कुरिन्टारमा दिगो ई-स्टपको सुरुवात, ईभी चार्जिङ स्टेशन सुविधा प्रदान गर्ने

कुरिन्टारमा दिगो ई-स्टपको सुरुवात, ईभी चार्जिङ स्टेशन सुविधा प्रदान गर्ने

काठमाडौं : चितवनको कुरिनटारमा दिगो ई-स्टपको उद्घाटन भएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा नेपालकै सबैभन्दा ठूलो दिगो रेस्ट स्टपको दोस्रो सञ्जालको उद्घाटन गरिएको हो। 

यो ई-स्टपले देशको सबैभन्दा ठूलो निजी स्वामित्वमा रहेको ईभी चार्जिङ स्टेसन सुविधा प्रदान गर्ने बताइएको छ। गत वर्षदेखि मूलकोटको रामटारमा पहिलो इ–स्टप सञ्चालनमा आएको छ।

उद्घाटन सम्बोधनमा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले देशको यातायात क्षेत्रको रुपान्तरणमा दिगो पूर्वाधारको महत्वपूर्ण भूमिकामा जोड दिए। 

'दिगो ई-स्टपको स्थापना हरियाली र थप दिगो भविष्यतर्फको महत्वपूर्ण कदम हो। विद्युतीय सवारी साधनको प्रयोगमा सहजीकरण गरेर हामीले हाम्रो कार्बन फुटप्रिन्ट घटाउने मात्रै होइन ऊर्जामा स्वतन्त्रता र स्वच्छ हावाको बाटो पनि प्रशस्त गरिरहेका छौं,’ उनले भने।

दिगो ग्रुप अफ कम्पनीजका अध्यक्ष राजन रायमाझीले परियोजनालाई सम्भव गराउनुहुने अतिथि र साझेदारहरूप्रति कृतज्ञता व्यक्त गरे। 

कुरिन्टारमा दिगो ई-स्टपले आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएका सेवाहरू प्रदान गर्दछ। यसको मूल भागमा उन्नत ईभी चार्जिङ स्टेसनहरू छन्, जसले विद्युतीय सवारी साधनहरू सधैं सडकमा छन् भनी सुनिश्चित गर्दछ। यस सुविधामा यात्रुहरूलाई सफा र स्वच्छ खानाहरू प्रदान गर्ने रमाइलो रेस्टुरेन्ट पनि रहेको जनाइएको छ।  

असार ३, २०८१ मंगलबार १८:५२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।