दोस्रो पटकको प्रयासमा दक्षिण कोरियाका राष्ट्रपति योलविरूद्धको महाअभियोग प्रस्ताव संसदबाट पास

दोस्रो पटकको प्रयासमा दक्षिण कोरियाका राष्ट्रपति योलविरूद्धको महाअभियोग प्रस्ताव संसदबाट पास

एजेन्सी : दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरूद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएसँगै उनी पदबाट निलम्बित भएका छन्। उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रूपमा सरकार चलाउने छन्।

राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेपछि विवादमा तानिएका थिए। यद्यपि व्यापक विरोध भएपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए। निर्णय फिर्ता लिएपछि उनले माफी पनि मागेका थिए। 

विपक्षीले भने उनलाई पदबाट हटाउनैपर्ने भन्दै महाअभियोग प्रस्ताव ल्याएको थियो। सुरूमा ८ मत नपुग्दा महाअभियोग प्रस्ताव विफल भएको थियो। दोस्रो प्रयासमा शनिबार फेरि संसदमा महाअभियोगको पक्ष-विपक्षमा मतदान भएको थियो।

द कोरिया टाइम्सका अनुसार यसपटक भने सत्तारुढ पिपुल पावर पार्टीका केही सांसदहरुले पनि महा अभियोगको पक्षमा मत दिएपछि प्रस्ताव पास भएको छ।

राष्ट्रपति योलविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा २०४ मत खसेको थियो भने ८४ मत विपक्षमा परेको थियो। ३ मत तटस्थ र ८ मत रद्द भएका थिए। संसदका सभामुख वु योन शिकले महाअभियोग प्रस्ताव बहुमतले पास भएको जानकारी गराए। 

युन सुक-योलले हालै देशमा मार्शल ल लागू गर्ने घोषणा गर्दा त्यसको पछाडि उत्तर कोरिया र राष्ट्रविरोधी शक्तिको खतरा रहेको बताए।

यसको विरुद्धमा विरोध प्रदर्शन हुँदा राष्ट्रपति युनले मार्शल ल लागू गर्ने निर्णय फिर्ता लिए पनि राजीनामा भने गरेनन्।

मंसिर २९, २०८१ शनिबार १५:५१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।