दक्षिण भारतीय फिल्मको धङधडीमा नेपाली निर्माता, नायकहरूमा अल्लु अर्जुन देखिने लोभ

दक्षिण भारतीय फिल्मको धङधडीमा नेपाली निर्माता, नायकहरूमा अल्लु अर्जुन देखिने लोभ

काठमाडौं : मौलिकधारका नेपाली फिल्म दुर्लभै बन्छन् नेपाली कला क्षेत्रमा। कहिले बलिउडको ह्याङ त कहिले कोरियन फिल्मको धङधङी। आक्कलझुक्कल आफ्नै पाराका फिल्म नबन्ने हैन। तर, ती नराम्रोसँग थलिन्छन् हलमा। अनि बजारमा जे चल्छ त्यसैको पछि कुद्छन् नेपाली निर्माता।

पछिल्लो समय बलिउड फ्लेवरका फिल्म भारतीय फिल्मको प्रभाव रहेकै क्षेत्रमा नराम्रोसँग पिटिए। भिएफएक्सको सहारामा काल्पनिक अति हिंसात्मक फिल्मले बजार पिट्यो। नेपाली निर्माता पनि त्यसैको लहै लहैमा लागे।

प्रदर्शन भएका केही नेपाली फिल्म अनि प्रदर्शनको तयारीमा रहेका फिल्म हेर्दा नेपाली निर्माताको दिमागमा गढेको दक्षिण भारतीय फिल्मको प्रभाव प्रष्ट देखिन्छ।

हरेक कालखण्डमा नेपाली फिल्मले आफ्नो धार परिवर्तन हुन्छ नै। कृष्ण मल्ल र प्रकाश अधिकारीपछि भुवन केसी, राजेश हमाल र दिलिप रायमाझीका अलवा निखिल उप्रेती, विराज भट्टसम्म आउँदा फिल्मका केहि धार परिवर्तन भए।

सामाजिक कथावस्तुका फिल्महरू निर्माण भइरहेको अवस्थामा निखिल उप्रेती र विराज भट्टको आगमनले नेपाली फिल्म क्षेत्रलाई एक्सन जनरामा धकेल्यो। पुलको डिलमा हिड्नेदेखि सात तलाबाट हामफालेका सिनसमेत दर्शकले देखे।

एक्सन मत्थर हुँदै गएपछि निश्चल बस्नेतले नाटकमा काम गरिरहेका सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीको जमातले फिल्मलाई लिएर फिल्म क्षेत्रलाई नाट्यशैलीमा डो¥याए। राजेश हमाल, भुवन केसी, विराज भट्ट, निखिल उप्रेतीको युगबाट फिल्म ‘लुट’ युगमा प्रवेश गर्यो।

लुटबाटै नेपाली फिल्ममा मौलिक धार भित्रिएकोमा फिल्मकर्मी र समीक्षकहरूको एक मत छ। यहि धारका फिल्मबाट नेपाली दर्शकले यर्थाथवादी फिल्म र मौलिक अभिनयको साक्षी बन्न पाए। त्यसअघि यस्ता अभिनय हेर्न नाटकघर नै धाउनुपर्ने बाध्यता छँदै थियो।

अहिले यहि धारमा नेपाली फिल्म दौडिरहेको छ। एक दशकदेखि रङ्गमञ्चबाट आएका कलाकारले नै नेपाली फिल्म क्षेत्र धानिरहेका छन्। उनीहरूको अभिनय र कथा भन्ने शैलीलाई दर्शकले पनि रुचाइरहेकाले अहिलेसम्म उनीहरूकै रजगज छ फिल्म क्षेत्रमा।

तर, अब प्रदर्शनमा आउन लागेका केही फिल्मले भने मौलिक र यर्थाथवादी भनिएको धारलाई परिवर्तन गर्न खोजेको देखिन्छ। प्रदर्शनको संघारमा रहेका आधा दर्जनभन्दा बढी फिल्ममा दक्षिण भारतीय फिल्मको प्रभाव लुक्न सकेको छैन।

नेपाली फिल्मकर्मी र दर्शकमा परेकोे दक्षिण भारतीय फिल्मको प्रभावको असर उनीहरूले निर्माण गरेको फिल्मका पोस्टर, टिजरमा समेत देखिन थालिसक्यो।

साउथको नक्कल
प्रदर्शन भइसकेका र प्रदर्शनमा आउन आउन लागेको केही नेपाली फिल्महरूको पोस्टर, टिजर र ट्रेलर हेर्दा त्यसमा दक्षिण भारतीय फ्लेवर मिसिएको देखिन्छ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘अगत्स्य’ले फाइटदेखि पोस्टरसम्ममा दक्षिण भारतीय फिल्मको प्रभाव छर्लङ्गै देखियो। प्रदर्शनको तयारीमा रहेको आधा दर्जन फिल्म दक्षिण भारतीय फिल्मकै पछाडि दौडिएका छन्।

अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना र ज्योतिष हरिहर अधिकारीको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘ह्रस्व दीर्घ’को पोस्टरमा दक्षिण भारतीय फिल्मकै शैली देखिन्छ। उतैका कलाकारको अभिनय रहेको फिल्मलाई उतैको भाषामा पनि डब गरिँदैछ।

फिल्म अहिले छायांकन सकेर पोस्ट प्रोडक्सनको काममा छ। निर्माण टिमले सार्वजनिक गरेको फिल्मको पोस्टरमा भारतीय कलाकारले बढी स्थान पाएका छन्। फिल्ममा दक्षिण भारतीय कलाकारहरू ब्रम्मानन्दम, सुनिल वर्मा, प्रदीप राउत लगायतको अभिनय छ।

यता अभिनेत्री पूजा शर्माले निर्माण तथा अभिनय गरेको फिल्म ‘रावायण’को पोस्टरदेखि टिजरसम्मले दक्षिण भारतीय फिल्मकै झल्को दिन्छ। यो फिल्मको टिजरमा अधिकांश फाइट सिनले अल्लु अर्जुन, रामचरण अनि जुनियर एनटीआरको झ-झल्को मेटाइदिन्छ।

एकताका राम्रै लभस्टोरी फिल्म निर्देशन गरेका सुदर्शन थापाले अहिले आफ्नो विधालाई चटक्कै माया मारेर एक्सन जनरामा उत्रिएका छन्। ‘रावायण’ फिल्ममा लभस्टोरी फिल्म र म्युजिक भिडियोमा जमेका अभिनेता पल शाहलाई एक्सन अवतारमा उतार्ने कोसिस गरेका छन्।

‘रावायण’कै अभिनेता शाह नै खेल्ने भनिएको फिल्म ‘कल्ली’को पोस्टर पनि रिलिज भइसकेको छ। यो फिल्ममा पनि दक्षिण भारतीय फिल्मकै प्रभाव मज्जैले देखिन्छ। फिल्ममा अभिनेता शाहको आक्रमक रूप देखाइएको छ भने बेनिसा हमाल पनि हातमा मसाल लिएर उभिएकी छन्।

फिल्म ‘प्रेम गीत’ तथा यसको सिक्वेल निर्माण गरेका सन्तोष सेनले ‘बलिदान’ फिल्म घोषणा गरेको लामै समय भयो। फिल्ममा बिराज भट्टका छोरा समिरको डेब्यु हुँदैछ।

केही महिनाअघि रिलिज भएको फिल्मको पोस्टरमा दक्षिण भारतीय फ्लेवर मिसिन्छ। आगामी दशैंको फुलपातीमा प्रदर्शन गरिने भनिएको फिल्मको अहिलेसम्म छायांकन हुन सकेको छैन।

‘१० वर्षअघिकै अवस्थामा फर्कियो नेपाली फिल्म’
फिल्म ‘रावायण’ तथा ‘नमेटिएका घाउ’का लेखक समेत रहेका शिवम् अधिकारी हरेक दशकमा फिल्मको निर्माण शैली परिवर्तन हुने बताउँछन्।

गाउँघर, पाखा पखेरा र नेपाली ठेट शब्दमा बनेका फिल्मबाट दर्शक मनोटनस भएपछि फिल्ममेकर पुनः पुरानै शैलीमा फर्किएको उनको दाबी छ।

उनी भन्छन्, ‘समय अनुसार दर्शकले फिल्मलाई हेर्ने गरेका छन्। ७० को दशकमा एक प्रकारको फिल्म आइरहेको बेला दर्शकले नयाँ टेष्ट खोजे। त्यसपछि दर्शकले गाउँको, अर्गानिक कुराहरू समेटिका फिल्मलाई रुचाए।’

उनी थप्छन्, ‘त्यतिबेला फिल्मको कन्टेन्टलाई बढी ध्यान दिँदा मेकिङ एकै खालको भयो। त्यसले दर्शकलाई फेरि अटसमटस बनायो। जुन फिल्म निर्माण गर्दा हामी सिनेम्याटिक भन्छौ नि, त्यो फ्रेममा बनेका फिल्म १० वर्षअघिको फिल्मलाइनमा फर्कन लागेको हो।’

यद्यपि फिल्मको कथावस्तु भने १० वर्ष अघिको भन्दा केहि फरक बनेर आउन लागेको उनी दाबी गर्छन्।

उनी भन्छन्, ‘त्यतिबेलाको कन्टेन्ट र अहिलेको कन्टेन्टमा त्यति फरक नहोला तर त्यहि शैलीमा फिल्म फर्कन लागेको हो जस्तो लाग्छ मलाई।’

नेपाली फिल्म दक्षिण भारतीय फिल्मको शैलीको नभएर एक्सनको पाटोमा चाहिँ एकैनास देखिएको हुनसक्ने उनी स्वीकार्छन्।

एउटै शैलीको फिल्म हेरेर वाक्क भएका दर्शकलाई हलसम्म तान्न पनि फरक स्वादको फिल्म दिन आवश्यक रहेको उनको भनाइ छ। गाउँघरको एउटै कथालाई दर्शकले अब धेरै समय नरुचाउने उनको दाबी छ।

कति रुचाए त? 
इन्टरनेट नहुँदा बलिउड, हलिउड तथा दक्षिण भारतीय फिल्म नेपालका हलमा चले पनि खासै वास्ता हुँदैनथ्यो। त्यतिबेलासम्म नेपाली दर्शकमा दक्षिण भारतीय फिल्मप्रति त्यति चासो पनि देखाउँदैनथे।

तर, इन्टरनेटको पहुँच बढेसँगै दक्षिण भारतीय फिल्मको प्रभाव नेपालभर फैलियो। सोही फिल्मको कपी गरेर बनाइएका बलिउड फिल्म समेत दर्शकले रुचाउन छाडे।

गत वर्ष रिलिज भएको फिल्म ‘अगत्स्य’ल साउथ इण्डियन शैलीकै फिल्म थियो। सौगात मल्ल, नाजिर हुसेन लगायतका बलिया कलाकार राखेर सोही शैलीको फिल्म निर्माण गरिएको थियो। फिल्मले सीमित दर्शक बाहेक हलमा दर्शक तान्ने सकेन।

दयाहाङ राई, मिरुना मगरले अभिनय गरेको फिल्म ‘रंगेली’पनि उस्तै भयो। यो फिल्ममा त झन् पूरै साउथ शैलीकै सिनहरू राखिएका थिए। भिएफएक्स पनि राम्रो थियो। तर, कथामा फ्लप खाँदा दर्शकले फिल्म रुचाएनन्। फिल्म फ्लप नै भयो।

अब त्यहि शैलीका झण्डै आधा दर्जन फिल्म प्रदर्शनको तयारीमा रहेका छन्। नीता ढुङ्गानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ असोज ३ गते तीन भाषामा प्रदर्शनमा आउँदैछ।

यता भदौ २१ गते प्रदर्शनमा आउन लागेको पल शाह ‘कल्ली’देखि विराज भट्टको ‘१२ गाउँ’ प्रदर्शन हुँदा बाह्र गाउँका दर्शक आएर रुचाएको खण्डमा नेपाली फिल्मले एक्सनतर्फ मोडिने पक्का छ।

साउन २५, २०८१ शनिबार १४:५५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।