दासढुंगा घटनाबारे केपी ओलीको त्यो प्रतिवेदन : अमर लामा एक्लैले हत्या गर्न असम्भव, उच्चस्तरको षड्यन्त्र
काठमाडौं : २०५० जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित चढेको जिप दासढुंगामा खस्यो। त्यो बेलामा एमालेले निकै उथलपुथल मच्यायो।
निरन्तर संसद् अवरुद्ध भयो। सडकका रेलिङ भत्काइए। देशी-विदेशी शक्ति लागेर दुवै नेताको हत्या गरेको भन्दै एमालेले आयोग गठनको माग गर्यो। सरकारले प्रचण्ड राज मल्लिकको नेतृत्वमा आयोग गठन गर्यो, जसको निष्कर्ष एमालेले दाबी गरेझैँ निस्किएन।
उनीहरूले आयोगको निष्कर्ष अस्वीकार गर्दै पार्टीगत रूपमा एमाले नेता केपी ओलीको नेतृत्वमा आयोग गठन गरेको थियो। त्यो आयोगले दुवै नेताको हत्या भएको दाबी गर्दै निष्कर्ष दियो- ‘अमर लामा एक्लैले यो स्तरको हत्या गर्न सम्भव छैन। तथ्यहरूले उच्चस्तरको षड्यन्त्र देखाइरहेको छ।’
प्रतिवेदनको निष्कर्ष छ- ‘यस सम्बन्धमा वास्तविकता पत्ता लगाएर षड्यन्त्रकारीहरूलाई जनता समक्ष उभ्याउने दायित्व सरकारको हो र अहिलेसम्म यो दायित्व वहन गर्ने प्रयास सरकारले गरेको देखिएको छैन।’
संयोग, दासढुंगा घटना घटेको आज ३० वर्ष पुग्यो। दुई पटक मुलुकको राष्ट्रपति उनै मदनकी श्रीमती विद्या भण्डारी भइन्।हिजो दासढुंगा घटनालाई उच्चस्तरको षड्यन्त्र ठहर गर्दै सरकारले छानबिन गरेर वास्तविकता जनसमक्ष ल्याउनुपर्ने निष्कर्ष निकालेका आयोगका प्रमुख केपी ओली प्रधानमन्त्री भए। एकपटक हैन तीन-तीन पटक।
तर, हिजो उनले जुन दायित्व सरकारको हो भनेका थिए त्यो दायित्व आफ्नो कार्यकालमा निभाएनन्। प्रतिपक्षमा गएपछि हत्या भन्न थालेका छन्।
एमालेले गठन गरेको ओली आयोगको प्रतिवेदनको १५ बुँदे निष्कर्ष
श्रद्धेय जननेता कमरेड मदन भण्डारी र आदरणीय कमरेड जीवराज आश्रितको असामयिक देहावसान भएको दासढुंगा घटना सम्बन्धमा पार्टीको तर्फबाट छानबिन गर्न मिति २०५०/२/५ मा पार्टीको स्थायी कमिटीको सदस्य तथा सांसद क.खड्ग प्रसाद ओलीको संयोजकत्वमा गठित आयोगले मिति २०५०/३/३ मा आफ्नो प्रतिवेदन पार्टीसमक्ष पेस गरेको छ।
तहकिकातको क्रममा सम्बन्धित व्यक्तिहरूसँग बयान लिने, घटना सम्बद्ध स्थानहरूको भ्रमण गरी तथ्यहरूको सङ्कलन गर्ने, घटनास्थलको सूक्ष्मतम अध्ययन गर्ने, सम्बन्धित गाडीको प्राविधिक जाँच गर्ने, पुनः शव-परीक्षण गराई रासायनिक जाँच गराउने र पत्र-पत्रिकाहरूमा प्रकाशित सम्बद्ध तथ्यहरूको सङ्कलन गर्ने काम आयोगले गरेको थियो।
यस दौरानमा आयोगले पार्टी सदस्य, शुभचिन्तक एवं आम जनसमुदायको सहयोग प्राप्त गरेको थियो। यस प्रकार सङ्कलन गरिएका तथ्यहरूको गम्भीर र न्यायोचित विश्लेषण पश्चात् आयोग निम्न निष्कर्षमा पुगेको छ:-
१. घटनास्थलको बाटो फराकिलो, सोझो, एकदमै सामान्य ढङ्गको ओरालो मात्र भएको, दुर्घटना स्थलस्थित सडकको बायाँपट्टि पहाडी भित्ताभन्दा पहिले फराकिलो र खाली भएको, गाडी बायाँ च्यापिएर गइरहेको, एक्सिलेटर छाडेको र दायाँ-बायाँ काटिएको कारणले नियन्त्रण गर्न नसकिने गतिमा गाडी नरहेको अवस्थामा गाडी गुडेर नै सडकबाट नदीतर्फ खसेको छ। गाडीले पहिलो ठक्कर खाए पछाडि नै गाडी बल्ड्याङ्ग खाँदै नदीमा झरेको देखिन्छ।
२. गाडीको अवस्था प्रत्येक दृष्टिकोणले राम्रो छ र गाडीको प्राविधिक त्रुटिबाट दुर्घटना भएको देखिँदैन।
३. गाडीको ब्रेक राम्रो अवस्थामा छ र ड्राइभरले ब्रेक लगाउने पटक्कै प्रयास गरेको देखिँदैन।
४. सडकको दायाँ छेउमा रहेको झोपडीलाई र बायाँ भित्तामा ठोक्किनबाट गाडीलाई बचाउन सकेबाट गाडी ड्राइभर अमर लामाको पूर्ण नियन्त्रणमा रहेको देखिन्छ।
यस्तो अवस्थामा गाडीलाई दाहिने खोलातर्फ घुमाएर ब्रेक लगाउने कोसिससम्म नगरी, बायाँ घुमाउने प्रयास नगरी र दिवङ्गत कमरेडहरूलाई सचेत गराउने एक शब्दसम्म नबोली आफू उम्कन तयारी गरी सडकको डिलमा पुगेर ड्राइभर अमर लामा हाम फालेको देखिन्छ।
आफू हाम्फाल्नु अगाडि ड्राइभर लामाले गाडीको ट्रान्समिसन गियरलाई न्यूटल राखेर निस्किएको छ। यसबाट अमर लामाले जानी-जानी र देखिएको परिणाम होस् भन्ने इच्छा राखेर सुनियोजित ढङ्गले काम गरेको देखिन्छ।
५. गाडीको पछाडि-पछाडि खोला पुगेर उद्धारको कार्यमा संलग्न नभई मुखको रगत धुने, लुगाको हिलो पखाल्ने, शरीरमा पानी छ्याप्ने र घटनास्थलमा पन्ध्र मिनेट पनि नबसेर अरूलाई सम्बन्धित निकायमा खबर गर्न पठाएर आफू उद्धारको लागि जुट्नुपर्ने स्वाभाविक प्रतिक्रियाको प्रतिकूल नारायणगढ गएर झुटो सूचना प्रवाहित गर्नुबाट ड्राइभर अमर लामा सुनियोजित षड्यन्त्रको एउटा हिस्सा भएको प्रमाणित हुन्छ।
६. घटनास्थलमा रहेको बालुवा तथा भुसको थुप्रोलाई आधार बनाएर गाडीलाई खोलातर्फ झार्दा मात्र अहिले प्राप्त परिणाम देखिने, थुप्राहरू नियोजित देखिने उक्त बालुवाको थुप्रो स्वाभाविक रूपमा राखिएको भन्ने एउटा पनि तथ्य फेला पर्न नसकेको अवस्थामा उक्त थुप्राहरू, षड्यन्त्रलाई व्यवहारमा कार्यान्वयन गर्ने एउटा चिन्हको रूपमा आयोगले ग्रहण गरेको छ।
७. दिवङ्गत कमरेडहरूलाई गाडी खस्दै रहेको अवस्थामा सचेत गराउने एक शब्द पनि नबोल्ने, पार्टीलाई निरन्तर भ्रमित तुल्याउँदै गलत सूचना प्रवाह गर्ने र पार्टीसँग मतलब नरहेको अभिव्यक्ति प्रकट गर्ने जस्ता तथ्यहरूले गर्दा ड्राइभर अमर लामाको पार्टीप्रति कनै आस्था तथा निष्ठा रहेको देखिँदैन। तर, मानसिक रूपले ड्राइभर लामाको स्थिति भने स्वार्थ र कुनै पश्चात्ताप नभएको कुरा मनोरोग विशेषज्ञको रिपोर्टबाट देखिन्छ।
८. कमरेड जीवराज आश्रितको मृत्यु गाडीमै रहेको अवस्थामा पानी बाहिर भएको तथ्य प्रमाणित छ। तर कमरेड मदन भण्डारीको हकमा केही महत्त्वपूर्ण पक्षहरू प्रस्ट भएपछि मात्र उहाँको अवसान कहाँ भएको हो भनेर निश्चित गर्न सकिने अवस्था छ।
९. कमरेड मदन भण्डारीको मृत्यु पानी बाहिर भएको प्रमाणित छ तर उहाँको लास जाँच प्रतिवेदनले गाडी खस्दाको ठक्कर वा अन्य प्रकारको चोटले उहाँको मृत्यु भएको हुन सक्ने दुवै सम्भावनालाई देखाएको छ।
१०. कमरेड मदन भण्डारी बस्नु भएको गाडीको सिट र हेडरेष्टमा देखिएको कालो दाग र ड्राइभर लामाको कपडामा देखिएको रगत जस्ता दागहरूको रासायनिक जाँच भएको छैन। यसको जाँच हुनु एकदमै आवश्यक छ।
११. दिवङ्गत कमरेडहरूमाथि उच्च प्रविधियुक्त जाँचबाट मात्र पत्ता लाग्न सक्ने र अहिलेसम्म जाँच नगरिएको विषको प्रयोग भएको हुनसक्छ। यसको निरूपण हुनु आवश्यक छ र यसको लागि रोनाष्टको प्रयोगशालामा राखिएको अभिसेराहरूलाई जाँचको लागि प्रविधिको हिसाबले स्कटलैण्डस्थित प्रयोगशालामा पठाइनु पर्छ।
१२. उच्च प्रविधियुक्त जाँचबाट विषको प्रयोग भएको नदेखिएमा दिवङ्गत कमरेडहरूमाथि औषधिको प्रकृतिको कारणले जाँचबाट पत्ता लाग्न नसक्ने सुँघाउने औषधिको प्रयोग भएको हुनुपर्छ भन्ने निष्कर्षमा आयोग पुगेको छ।
१३. दासढुंगा घटनाको सन्दर्भमा देखिएको सुनियोजित तथा व्यवस्थित षड्यन्त्र र घटनापश्चात् पनि मुख्य अभियुक्त ड्राइभर अमर लामाले पाइरहेको आड भरोसा तथा संरक्षणबाट यसको पछाडि गम्भीर र उच्चस्तरको षड्यन्त्र रहेको आयोगको ठहर छ ।
१४. अमर लामा एक्लैले यो स्तरको हत्या गर्न सम्भव छैन । तथ्यहरूले उच्चस्तरको षड्यन्त्र देखाइरहेको छ । यस सम्बन्धमा वास्तविकता पत्ता लगाएर षड्यन्त्रकारीहरूलाई जनता समक्ष उभ्याउने दायित्व सरकारको हो र अहिलेसम्म यो दायित्व वहन गर्ने प्रयास सरकारले गरेको देखिएको छैन।
१५. अन्तमा दासढुंगा घटना पश्चात् सरकारले उद्धार कार्यको हकमा प्रचारमा बढी र व्यवहारमा भने उदासीनता तथा लापरबाही देखाएको छ।
षड्यन्त्रलाई नङ्ग्याएर अपराधीलाई कठघरामा उभ्याउने दिशामा, सरकारी संयन्त्र पूर्ण रुपमा उदासीन तथा निष्क्रिय रह्यो। यसबाट सरकारको काम कारबाही तथा प्रवृत्ति षड्यन्त्रलाई ढाकछोप र बढवा दिने खालको भएको देखिएको छ।’
पुन: प्रकाशित गरिएको।
सम्बन्धित समाचार:-
जेठ ३, २०८१ बिहीबार ०९:१३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।