ह्युस्टन हुरिकेन्समाथि छ रनको जितपछि किन भयो सुपर ओभर

ह्युस्टन हुरिकेन्समाथि छ रनको जितपछि किन भयो सुपर ओभर

काठमाडौं : विश्वकप तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्यहाँको स्थानीय टोली ह्युस्टन हुरिकेन्ससँग ६ रनको जितपछि पनि सुपर ओभर खेलेको छ।

शुक्रबार राति अमेरिकाको ह्युस्टनमा भएको खेलमा नेपालले स्थानीय टोलीलाई आठ विकेट गुमाएर १४६ रन बनाएको थियो।

नेपालका लागि अनिलकुमार शाहले ४७, रोहित कुमार पौडेलले २३ र सन्दीप जोराले २१ रनको पारी खेले। गुल्सन झा २०, कुशल मल्ल १२ रनमा आउट हुँदा करण केसीले १० रन जोडे।

हुरिकेन्सका इमरान खान जुनियरले तीन तथा उसमान सिनवारीले दुई विकेट हात पारे।

१४७ रनको लक्ष्य पछ्याएको हुरिकेन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटियो। नेपालका लागि करण केसी र सोमपाल कामीले दुई-दुई विकेट लिँदा सागर ढकाल र कुशल भुर्तेलले एक–एक विकेट हात पारे।

खेलमा विजयी भएपनि विश्वकपका लागि तयारीमा निम्ति खेलपश्चात सुपर ओभर समेत खेलाईएको थियो। सो सुपर ओभरमा पनि नेपाल नै विजयी भएको थियो।

ह्युस्टनमा शनिबार अभ्यास खेलपछि नेपाली टोली ड्यालस जानेछ। त्यहाँ क्यानाडासँग‌ मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच खेल्नेछ।

त्यसपछि सोही स्थानमा नेपालले जुन ४ मा टि ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ।

जेठ १२, २०८१ शनिबार ०७:२६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।