सुदूरपश्चिममा मन्त्रीको नाममा माओवादीभित्र लफडा, एमालेमा छैन विवाद

सुदूरपश्चिममा मन्त्रीको नाममा माओवादीभित्र लफडा, एमालेमा छैन विवाद

धनगढी : एमाले सरकारमा जान इच्छुक नभएपछि सरकार गठन भएको लामो समयसम्म विस्तार हुन नसकेको सुदूरपश्चिम प्रदेश सरकारमा सोमबार माओवादी र एमालेबाट ३-३ जना मन्त्री बनाउने तयारी भएसँगै माओवादी केन्द्रमा विवाद सुरु भएको छ।

मन्त्रीमा नाम नपरेका सांसदहरूले संसदीय दल र पार्टीभित्र छलफल नै नगरी संसदीय दलका नेता मानबहादुर धामीले एकलौटीरुपमा मन्त्रीको नाम सिफारिस गरेको भन्दै माओवादीका सांसदहरू मुख्यमन्त्रीकोमा पुगे।

माओवादी केन्द्रबाट मन्त्रीका लागि अक्कल रावल, ओमविक्रम भाट र लक्ष्मी बिकको नाम सिफारिस भएपछि माओवादी सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवर पौडेलले संयुक्तरूपमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई पत्र पठाएर नियुक्ति रोक्न ध्यानाकर्षण गराएका छन्।

आजै पाँच बजे नयाँ सदस्यहरू थप गरेर मन्त्रीपरिषद् विस्तार गर्ने सोडारीले तयारी गरेका छन्। सरकारमा एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको छ। उनीहरूको नाममा भने कुनै लफडा भएको छैन।

जेठ २८, २०८१ सोमबार १५:२६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।