बक्स अफिस रिपोर्टमा अध्यक्ष केसीको अडान : पहिले जुरुक्क, अहिले थुचुक्क

बक्स अफिस रिपोर्टमा अध्यक्ष केसीको अडान : पहिले जुरुक्क, अहिले थुचुक्क

काठमाडौं : नेपालमा बक्स अफिस रिपोर्टको विवाद पुरानै हो।

फिल्मको कमाइको विषयमा निर्माता तथा वितरकहरूबीच खासै एकमत पाइँदैन। निर्माता तथा निर्देशकहरू आफ्नो फिल्मले करोडौंको व्यापार गर्यो भनेर प्रचार गरिरहँदा बक्स अफिस रिपोर्ट भने उनीहरूको दाबी विपरीत देखिन्छ।

आर्थिक वर्ष २०७९/८० मा चलचित्र विकास बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी फिल्महहरूको रिपोर्ट सार्वजनिक गर्यो।

अधिकांश चलचित्रकर्मीहरूले असन्तुष्टि जनाए। अधिकांश निर्माता र वितरकहरू केसीसँग नमज्जाले चिडिए भने ‘छक्का पञ्जा’ फिल्मका निर्माता दीपकराज गिरीले त चर्कै आलोचना गरे। लामो समयसम्म सार्वजनिक मञ्चमा उनको आलोचना भइरह्यो।

बोर्ड अध्यक्ष बनेर आएका केसीले ‘कसैसँग नझुक्ने र जे कुरा हो त्यो सार्वजनिक गर्ने’ भन्दै बक्स अफिस रिपोर्ट सार्वजनिक गरेका थिए। २०७९ चैत अन्तिम साता बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दा झुकेनन् पनि।

तर, अध्यक्ष केसीले २०८० सालको रिपोर्ट भने २०८१ वैशाख मसान्त हुन लाग्दासम्म सार्वजनिक गरेका छैनन्। एक वर्षअघिको उनको अडानमा उनी कायम रहन सकेनन्। कार्यकाल सकिन दुई महिना मात्र बाँकी रहँदा केसी विना बिबाद बाहिरिने मनसायमा देखिन्छन्।

२०८० को रिपोर्ट चैत मसान्तमा सार्वजनिक नभएपछि उकेराले २०८१ वैशाख ३ गते सूचनाको हकको प्रयोग गर्दै बोर्डमा निवेदन दियो। तर, निवेदन दर्ता भएन। दर्ता/चलानी शाखाका कर्मचारीले अध्यक्ष आएपछि दर्ता गरिदिने वचन दिए।

उकेराकर्मी पुनः वैशाख २७ गते बिहीबार बोर्डमा पुग्दासमेत निवेदन दर्ता भएको थिएन, अफिस अधिकृतको कक्षमा थन्किएको थियो।

निवेदन बक्स अफिस शाखामा पुगे पनि बोर्ड अध्यक्षले दर्ता गर्न नमानेको बुझियो। अध्यक्षको स्वीकृतिविना दर्ता नहुने भन्दै उनीहरूले निवदेन दर्ता गर्न र सूचना दिन अन्कनाए।

सोही दिन बोर्डको कार्यालयमा भेटिएको केसीलाई सूचनाको हक माग्दा निवेदन नै दर्ता गर्नुभएनछ नि! भनेर प्रश्न गर्दा जवाफमा केसीले केहि दिनमै बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने भन्दै पन्छिए।

उनले भनेका थिए, ‘केही दिनमै रिपोर्ट सार्वजनिक गर्ने बाबु, अहिले छलफल हुँदैछ।’

यस बारेमा बोर्डका प्रवक्ता तथा सदस्य समेत रहेका केएल बुढाथोकीले आफूलाई जानकारी नभएको बताए।

उनले भने, ‘अध्यक्षज्यूसँग रिपोर्ट निकाल्नेबारे पटक-पटक छलफल भएको छ। एक साताअघि नै रिपोर्ट निकाल्ने कुरा भएको थियो। तर, किन अड्किएको छ भन्नेबारे मैले पनि बुझ्न सकेको छैन।’

बक्स अफिस अधिकृत प्रविन पाण्डेले बोर्डको निर्णय अनुसार बक्स अफिस तत्काल सार्वजनिक नगर्नु भन्ने निर्देशन आएको बताए।

उनले भने, ‘बोर्डको बैठकले तत्काल रिपोर्ट सार्वजनिक नगर्ने भन्ने निर्णय भएको हुनाले नगरिएको हो। बोर्ड अध्यक्षले सार्वजनिक नभनुन्जेल सार्वजनिक गर्न मिल्दैन।’

किन यस्तो भइरहेको छ?
अध्यक्ष केसीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट रिपोर्ट सार्वजनिक नगर्न दबाब आइरहेको विकास बोर्डका एक बोर्ड सदस्यको दाबी छ।

‘केही निर्माताहरू मन्त्रालय गुहार्न गएछन्,’ ती सदस्यले भने, ‘मन्त्रालयबाट अध्यक्षलाई रिपोर्ट ननिकाल्न दबाब आइरहेको जस्तो लागेको छ। त्यहि भएर पनि अध्यक्षज्यूले रिपोर्ट सार्वजनिक गर्ने आँट गर्न सक्नुभएको छैन।’

यद्यपि कारण त्यति मात्र हैन, निर्माता तथा वितरकबाट खाइने गालीपुराणबाट बच्न पनि उनले यस्तो गरेको फिल्मकर्मीहरूको बुझाइ छ।

गत वर्ष निर्माताहरूले गरेको आलोचनापछि उकेरासँग कुरा गर्दै अध्यक्ष भुवन केसीले आफू कुनै व्यक्तिको भन्दा पनि फिल्मको हितमा लागेको बताएका थिए।

उनी यतिमा मात्र रोकिएका थिएनन्, बक्स अफिस रिपोर्ट सके महिना दिन र नसके अर्धवार्षिक रूपमै निकाल्ने प्रतिबद्धता समेत गरेका थिए। तर, उनी आफ्नै बोलीमा पक्का भने देखिएनन्।

चार करोडमा बक्स अफिस सेटअप
नेपालमा ३५ जिल्लामा करिव १५० वटा फिल्म हल छन्। तीमध्ये ८० वटा हलमा बक्स अफिस जडान भएका छन्।

सूचना तथा सञ्चार मन्त्रालयको करिब चार करोड रुपैयाँको लगानीमा चलचित्र विकास बोर्डमा बक्स अफिस लागू भएको पाँच वर्ष भइसक्यो। ७३ सालमा स्थापना गरिएको बक्स अफिस ७६ सालबाट पूर्ण रूपमा लागू भयो।

बक्स अफिस जडान भएका हलबाट फिल्मको कलेक्सन रिपोर्ट तयार हुन्छ। देशभरका हलबाट आएको डेटाबाट बोर्डमा रहेको बक्स अफिसको सर्भरमा आउँछ र कुन फिल्मले कति कमायो वास्तविक डेटा थाहा पाउन सकिन्छ।

बोर्डले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा चलचित्र विकास बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको थियो।

उक्त रिपोर्टअनुसार सो आर्थिक वर्षमा ५७ वटा स्वदेशी फिल्मलहरूको २७ लाख १६ हजार २१७ थान टिकट बेचेर ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँको ग्रस व्यापार गरेका थिए। 

वैशाख २९, २०८१ शनिबार १४:२७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।