गोर्खा मिडियाको मात्र नाम राखेर छानबिन समिति बनाउन मानेनन् देउवाले

गोर्खा मिडियाको मात्र नाम राखेर छानबिन समिति बनाउन मानेनन् देउवाले

काठमाडौँ : सहकारी समस्या समाधानका लागि गठन  हुने संसदीय समितिको कार्यादेशमा व्यक्तिको नाम तोक्नुपर्ने शेरबहादुर देउवाको अडानपछि सहमति नभई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुढानीलकण्ठबाट निस्किए।

शनिवार संसदीय समितिको कार्यादेश तोक्न बनेको कार्यदलले सहकारी र कम्पनीको नाम राख्ने सहमति गरेर प्रस्ताव शीर्ष नेताहरूको बैठकमा पठाउने निर्णय गरेको थियो।

कार्यदलमा रहेका कांग्रेसका प्रतिनिधि गृहमन्त्री रवि लामिछानेको नामको साटो उनको नाम जोडिएको सहकारीको नाम र गोर्खा मिडिया प्रालीको नाम राखेर समिति गठन गर्न सकारात्मक भएपछि कार्यदलमा सहमति भएको थियो।

अन्तिम सहमति शीर्ष दलका नेताहरूले गर्ने सहमति अनुसार आइतबार शीर्ष दलको बैठकको तयारी थियो। बैठक अगाडि देउवालाई मनाउन प्रधानमन्त्री प्रचण्ड देउवा निवास बुढानीलकण्ठ पुगेका थिए।

तर कांग्रेस सभापति देउवा सहमत भएनन्। कांग्रेस नेता जीवन परियारका अनुसार देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान र संसद्को गतिरोध अन्त्य गर्न विकल्पहरूबारे सोच्न आग्रह गरेका थिए। 

प्रचण्डले सहकारी समस्या समाधान गर्न गोरखा मिडिया नेटवर्कको नाम उल्लेख गरेपछि व्यक्तिको नाम राखिरहन आवश्यक नभएको बताए पनि ‘गोरखा मिडिया नेटवर्कको नाम मात्र लिएर पुग्दैन, कम्तीमा त्यहाँ संलग्न व्यक्तिहरू को को हुन् भन्ने पनि उल्लेख नगरी छानबिन अगाडि बढ्न सक्दैन भन्ने अडान यथावत् रहेको परियारले जानकारी दिए।

सरकारले आइतबारको संसदबाट नीति तथा कार्यक्रम पास गर्ने तयारी गरेको छ। प्रतिपक्षले संसद् अवरोध जारी राख्ने जनाएको छ। संसदको बैठकको अवरोध हटाउन र सहमति गर्न प्रचण्ड देउवा निवास पुगेका थिए।

जेठ १३, २०८१ आइतबार ११:२५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।