कोरिया जाने नेपाली कामदार बोक्दै आएको कोरियन एयरको एकाधिकार तोडिँदै, विभागद्वारा बोलपत्र आह्वानको निर्णय

कोरिया जाने नेपाली कामदार बोक्दै आएको कोरियन एयरको एकाधिकार तोडिँदै, विभागद्वारा बोलपत्र आह्वानको निर्णय

काठमाडौं : इपिएस प्रणालीबाट कोरिया जाने नेपाली कामदारका लागि उडान भर्दै आइरहेको कोरियन एयरको एकाधिकार तोडिने भएको छ।

वैदशिक रोजगार विभागको जेठ २८ गतेको बैठकले विभिन्न एयरलाइन्सको दररेट माग्ने र प्राप्त भएपछि लागत अनुमान गरेर बोलपत्र आह्वान गरिने निर्णय गरेसँगै कोरियन एयरको एकाधिकार तोडिन लागेको हो।

‘हामीले आफ्नो प्रक्रिया अनुसार काम गरिरहेका छौँ। यसपटक दरभाउ मात्रै मागिँदैन। बोलपत्र आह्वान गर्ने पनि निर्णय गराएको छु,’ विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, ‘अब केही दिनमा नै सूचना निस्कन्छ।’

घिमिरेका अनुसार अब सिधा उडान भर्ने विमान मात्रै नभएर ट्रान्जिट हुँदै कोरिया जानेले पनि प्रतिष्पर्धामा सहभागी हुन सक्नेछन्।

२०८० चैत २० गते उकेराले वैदेशिक रोजगार विभाग र नागरिक उड्डयन प्राधिकरणबीचको मिलेमतोमा कामका लागि कोरिया जाने नेपालीहरूबाट एक वर्षमा एक अर्ब ठगी हुने गरेको खुलेको समाचार प्रकाशित गरेको थियो।

नेपालको कोरियन एयरको आधिकारिक विक्रेता युनिभर्सल टुर्स एन्ड ट्राभल्स कम्पनीलाई फाइदा हुने गरी यही कम्पनी मार्फत फाइदा लिन प्राधिकरण र विभागले टेन्डर समेत आह्वान नगरी टिकटको जिम्मा विभागले उसैलाई दिएको थियो। कोभिडअघि पनि कोरियन एयरलाइन्सको एकाधिकार थिएन।

सिधै उडान भर्ने कोरियन एयर मात्र भए पनि ट्रान्जिट हुँदै क्याथी प्यासिफिक हङकङ हुँदै जान्थ्यो भने थाई एयर बैंकक हुँदै कोरिया जान्थ्यो। त्यस्तै मलेसियन विमान क्वालालम्पुर हुँदै कोरिया जान्थ्यो। त्यतिबेला विकल्प थिए। अहिले ती विकल्प छैनन्।

विभागको निर्देशिकामा कोरिया जाने कामदारको हकमा हवाई टिकट खरिद गर्न बोलपत्र आह्वान गर्नुपर्ने उल्लेख छ। तर, विभागले टेन्डर समेत नगरी एकलौटी हिसाबले कोरियन एयरलाई मात्रै टिकट खरिद गर्न अनुमति दिएर अनियमितता गरेको प्रष्टै थियो। त्यो समयमा बोलपत्र आह्वान गरिएको थिइएन।

विभागको ‘रोजगार अनुमति प्रणाली (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७३’ को दफा २३ को १ अनुसार ‘इपिएस शाखाले रोजगार अनुमति प्रणाली अनुसार गणतन्त्र कोरियामा वैदेशिक रोजगारमा जाने कामदारको लागि हवाई टिकट खरिद गर्न प्रचलित कानून बमोजिम बोलपत्र आह्वान गर्नुपर्ने’ भनी उल्लेख छ।

असार ६, २०८१ शुक्रबार १४:००:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।