्दा बलियो पक्ष, निर्देशक फुर्वाले इन्द्रबहादुर राईको कथा ‘जार’लाई दृश्य भाषामा उतार्दा मूल कृतिलाई मर्न दिएका छैनन्। उनी मूल कृतिको भाव क्षतविक्षत नहोस् भन्नेमा सजग देखिए।

यो फिल्मको अर्को सबैभन्दा सुन्दर पक्ष सिनेमाटोग्राफी हो। दुई सय वर्ष अगाडिको समाजलाई दृश्यमा देखाउन निर्माण टिमले निकै मिहेनत गरेको छ। केही ठाउँमा हल्का चिप्लिए पनि दर्शकलाई दुई सय वर्ष अगाडिको समाजमा लैजान निर्देशक सफल भएका छन्।

अर्को सबल पक्ष संवाद नराखीकन कलाकारको भावभङ्गीबाट कसरी अवस्था बताउन सकिन्छ भन्ने सफल प्रयोग गरेका छन् निर्देशकले। ठुली हुन् या हर्षजित उनीहरूले संवाद नबोले पनि उनीहरूको मनोदशा देखाउन निर्देशक सफल भएका छन्।

स्टोरीटेलिङमा एकै खालको शैली हेरिरहेका नेपाली दर्शकलाई जारको कथ्य शैली पक्कै नयाँ लाग्छ। पात्रको मनोसामाजिक पक्ष दृश्यबाट देखाउन पात्र र निर्देशकले गरेको मिहेनत प्रशंसायोग्य छ।

नेपाली फिल्महरूमा भिएफएक्सहरुको प्रयोगको क्रम बढिरहेको छ। यसमा पनि बाघको भिएफएक्स प्रयोग गरिएको छ। यस अगाडि नेपाली फिल्ममा प्रयोग गरिएको भिएफएक्सको गुणस्तरसँग यसको दाँज्ने हो भने अब्बल छ।

अर्को निकै बलियो पक्ष हो- म्युजिक। फिल्मको ब्याकग्राउण्ड म्युजिकले दर्शकलाई आनन्दित बनाउँछ। साइकोलोजीसँगै हरर अर्थात् डरको निर्माण गर्न निर्देशक सफल भएका छन्।

गीतको प्रयोग कथा सुहाउँदो छ। झुमा लिम्बूको स्वर र सङ्गीतले ‘ए ठुली’बोलको गीतले फिल्मलाई बलियो बनाएको छ।

मुख्य तीन पात्रमा केन्द्रित रहेको फिल्ममा तीनै पात्रको अभिनय अब्बल छ। नेपाली दर्शकले गीताञ्जली थापाको अभिनयको नयाँपनको अनुभव गर्न सक्छन्। कलाकारले संवाद नबोलीकन पनि कसरी कथा भन्न सक्छन् भन्ने उत्तम नमुना बनेको छ अभिनेत्री थापाको अभिनय।

अर्को अनुपविक्रमको पनि धेरै संवाद छैन फिल्ममा। तर, संवाद कम भए पनि उनीमार्फत कथा अगाडि बढाउन कतै अवरोध देखिँदैन। अनुपले यस अगाडि गरेका अभिनय भन्दा नौलो देखिएका छन् यसमा। सौगात मल्ल सदाबहार देखिएका छन्।

दुर्बल पक्ष
यो फिल्मको सबैभन्दा दुर्लभ पक्ष देखियो स्क्रिनप्ले। स्क्रिनप्लेमा निर्देशक चुक्दा हलमा दर्शकलाई पहिलो हाफमा नै अड्काउन निकै हम्मेहम्मे नै हुन्छ। फिल्मको कथा यति सुस्त गतिमा अगाडि बढ्छ कि हलको कुर्सीमा बसेका दर्शकलाई उकुसमुकुस हुन्छ।

कतिपय दृश्यहरू त पज गरेर राखे झैँ देखिन्छ। अगाडि बढ्दै बढ्दैन। दोस्रो हाफको स्क्रिनप्लेले केही गति समात्छ तर आवश्यकता अनुसार हैन। सुस्त नै छ दोस्रो हाफ पनि। एक त पहिला नै पटक-पटक पढिएको, बारम्बार मञ्चमा नाटकको रूपमा मञ्चन भएको परिचित कथामा रहस्य हुन्न। तर, माध्यम फरक भएकाले निर्देशकले दर्शकको मनमा कौतुहलता जगाएर हलमा बाँधिरहन सक्थे। यसमा उनी चुके।

दुई सय वर्ष अगाडिको समाजमा सडक कुनै-कुनै दृश्यमा घुसिहाल्छ। ठुलीले राडी सुकाउन आँगनमा आएको समयमा क्यामेरा निकै हल्लिएको छ। प्राविधिक कमजोरी हो या प्रयोग बुझाउन नसक्दा दर्शकले बुझ्ने त क्यामरा चलाउन नि जानेनछन् भन्ने नै त हो।

कथा अनुसार जारलाई काट्न लखेटेको सात दिनको समय हो। त्यो फिल्ममा प्रस्ट खुल्दैन। लखेट्दा खिचिएका दृश्य बलिया छन्। तर, जब रुद्रमान र हर्षजित आमनेसामने हुन्छन् काट्छ कि क्या हो भनेर दर्शकको मनमा उत्पन्न हुनुपर्ने डर उत्पन्न हुन्न।

कथा, उपन्यास, नाटक, निबन्ध सबै लेखन विधा नै हुन्। तर, एकै माध्यम भए पनि कथ्य संरचना फरक-फरक हुन्छन्। नाटक, वृत्तचित्र अनि छोटा फिल्म र फिचर फिल्म माध्यम त देखाउने नै भए पनि यिनका संरचना पनि भिन्न भिन्न हुन्छ।

यो त लेख्य विधाको कथालाई देखाउने दृश्य विधामा बदलेका हुन् निर्देशकले। शब्द-शब्द खोजेर दृश्य भन्न इन्द्रबहादुर राईले निकै मिहेनत गरेका छन् यसको कथामा। त्यो अनुसार त्यसलाई दृश्य भाषामा उतार्न निर्देशक राई झैँ सफल हुन सकेनन्। उनले कथाको संरचनामा निर्माण गरिएका संवादहरूलाई फिल्मको फ्रेममा ल्याउनै सकेनन्। यो चैँ निकै खट्कियो फिल्म हेर्दा।

कृतिलाई अन्याय नहुने गरी लेखकको अनुमतिमा दृश्य भाषामा केही थपघट गर्ने स्पेस निर्देशकले पाएका थिए भन्ने क्लाइमेक्सबाट देखिन्छ। तर, उनले त्यो सुविधाको त्यति सदुपयोग गर्न सकेको अनुभव भएन। धैर्य गर्दै हलमा अन्तिमसम्म टिकेका दर्शकलाई क्लाइमेक्समा उनले सरप्राइज दिन सक्ने ठाउँ देखिन्थ्यो।

निर्देशकले सरप्राइज दिन सकेको भए छक्क परेर हलबाट निस्कने दर्शकको प्रतिक्रियाले बाघको भिएफएक्सका लागि खर्च गरेको रकम पनि नउठ्ने जोखिमको चरणमा फिल्मको व्यापार पुग्ने थिएन। स्क्रिनप्ले त भयो नै उनी क्लाइमेक्समा पनि चुके।

तर, पढिसकेको कथालाई फिल्मको पर्दामा उतार्नु आफैँमा चुनौतीपूर्ण काम हो। निर्देशक शेर्पाले सहजै यो चुनौती स्वीकार गरेर इमानदारीताका साथ पस्किए। कलाकारहरूले इमानदारिताका साथ अभिनय गरे। जारको सबैभन्दा सकारात्मक पक्ष भनेको कृतिमाथि निरन्तर भइरहेको अन्यायको क्रम टुटेको छ। अर्को जारमार्फत नेपाली दर्शकले गीताञ्जली थापाको फ्रेस अभिनय हेर्न पाए।

वैशाख २९, २०८२ सोमबार २३:१०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।