लुम्बिनीका मुख्यमन्त्री आचार्यले एक सय दिनमा सार्वजनिक गरे १०१ उपलब्धि

लुम्बिनीका मुख्यमन्त्री आचार्यले एक सय दिनमा सार्वजनिक गरे १०१ उपलब्धि

बुटवल : लुम्बिनी प्रदेश सरकारले एक सय दिनकाे अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेकाे छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धी पत्रकार सम्मेलनकाे आयाेजना गर्दै सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सरकारको फजुल खर्च रोक्न, मितव्ययिता कायम गर्न नवीनतम सन्देश जनस्तरमा प्रवाह बताए।

प्रदेशको आन्तरिक आयस्रोत वृद्धि गर्न राजश्वको दायरा फराकिलो बनाउने, आर्थिक अनुशासनलाई कडाईका साथ कार्यान्वयन गर्ने, अघिल्लो बर्षको दायित्व भुक्तानीलाई अघि बढाउने आधार तयार गरिएको मुख्यमन्त्री आचार्यको भनाइ छ।

उनले पूर्व विशिष्ट पदाधिकारीको नाममा दिईँदै आएको सेवा सुविधा (सवारी, इन्धन, मर्मत लगायत) फिर्ता गराउनेसम्बन्धी प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आएको बताए । यस्तै लुम्बिनी प्रदेशको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच बर्षे रणनीतिक कार्ययोजना प्रदेश सरकारबाट स्वीकृत भएको उनले बताए।

बुटवलस्थित सुविधासम्पन्न १२ तले एक हजार दुई शैया रहने यस अस्पताल भवन ६ अर्ब १८ करोड बढीको लागतमा २०८५ साल पुससम्ममानिर्माण सम्पन्न गर्नेगरी शिलान्यास भई कार्य शुरू गरिएको उनले बताए।

प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा ३ अर्ब ९ करोड रूपैयाँको लागतमा प्रशासनिक केन्द्र जसमा मुख्यमन्त्री कार्यालय सहित १० वटा मन्त्रालय रहने गरी कार्य तीव्र रूपमा अघि बढेको, १ खर्बको लागतमा २० वर्षभित्र आधुनिक सहर निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार सरकारले नदी सभ्यतामा आधारित नमुना शहरका लागि साझेदार एवं लगानीकर्ताखोज्न पहल गरिएको उनको भनाइ छ।

चालु आर्थिक वर्ष २०८१/०८२ देखि पाँच लाख वा सोभन्दा माथिका सबै आयोजना/कार्यक्रम अनिवार्य रूपमा प्याकेजिङ गरी टेण्डर प्रक्रियाबाट सार्वजनिक प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरिएको उनले बताए।

यो अवधिमा पुँजीगत तर्फको कूल विनियोजन भएको नौ अर्ब ७३ करोड १२ लाख ५१ हजार मध्ये ५८ करोड ८ लाख २ हजार रूपैयाँ खर्च भएको उनले बताए। सडक पूर्वाधार अन्तर्गत १५ किलोमिटर सडक कालोपत्रे, छ किलोमिटर सडक ग्राभेल र पाँच सय मिटर ढलान सम्पन्न भएको उनले बताए।

चालु आर्थिक वर्षमा अख्तियारी प्राप्त आयोजनाहरूमध्ये २२५ वटा आयोजनाहरू टेण्डर प्रक्रियामा गएका, जसमध्ये ६५आयोजनाको सम्झौता सम्पन्न भएको, २१ वटा आयोजनाहरू सम्झौताको प्रक्रियामा रहेकाे उनले बताए।

कात्तिक १३, २०८१ बुधबार १४:०५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।