मदन-आश्रितको पोस्टमार्टम : मदनको मृत्यु ब्रेनमा चोट लागेर, आश्रितको मृत्युको कारण कडा चोट

मदन-आश्रितको पोस्टमार्टम : मदनको मृत्यु ब्रेनमा चोट लागेर, आश्रितको मृत्युको कारण कडा चोट

काठमाडौं : चिकित्सकहरूले दासढुंगा घटनामा मारिएका एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको मृत्युको कारण ब्रेनमा लागेको कडा चोट रहेको निष्कर्ष निकाल्यो। 

०५१ असारमा त्रिलोक प्रताप राणाको अध्यक्षतामा बनेको 'दासढुंगा दुर्घटना सम्बन्धी न्यायिक जाँचबुझ आयोग'सँगको छलफलमा चिकित्सकहरूले सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको मृत्युको कारण कडा चोट बताएका छन्।

आयोगले हिष्टोप्याथोलजिष्ट, शव परीक्षण गरेका चिकित्सक, एनाटोमि विशेषज्ञ लगायतकासँग गरेको परामर्शमा ‘भण्डारीको मस्तिष्कको बाहिरी भागमा चोट, स्टोमकको बाहिरी भागमा चोट देखिएको साथै मिर्गौला (देब्रेपटि्टको) मा चोट भएकोले सोही चोटले मृत्यु भएको’ बताइएको छ।

‘पहिले चोट लागेको हो, त्यसपछि पानीमा खसेको हो। पानीमा खस्न अगाडि नै मृत्य भैसकेको हुनु पर्दछ। फोक्सोमा भएको पानीको केही मात्रा डिकम्पोजिशनको कारणले हुनु पर्दछ। जीवराजको हकमा पनि पानीमा खस्नु अगाडि नै हुनु पर्दछ,’ आयोगको प्रतिवेदनमा उल्लेख छ।

चिकित्सकहरूको राय :

-डा. सरला मल्ल, हिष्टोप्याथोलजिष्ट, वीर अस्पताल 
भण्डारीको कलेजोको Specimen मा माइल्ड फ्याटी चेन्जेज  पाइयो। यो कुपोषणबाट हुन सक्छ। तर यो महत्त्वपूर्ण होइन, किनभने यो माइन्ड मात्र छ।

मिर्गौला Autolysed-Decomposed थियो। फियो त मिर्गौलाभन्दा पनि खराब अवस्थामा थियो। फोक्सो केही Autolysed भएको र कार्बन अंशहरू  भएको पाइयो। यो, मेरो विचारमा धूम्रपानबाट भन्दा पनि वायुमा भएको प्रदूषणबाट हुन्छ।

आश्रितको शरीर भण्डारीको भन्दा राम्रो अवस्थामा थियो। फोक्सोमा केही हावा थियो। फोक्सोमा केही तरल पदार्थ जम्मा भएकोले अडिमा भएको पाइयो। शक लंग्स पाइयो, जो ट्रमेटिक ( हुन सक्छ । 

शव परीक्षण गर्ने विशेषज्ञहरूको बयान :

डा. घनमान बज्राचार्य, प्याथोलजिष्ट ,  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु।
मृत्युको कारण ब्रेनमा रगत जमेको,पेटमा ‘कन्टुजन’, देब्रे किड्नीको वरिपरि रगत जमेको, पेटको बाहिरी भागमा “कन्टुजन” भएको, यी सबैको कारणले भण्डारीको मृत्यु भएको कारण बुझाउँछ। 

पोस्टमार्टम गर्दाखेरि भित्री अङ्ग जस्तो लिभर,स्प्लिन, किड्नी, मुटुका मांस पिण्ड समेत अटोलाइज भैसकेको पाइयो।

अटोलाइज भैसकेको पाइएकोले त्यसबाट कुनै किसिमको निष्कर्ष निकाल्न सकिएन। यसलाई डिकम्पोज भैसकेको भन्ने मात्र जनाउँछ।

मृतकको पेटमा पानी थिएन। आधा पचेको खानेकुराको अंश थियो। पानीमा डुब्नु अघि मृत्यु हुने व्यक्तिको पेटमा पानी हुँदैन।

शरीर कालो देखिनुको कारण पोस्टमार्टम ३ दिनमा हुनु, लास डिकम्पोज भएकोले र लास पानी घाममा रहँदा कालो भएको (वास्तविक) स्वाभाविक नै हो।

भण्डारीको दाहिने हात टाउकोमाथि उठेको देखिन्छ। त्यसको कारण मरिसकेपछि केही घण्टापछि शरीरको अङ्गप्रत्यङ्ग हात खुटा कडा। हात उठेको कारण अड्किएर हात उठेको हुन सक्छ। पानीको छालले उठाए पनि हात उठाएको हुन सक्छ। 

पोस्टमार्टम गरेको ठाउँ साइन्टिफिक छैन। पेन्टिङहरू कुहिएर मक्किएर रहेका छन्। भिसेरा, रगत राखेको भाँडो प्लास्टिकमा राखेको थियो। त्यो प्लास्टिक भाँडोबाट कण्टामिनेशन हुन सक्छ। 

सो भाँडो राम्रो गुणस्तरको थिएन। पोस्टमार्टम गर्ने कोठा पोस्टमार्टम गर्न लायक नै छैन।

जीवराजको पेटमा पनि पानी छैन। गर्धनको मेरुदण्ड चट्टै भाँचिएको छ। टाउकोमा ठुलो डिप्रेसन प्रयाक्चर र ब्रेनभित्र ठुलो हेमाटोमा रगत जमेको छ जसले गर्दा उहाँको तत्काल मृत्यु भएको देखिन्छ।

डा. हरिहर वस्ती
आश्रितको टाउको र सर्भाइकल भर्टिब्रामा पर्न गएको कडा चोटको कारण तत्काल मृत्यु भएको हो। उहाँको मृत्यु पानीमा पर्नु अगाडि वा पानीमा पर्दा–पर्दै भएको हुन सक्छ।

भण्डारीको बारेमा लास डिकम्पोजिशन भैसकेको थियो। त्यसै कारण उहाँको मृत्यु पानीमा पर्नु अघि वा परिसकेपछि भयो, लासको अध्ययनबाट भन्न सकिँदैन।

भण्डारीको मृत्युको कारणको लागि पर्याप्त आन्तरिक इन्जुरीहरु प्रस्ट भेटिँदैन।

डिकम्पोजिशन भएको कारणले फोक्सोभित्र पानी छ वा छैन त्यो पनि भन्न सकिँदैन। किनकि डिकम्पोजिशन पछि कुहिन लागेको फोक्सोमा पानी पहिले थियो वा थिएन छुट्टाउन सकिँदैन।

डा. विजयलाल श्रेष्ठ
आश्रितजीको मृत्यु पानीमा पर्नु अगाडि कडा चोट लागी तत्कालै मृत्यु भएको देखिन्छ। साथै भण्डारीको पनि ब्रेनमा चोट लागी तत्काल मृत्यु भएको देखिन्छ । 

डुबेर मर्दा पानी पेटमा हुनु पर्छ नै भन्ने केही छैन। ल्यारेन्जियल स्पाज्म भयो भने पेटमा पानी पस्न सक्दैन।

डा. सुधांशु शर्मा ,त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्ज
भण्डारी र आश्रित पानीमा डुबी मरेको हो वा अगाडि नै मरेको हो भनिएकोमा पोस्टमार्टम गर्दा गर्मीको समय थियो र लासलाई दिनभर रङ्गशालामा प्रदर्शनीको लागि राखिसकेपछि मात्र हामीकहाँ पोस्टमार्टमको लागि प्राप्त भएको थियो। 

त्यसको अर्थ गर्मीमा चाँडै नै डिकम्पोजिशन हुन्छ। त्यसमाथि पनि पानीमा ढाडिएको लास घाममा राख्दा ६–७ गुणा चाँडो हुन्छ। डिकम्पोजिशन भइसकेपछि लास ढाडिएर आउँछ। 

त्यसैगरी लासभित्रको अङ्गहरू पनि ढाडिएर आउँछ। त्यस अवस्थाको डिकम्पोजिशन मात्र नभई शरीरको सबै अङ्ग प्रत्यङ्गमा पानी भरिसकिएको थियो। लास पोस्टमार्टम भएको हो। 

भण्डारीको मस्तिष्कको बाहिरी भागमा चोट, स्टोमकको बाहिरी भागमा चोट देखिएको साथै मिर्गौला (देब्रेपटि्टको) मा चोट भएकोले सोही चोटले मृत्यु भएको हो। 

पहिले चोट लागेको हो, त्यसपछि पानीमा खसेको हो। पानीमा खस्न अगाडि नै मृत्यु भैसकेको हुनु पर्दछ। फोक्सोमा भएको पानीको केही मात्रा डिकम्पोजिशनको कारणले हुनु पर्दछ। जीवराजको हकमा पनि पानीमा खस्नु अगाडि नै हुनु पर्दछ। 

मदन भण्डारीको लास कालो भएको कारण डिकम्पोजिशनले हो।

पानीमा डुबेर मरेकोमा पानीभित्र नपुग्दै हार्ट रोकिएर मरेको, हार्ट अट्याक भएर मरेको पनि पाइन्छ। अर्गान मात्र हेरेर सबै क्षेत्रमा भन्न सकिँदैन।

भिसेरा राख्न प्राप्त बोतल जुन अस्पतालमा नभई बाहिरबाट खरिद गरी प्रहरीले जुटाइदिएको हुन्छ, त्यस्तो बोतलमा नमुनाहरू दूषित हुने सम्भावना रहन सक्छ।

डा. रामप्रसाद उप्रेती, त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्ज 
म एनाटोमी विशेषज्ञ हुँ । मेरो क्षेत्रमा मृत शरीरलाई सुरक्षित पनि राख्नु पर्दछ। त्यसै सिलसिलामा म त्यहाँ गएको हुँ र केही दिनको लागि मात्र भण्डारी र आश्रितको लास सुरक्षित राख्ने गरेको। 

एनाटोमिष्टको हैसियतले मृत शरीरहरू हेर्दा के–के जिज्ञासाहरू उठेका थिए जुन अहिलेसम्म पनि अनुत्तरित नै रहेका छन्।

जस्तो गाडी माथिबाट खस्दा गाडी कुच्चिए अनुसारको भण्डारीको शरीरमा गाडी कुच्चिए अनुसारको चोट नलागेको, नीलडाम मात्र भएको, कुनै हड्डी प्रयाक्चर नभएको, पेटी सहित लगाएको पाइन्ट नभएको, हुनु पर्ने भन्दा बढी शरीरको रङ्ग कालो थियो। 

शरीर कालो त हुन्छ तर बढी थियो। तब यो फरेन्सिक एक्सपर्टले बताउन सक्छ। पोस्टमार्टम गरिएको कोठा पोस्टमार्टम गर्न लायक पूर्वाधारहरू नपुग भएको महसुस हुन्छ।

भण्डारी र आश्रितको मृत्यु पोस्टमार्टम रिपोर्ट अनुसार गाडी खसेपछि, गाडीको दुर्घटना भएपछि नीलडाम चोट हुन सक्छ। तर त्यस्तो नीलडाम समेतका मन्जुरी अरू दुर्घटनामा वा अरू अवस्थाबाट पनि हुन सक्छ।

हाल प्रिजर्भमा रहेका अङ्गहरूको पुनः जाँच गरिँदा पहिलाको नै पुष्टि हुने अथवा नहुने त्यसबारे मलाई त्यति ज्ञान छैन। यसको फरेन्सिक एक्सपर्टले नै जान्दछ।

*२०७८ जेठ ४ मा उकेरामा प्रकाशित सामग्री पुन प्रकाशित गरिएको हो।

३ जेठ, २०८०, ०९:५५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।