दासढुंगा घटनाबारे राणा आयोगको निष्कर्ष : विष खुवाएर या अन्य प्रकारले दुवै नेताको हत्या भएको अस्वीकार

दासढुंगा घटनाबारे राणा आयोगको निष्कर्ष : विष खुवाएर या अन्य प्रकारले दुवै नेताको हत्या भएको अस्वीकार

काठमाडौँ : एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितलाई षड्यन्त्रमा पारेर हत्या गरेको एमालेको दाबी दासढुंगाबारे अनुसन्धान गर्न बनेको दोस्रो छानविन आयोगले समेत स्वीकार गरेन। 

३० वर्षदेखि एमालेका नेताहरूले मदन र आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको दाबी गरिरहे। सरकारले २०५० जेठ ३ गते भएको घटनाबारे अनुसन्धान गर्न प्रचण्डराज अनिलको नेतृत्वको आयोग गठन गरेको थियो। तर एमालेले प्रतिवेदन स्वीकार गरेन।

उनीहरुले हिजो पनि हत्याको दाबी गरे। अनी अहिले पनि गरिरहेका छन्। तर न उनीहरुले सरकारको नेतृत्व गर्दा यसको छानविन गराए न अहिले प्रतिपक्षमा बस्दा नै दबाव दिन सकेका छन्। फगत स्मृती दिवसमा एक दिन मदन-आश्रीतलाई सम्झन्। हत्या हो भन्छन्। अनी एक वर्षका लागि चुप।

यो बिचमा एमालेले तत्कालीन स्थानी कमिटी सदस्य केपी ओलीको नेतृत्वमा समेत आयोग गठन गरेको थियो। ओली नेतृत्वको आयोगले षड्यन्त्रपूर्ण रूपमा मदन र आश्रीतको हत्या भएको दाबी गरेको थियो।

नागरिकस्तरमा भन्दै पद्यमरत्न तुलाधरको नेतृत्वमा पनि आयोग बनेको थियो। त्यसले पनि शड्यन्त्रमै मारिएको दाबी गर्यो। 

पहिलो सरकारी आयोगको प्रतिवेदन अस्विकार गर्दै अर्को आयोग माग्यो एमालेले। एमालेको मागमा सरकारले २०५१ असारमा त्रिलोक प्रताप राणाको अध्यक्षतामा आयोग गठन गरेको थियो। सो आयोगले पनि आफ्नो प्रतिवेदनमा ‘ विष खुवाएर या अन्य प्रकारले दुवै नेताको हत्या भएको अस्वीकार गर्यो।

राणा आयोगको प्रतिवेदन पनि सरकारले औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन। तर उकेराले प्राप्त गरेको आयोगको प्रतिवेदनमा भनिएको छ‘ सम्भावित हत्यातर्फ अमर लामा सहितको सहभागितामा नियोजित षड्यन्त्र रहेको भन्ने कुरालाई हालसम्मको अनुसन्धानबाट प्रमाणित हुन नआएकोले यो आयोग अस्वीकार गर्दछ।’

आयोगको निष्कर्ष

मोटर चालक अमर लामाले लापरबाहीसाथ मोटर चलाएको कारणले’ नेताद्वय मदनकुमार भण्डारी र जीवराज आश्रितको ‘निधन भएको हो वा होइन भन्ने प्रश्न बाहेक दासढुंगाको दुर्घटनासँग सम्बन्धित अन्य प्रश्न वा विषयको सम्बन्धमा जाँचबुझ गर्ने’ भनी यस आयोगको काम, कर्तव्य र अधिकार तोकिएको हुँदा चालक अमर लामाले लापरबाहीसाथ बा.अ.च. ८७९३ को जिप चलाएको कारणले पूर्वोक्त नेता द्वयको निधन भएको हो वा होइन भनी जाँचबुझ गरी निष्कर्ष निकाल्ने कार्य यस आयोगको काम, कर्तव्य र अधिकार भित्र परेन ।

मिति २०५०।३।१४। २ मा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा १८ बमोजिम जिल्ला सरकारी वकिल कार्यालय, चितवनको जिल्ला सरकारी अधिवक्ताद्वारा चितवन जिल्ला अदालत, भरतपुरमा ‘सवारी जस्तो जोखिम साधन लापरबाहीपूर्ण तवरबाट चलाउँदा मानिस मर्न सक्छ भन्ने कुरा चालकले जाने–बुझेको मान्नु पर्ने भएकोले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको नं. १३ को देहाय ३ बमोजिम’ सजायको मागवादी लिई मुलुकी ऐन, अदालती बन्दोबस्त को नं. ८८ को प्रावधान समेतको उल्लेख गरी प्रस्तुत अभियोग पत्रको आधारमा चालक अमर लामालाई प्रतिवादी तुल्याई दर्ता भएको ‘सवारी ज्यान मुद्दा’ मा ‘प्रतिवादी अमर लामाले मदनकुमार भण्डारी तथा जीवराज आश्रितलाई ज्यान सम्बन्धी महलको १ नं. विरुद्ध सवारी दुर्घटना गराएर मारेको’ ठहर्याई सो जिल्ला अदालतबाट भएको फैसलामा चित्त नबुझी निज प्रतिवादी अमर लामाले मिति २०५०।१२।४।५ मा पुनरावेदन अदालत, हेटौँडामा चढाएको पुनरावेदन पत्र सो अदालतको निर्माणाधीन रहेकोले त्यसतर्फ आयोगले ठहर गर्ने स्थिति समेत भएन। .

अन्य प्रश्न वा विषयतर्फ विचार गर्दा मदन कुमार भण्डारी र जीवराज आश्रितलाई विष प्रयोगद्वारा हत्या गरी अमर लामाले चलाई राखेको बा.अ.च. ८७९३ को जिपबाट निज चालक हाम फाली सो जिप र त्यसमा तत्काल सवार रहनु भएका पूर्वोक्त नेताद्वयलाई दासढुंगामा त्रिशूली नदीमा खसालिदिएको, 

वा पूर्वोक्त नेताद्वयलाई बेहोस हुने वा लट्ठ्याउने औषधि प्रयोग गरी अचेत वा अस्वस्थ तुल्याई आफूले चलाइराखेको सो जिपबाट चालक अमर लामा हाम फाली सो जिप र त्यसमा तत्काल सवार रहनु भएका पूर्वोक्त नेताद्वयलाई दासढुंगा त्रिशूली नदीमा खसालिदिएको, 

वा बेहोस हुने वा लट्ठ्याउने औषधि प्रयोग गरी स्याउली बजारदेखि दासढुंगासम्ममा कहीँ कुनै आपराधिक क्रियाद्वारा मदन कुमार भण्डारीको हत्या गरी कनै सवारी वाहनद्वारा दासढुंगाभन्दा तल निजको शरीरलाई नारायणी नदीमा फाली वा फाल्न लगाई आफूले चलाइराखेको सो जिपबाट चालक अमर लामा हामफाली सो जिप र त्यसमा तत्काल सवार रहन भएको जीवराज आश्रितलाई दासढुंगामा त्रिशूली नदीमा खसालिदिएको र यसमा सम्भावित हत्यातर्फ अमर लामा सहितको सहभागितामै नियोजित षड्यन्त्र रहेको भन्ने कुरालाई हालसम्मको अनुसन्धानबाट प्रमाणित हुन नआएकोले यो आयोग अस्वीकार गर्दछ।

*२०७८ जेठ ३ मा प्रकाशित

३ जेठ, २०८०, १७:१३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।