विश्वकपको समूह चरणबाटै बाहिरएपछि न्यूजिल्यान्डका कप्तानले दिए राजीनामा, केन्द्रीय सम्झौता त्यागेको घोषणा

विश्वकपको समूह चरणबाटै बाहिरएपछि न्यूजिल्यान्डका कप्तानले दिए राजीनामा, केन्द्रीय सम्झौता त्यागेको घोषणा

काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२४ को समूह चरणबाटै बाहिरिएपछि न्यूजिल्यान्डका कप्तान केल विलियम्सनले राजीनामा दिएका छन्। साथै उनले केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि त्यागेको घोषणा गरेका छन्।

न्यूजिल्यान्ड क्रिकेटको विज्ञप्तिमा विलियम्सनले भनेका छन्, ‘टीमलाई अगाडि बढाउन मद्दत गर्नु मेरो दायित्व हो। म टिमलाई अझ बढी योगदान गर्न चाहन्छु। यद्यपि म अहिलेको केन्द्रीय सम्झौताको प्रस्ताव स्वीकार गर्न असमर्थ छु।’

३३ वर्षीय विलियम्सनले गत सिजनमा टेस्टको कप्तानी छाडेका थिए। उनीपछि टिम साउथीलाई त्यसको जिम्मेवारी दिइएको थियो।

केन्द्रीय सम्झौता त्यागेको घोषणासँगै उनले न्यूजिल्यान्ड क्रिकेटप्रति आफ्नो प्रतिबद्धतालाई दोहोर्याउँदै भविष्यमा सम्झौता स्वीकार गर्ने वा नगर्ने भन्नेबारेमा पनि खुलाएका छन्।

उनले भनेका छन्, ‘न्यूजिल्यान्डको लागि खेल्नु मेरा लागि एकदमै अमूल्य हो। टिममा फेरि पनि योगदान गर्ने इच्छा कमी भएको छैन। यद्यपि क्रिकेटभन्दा बाहिर मेरो जीवन बदलिएको छ। परिवारको साथमा धेरै समय बिताउन र घर वा विदेशमा उनीहरूको साथमा रहेर समय बिताउनु मेरा लागि अझ धेरै महत्वपूर्ण छ।’

जारी विश्वकपको समूह ‘सी’मा रहेको न्यूजिल्यान्डले समूह चरणको सुरुवाती दुई खेलमा अफगानिस्तान र वेस्ट इन्डिजसँग पराजित भएको थियो।

यी दुई खेलमा पराजित हुनेबित्तिकै समूह चरणबाट बाहिरिएको न्यूजिल्यान्डले बाँकी दुई खेलमा युगान्डा र पपुवान्यूगिनीलाई पराजित गरेको थियो।

असार ४, २०८१ बुधबार ०९:१८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।