गणतन्त्र दिवस मौलिक रूपमा मनाउने सरकारको तयारी, मञ्च सजावट तथा व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई

गणतन्त्र दिवस मौलिक रूपमा मनाउने सरकारको तयारी, मञ्च सजावट तथा व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस मौलिक र रचनात्मक तवरले मनाउने तयारी गर्न निर्देशन दिएका छन्।

मंगलबार प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ।

यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउने तयारी सरकारको छ।

सरकारले वि.सं. २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ।

नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा समेत दिपावलीलगायतका मौलिक कार्यक्रमहरू गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले संघीय सरकार तथा केन्द्रीयस्तर, विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावास र प्रदेश राजधानी (केन्द्र), जिल्ला र स्थानीयस्तरमा गरिने कार्यक्रम तय गरेको छ।

बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमितिलगायतका विभिन्न उपसमिति गठन गरेको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मूल समारोह समितिको सदस्यमा उप-प्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौं महानगरपालिकाका उप-प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत सहभागी थिए।

जेठ १, २०८१ मंगलबार ११:४३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।